ad ad

राजनीति


भक्तपुरका पाँच राजनीतिक दलले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

भक्तपुरका पाँच राजनीतिक दलले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपालखबर
जेठ १९, २०७८ बुधबार १०:५३,

भक्तपुरका पाँच राजनीतिक दलहरुले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। जिल्लामा क्रियाशील नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्तरूपमा विभिन्न ११ वटा माग र कोभिडको महामारीविरुद्ध सबै शक्ति एकताबद्ध भएर लड्नुपर्ने बेलामा सरकार गलत बाटोमा हिँडेको आरोपसहित ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा कोभिड नियन्त्रणमा प्रभावकारी कदम चाल्न, कोभिडविरुद्ध तत्काल खोपको व्यवस्था गर्न, कोभिडका कारण बिरामी भएका सबै नागरिकको निःशुल्क उपचारको व्यवस्था मिलाउन तथा अस्पतालमा आवश्यक औषधि र उपकरणको व्यवस्थापन गर्न, लकडाउनले अभावसँग जुधिरहेका नागरिकलाई तत्काल राहत दिन, कोभिडविरुद्ध अग्रमोर्चामा रहेर लडेका स्वास्थ्यकर्मी र राष्ट्रसेवकको मनोबल उच्च राख्न शत्प्रतिशत भत्ताको व्यवस्था गर्न माग गरिएको छ।

त्यस्तै, लकडाउनका कारण आम विद्यार्थीको शैक्षिक सत्र बिग्रिएकाले वैकल्पिक व्यवस्था गर्न, किसानलाई सहज रूपमा आफ्नो उपज बजारमा लैजान सहजीकरण गर्दै खेतीपातीको यो समयमा मल, बीउबिजनको सहज रूपमा सुपथ मूल्यमा उपलब्ध गराउन, लकडाउनका कारण समस्यामा परेका साना तथा मझौला व्यवसायीहरूलाई किस्ता तिर्ने समय थप गर्न र लकडाउन अवधिको ब्याज र हर्जना मिनाह गरी पुनर्कर्जाको व्यवस्था गर्न, विकास आयोजनाहरूलाई सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाउन र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गरी आपूर्तिको सहज वातावरण निर्माण गर्न माग गरिएको छ।

ज्ञापनपत्रमा नेपाली कांग्रेसका उपसभापति हरिप्रसाद नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष डिपी ढकाल, नेकपा एमालेका अध्यक्ष रजन केसी, जनता समाजवादी पार्टी नेपालका श्याम शिल्पकार र राष्ट्रिय जनमोर्चाका शिवहरि खनालले हस्ताक्षर गरेका छन्। ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पाँच दलको मागसहितको ज्ञापनपत्र नेपाल सरकारसमक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .