ad ad

राजनीति


बजेटबारे विष्णु रिमालको प्रतिप्रश्न : खुसी हुने कि अत्तालिंदै आफैंलाई चिथोर्ने?

बजेटबारे विष्णु रिमालको प्रतिप्रश्न : खुसी हुने कि अत्तालिंदै आफैंलाई चिथोर्ने?

नेपालखबर
जेठ १६, २०७८ आइतबार १०:५८,

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले बजेटबारेका प्रतिक्रिया रोचक लागेको भन्दै त्यसमाथि प्रतिप्रश्न गरेका छन्।

सामाजिक संजालमार्फत उनले बजेट राम्रो छ भने बिरोध किन? भन्दै प्रश्न गरेका छन्। यसको कारण बजेटलाई आम जनताले रुचाएकाले विरोध भएको उनको भनाई छ।

'सबैले आफुलाई सम्बोधन गरेको महशुस गरे। यस्तो बजेटलाई ‘नराम्रो’ भन्दा जनसाधारणबाट के प्रतिकृया आउँछ, टिप्पणी गर्ने 'खेलाडी'हरुलाई राम्रै जानकारी छ। तर ‘मन नपर्नेको सासै गन्हाउने’ भने जस्तो यसलाई राम्रो भन्न ‘मन’ले मानि रहेको छैन। त्यसैले टिप्पणीकर्ताहरु यसमाथि संशय खडा गर्न प्रयासरत हुनुहुन्छ। सजिलो टिप्पणी– ‘भनेर हुन्छ, लागू नै हुँदैन’। बस्', उनले भनेका छन्।

यस्तो बजेट यो सरकारले ल्याउनै पाउँदैन भन्नेहरु प्रति पनि उनको कटाक्ष छ। 'राम्रो भनिने चिजहरुको हकदार ‘उहाँहरु’ले मात्रै हुन पाउनु पर्छ। राम्रो विज्ञ, राम्रो नीति निर्माता, राम्रो योजनाकार, सफल मन्त्री... आदि इत्यादी उहाँहरु। उहाँहरु– बाइ वर्थ डेमोक्र्याट, जन्मजात क्रान्तिकारी। त्यसैले यस बजेटको कार्यान्वयन प्रति संसय खडा गर्न ठोकुवा गर्नै पर्यो– यस सरकारले यस्तो बजेट ल्याउनै पाउँदैन', उनको आक्रोस छ।

बजेटबाट विपक्षमा रहेका टिप्पणीकर्ताहरु तिलमिलाएको सहजै अन्दाज गर्न सकिने उनको बुझाई छ।

'बजेटमा हाम्रा सुझाव प्रायः समेटिएको छ, तर कार्यान्वयन हुन गाह्रो छ', भन्नेहरुलाई उनले प्रतिप्रश्न गरेका छन् : बजेट तपाईहरु कै सुझाव अनुरुप आएछ, कार्यान्वयन गर्न गाह्रो हुने सुझाव किन दिएको?

बजेटको पहिलो प्राथमिकता कोरोना महामारीबाट जीवन रक्षा गर्नु भएको बताउँदै उनले यसका लागि खोप किन्न २६ अर्ब ७५ करोड छुट्याएको उल्लेख गरेका छन्।

'कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड छुट्याइएको छ। के यो कार्यान्वयन नहुने, वा हुन नहुने वा हुन गाह्रो काम हो र? एकातिर हामी आफैं ‘नो खोप–नो भोट’ अभियानको प्रचारवाजी गर्दैछौं, अर्कातिर सबै नागरिकलाई निःशुल्क खोप, स्वास्थ्य प्रणालीमा सुधार गरी कोभिडको अर्को छाल आउँदा समेत धान्ने गरी स्वास्थ्य पूर्वाधार निर्माणमा खर्च गर्ने प्राबधान बिरुद्ध– 'हैन, हुँदैन, गाह्रो छ, कहाँ हुन्छ ..' जस्ता तर्क उचित हुन्छ र?', उनले भनेका छन्।

रिमालले गर्न पर्ने र गर्न सकिने धेरै बिषय ठीक तरीकाले बजेटले बोकेको उनको दावी छ। उनले बजेटको विरोध गर्नेलाई खुसी हुने कि अत्तालिंदै आफैंलाई चिथोर्ने? भन्दै प्रश्न गरेका छन्।

'साथीहरुको टिप्पणी सुन्दा यस्तो लाग्छ– बजेट सबैले चाहेकै जस्तो आएको छ तर यो केपी ओलीले नेतृत्व गर्नु भएको सरकारले ल्याएको ले भएन। हुँदै भएन। मन परेन। हुन्न। मान्दिन। यसको कुनै औषधि हुन्छ होला र?', उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .