नेकपा एमालेमा पार्टीका विवाद समाधानका लागि गठित कार्यदलले आफ्नो आचार संहिता र कार्यविधी बनाएर काम अघि बढाउने सहमति गरेको छ।
कार्यदलको आज मंगलबार सिंहदरबारमा बसेको पहिलो बैठकमा सो आचारसंहिता, कार्यसूची र कार्यविधी बनाउने सहमति गरिएको हो।
कार्यदलमा माधवकुमार नेपाल पक्षका संयोजक भीम रावलले तत्काल कार्यसूची, कार्यविधि र आचारसंहिता निर्माण गर्ने सहमति भएको बैठकपछि जानकारी गराएका हुन्।
कार्यदलको बैठक तथा काम चलिरहेका बेला कार्यदलका १० जना सदस्यहरुबाटै त्यसमा छलफलमा रहेका विषयहरु वा पार्टीका मामिलामा सार्वजनिकरुपमा विवादास्पद वक्तव्य आएमा आफ्नो कामले अपेक्षित नतिजा हासिल गर्न नसक्ने भनी आचारसंहिता बनाउन लागिएको कार्यदलका एक सदस्यले बताए।
बैठकमा सदस्यहरु विष्णु पौडेल र शंकर पोखरेल भने काम विशेषले अनुपस्थित रहेको नेता रावलले बताए।
कार्यदलको दोस्रो बैठक बुधबार बस्ने तयारी रहेको कार्यदलका एक सदस्यले बताए।
फागुन २८ गते प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट केन्द्रीय सदस्यको बैठक राखेर केन्द्रीय कमिटी विस्तार गरेपछि नेकपा एमालेभित्र विवाद चर्केको थियो।
नेपाल पक्षले अदालतको फैसलाअनुसार पार्टीलाई माओवादी केन्द्रसँग एकीकरण हुनुअघि अर्थात् २०७५ जेठ २ गतेको अवस्थाबाट पार्टी संरचना ब्युँताउनुपर्ने बताउँदै आएका छन्।
सो विषयलाई अस्वीकार गर्दै आएका अध्यक्ष केपी शर्मा ओलीले केहि दिनपहिले सो प्रस्तावमा सिद्धान्ततः सहमति जनाएपछि त्यसलाई कार्यान्वयनका लागि आवश्यक गृहकार्यका लागि कार्यदल गठन गरिएको हो।
पछिल्लो समयमा दुवै पक्षबीच जेठ २ को अवस्थामा पार्टी संगठनलाई पुर्याउन सैद्धान्तिक सहमति भएपनि त्यसको कार्यान्वयनको विषय खोज्न दस सदस्यी कार्यदल निर्माण गरिएको हो।
त्यसमा अध्यक्ष ओलीको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ रहनेगरी नेताहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य रहेका छन्।
नेपाल पक्षबाट संयोजक रावल र नेताहरु घनश्याम भूसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन्।
प्रतिक्रिया