सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का तेस्रो वरियताका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ‘एक व्यक्ति, एक पद’को विषयलाई अघि बढाउने भएका छन्।
केही दिनअघि पार्टी सचिवालय बैठकमा वरियता हेरफेरको विषय उठेपछि नेता नेपालले एक व्यक्ति एक पदको विषम अगाडि बढाउने तयारी गरेका हुन्।
शुक्रबारको सचिवालय बैठकमा पूर्व प्रधानमन्त्री एवं सचिवालय सदस्य झलनाथ खनालले नेकपामा हाल रहेको वरियता सच्चाउन पर्ने माग गरेका थिए। खनाल हाल नेकपामा चौथो वरियतामा छन्। खनालका सो प्रस्तावमा अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक देखिएको समाचारहरु आएका छन्।
‘अहिले नेकपाका विधानअनुसार पार्टी सञ्चालन भएको हो। पुरानो विधानअनुसारको व्यवस्थामा लागू गर्न माग गर्ने हो भने अन्य नेताहरुको वरियता के हुने भन्ने विषयमा पनि आउँछन्। ईश्वर पोखरेल र विष्णु पौडेलभन्दा माथिल्लो वरियतामा रहेका बाँकी उपाध्यक्षको के हुन्छ,’ नेपाल निकट एक नेताले भने, ‘वरियताक्रमको विषय आए नेपालले एक व्यक्ति एक पदको विषयलाई अघि बढाउनु हुन्छ। यो विषय पहिले कहिलेकाहीँ उठ्दै आएको हो, अब सशक्त रुपमा उठ्छ।’
२०७५ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि जारी गरिएको वरियताक्रममा खनाललाई भन्दा नेपाललाई वरियतामा अघि राखिएको थियो। नेकपाको हालका वरियतामा दुवै अध्यक्ष नेपाल तेस्रो र खनाल चौथो वरियतामा रहेका छन्। खनालले तत्कालीन एमालेमा आफू निवर्तमान अध्यक्षमा हैसियतामा दोस्रो नम्बरमा रहेको भन्दै नेकपा वरियताक्रम निर्धारण गर्दा अन्याय भएको बताउँदै आएका थिए। एकीकरणको घोषणा हुँदा उपचारका लागि चीनमा रहेको र आफू नभएको समयमा वरियता खोसिएको भन्दै उनले ‘नोट अफ डिसेन्ट’समेत लेखेका थिए।
खनालको प्रस्तावमा अध्यक्षहरुको समर्थनलाई नेपालले आफूलाई अपमानित गर्न र किनारामा पार्न खोजेको अर्थमा बुझेका छन्। ‘पहिलो पनि दुई अध्यक्षहरु मिलेरै निर्णय गर्नु भएको हो। प्रदेशको इन्चार्जसम्मको अवस्था त्यही थियो’ नेपाल निकट नेताले दावी छ, ‘तीन ध्रुव रहेको नेकपाभित्र दुई ध्रुव एकतर्फ हुँदा तेस्रो पक्षको कर्नरमा पर्नु स्वभाविक नै हो। अध्यक्ष एवं प्रधानमन्त्री ओली एक्लिएपछि माधवकुमार नेपाललाई कर्नरमा पारेर नयाँ समीकरण बनाउन खोजिएको छ। तर, त्यसले पार्टीभित्रको समस्या समाधान गर्दैन।’ उनले माधवलाई एक्ल्याउनका लागि केही व्यक्तिलाई पद दिइएको भए पनि ती व्यक्ति माधव समूहमै रहेको दावी गरे।
पछिल्लो समयमा जिल्लाको इन्चार्ज र अध्यक्ष नेता नेपालले उठाउँदै आएको मापदण्डका आधारमा तोकिएको थियो। त्यसले पूर्व माओवादीसँग भागबण्डा हुँदा बाँकी रहेको पदहरुमा नेपाल निकटका मानिस करिब–करिब आधा परेका थिए। त्यसले पार्टीभित्र तथा बाहिरका मानिसले पार्टीभित्र नेपालको पुनरागमनको रुपमा लिएका थिए।
तर, सचिवालयका बैठकमा अध्यक्ष ओलीले पार्टी सञ्चालनसहितका सबै विषयमा सचिवालयमा सहमतिमै गर्ने बताएका थिए। नेता नेपाललाई भेट्न गएका नेताहरुलाई उनले अध्यक्ष ओलीबाट सबैकुरा सहमतिमा निर्णय हुने बताएपछि अध्यक्ष ओलीले स्कुल विभागसहित सबै विभागमा गरेको प्रस्तावलाई स्वीकार गरेको बताएका थिए। नेपालले बैठकमा पहिले झलनाथलाई किनारामा पार्न आफूलाई तेस्रो वरियतामा लगेको र अहिले आफूलाई किनारामा पार्न त्यस्तो प्रस्ताव आएको बताएका थिए।
तर, एकीकरणमा भएको १५ महिनापछि वरियताको बारेमा पार्टीभित्र उठेको विषयले नेकपाभित्र तरंग उत्पन्न भएको छ। पार्टीभित्र बनेको नयाँ समीकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीका सक्रियतापूर्वक भूमिकाको बारेमा पार्टीभित्रका नेताहरुले समेत उठाएका छन्। पहिलो चरणमा अध्यक्ष तथा प्रधानमन्त्री ओली, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेलबीच भण्डारीको पहलमा छलफल भएको र त्यसमा पछि खनाललाई पनि सहभागी गराइएको थियो।
प्रतिक्रिया