गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले अब प्रदेश सभा बैठक नबस्ने र अविश्वास प्रस्ताव पनि पास नहुने दावी गरेका छन्।
मन्त्री लम्सालले प्रदेशका सभामुख नेत्रनाथ अधिकारी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गोटी बनेको आरोप लगाए।
‘सभामुख जस्तो सम्मानित पदको उहाँले गरिमा राख्न सक्नु भएन,’ नेपालखबरसँग कुरा गर्दै मन्त्री लम्सालले भने, ‘उहाँ कांग्रेस र माओवादीको गोटी बन्नु भयो।’
संसद बैठक स्थगित गरेर सभामुखले आफ्नो पदको गरिमा गुमाएको उनको भनाइ छ।
सभामुखले माफी नमागेसम्म संसद बैठक चल्न नसक्ने लम्साले बताए। ‘अब सभामुखले माफी मागेर संसद बोलाउनु पर्छ। त्यो नभएसम्म संसद बैठक चल्दैन।’
यसअघि मंगलबारको संसद बैठकमा सत्तारुढ दल नेकपा एमालेकै सांसदहरुले बैठकमा सहभागी हुने सांसद र अन्य अधिकारीहरु सबैको पीसीआर परीक्षणको माग गर्दै प्रदेश सभामा अवरोध गरेका थिए। उनीहरुको अवरोधपछि सांसदहरुको पीसीआर परीक्षण गरेर बुधबार १ बजे प्रदेश सभाको बैठक बसेको थियो।
बुधबार गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा छलफल चलिरहँदा विनाजानकारी राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि जनमोर्चाकी सचेतक पियारी थापाले उनको अवस्था सार्वजनिक नभएसम्म संसद बैठक रोक्न माग गर्दै निवेदन दिएकी थिइन्।
थापाको निवेदनपछि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित छ।
मन्त्री लम्सालले अविश्वासको प्रस्ताव कुनै अवस्थामा पनि पास हुन नसक्ने दावी गरे।
‘अहिलेलाई यति बुझ्नुस् सरकार ढल्दैन,’ उनले भने, ‘अविश्वास प्रस्ताव पास नहुने देखिएपछि यहाँ निर्लज्जता देखाएका छन्। यसले हुनेवाला केही छैन।’
६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका १५, माओवादीका १२ (सभामुखसहित), जनमोर्चाका ३, जनता समाजवादीका २, स्वतन्त्र १ र नेकपा एमालेका २७ सांसद छन्।
मनाङ (ख) बाट स्वतन्त्र निर्वाचित दीपक मनाङेले बिहीबार युवा तथा खेलकुदमन्त्रीको सपथ लिएर सरकारलाई साथ दिइसकेका छन्।
मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित हुन ३१ मत आवश्यक छ। जसमा जनमोर्चा निर्णायक हो। जनमोर्चाका शाही अविश्वासको प्रस्तावमा मतदान हुने दिन ‘बेपत्ता’ भएपछि प्रदेश राजनीतिले नयाँ मोड लिएको छ।
शाही पोखराकै चरक अस्पतालको आईसीयूमा भेटिएका थिए। उनको कोरोना संक्रमण भएको रिपोर्ट सार्वजनिक भए पनि सोही दिन प्रदेश जनस्वास्थ्य प्रयोशालमा गरिएको परीक्षणको रिपोर्टमा भने नेगेटिभ छ।
Shares
प्रतिक्रिया