ad ad

राजनीति


सरकारको असफलताका कारण बाह्य शक्ति सक्रिय : चित्रबहादुर केसी

सरकारको असफलताका कारण बाह्य शक्ति सक्रिय : चित्रबहादुर केसी

नेपालखबर
चैत २४, २०७७ मंगलबार ११:१४,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको असफलताका कारण नेपालमा बाह्य शक्ति सक्रिय भएको बताएका छन्।

राष्ट्रिय जनमोर्चाको चौथौ राष्ट्रिय सम्मेलनको बुटवलमा उद्घाटन गर्दै अध्यक्ष केसीले नेपालको सार्वभौमिकता र अखण्डताविरुद्ध पहिल्यैदेखि नै विभिन्न शक्ति राष्ट्रहरुले चलखेल गरिरहेको उल्लेख गर्दै पछिल्लो समय उनीहरुले सक्रियता बढाएको जिकीर गरे।

केसीले भारतले नेपालमा अस्थिरता चाहेको  र नेपालको अखण्डता र सार्वभौकितामाथि नै कब्जा जमाउन गतिविधि सञ्चालन गरिरहेको दावी पनि गरे।

यस्तै, उनले नेपालमा जवर्जस्ती एमसीसी ल्याएर अमेरिकाले नेपालको परराष्ट्र नीति भत्काएर नेपाललाई चीन बिरोधी अखडा बनाउन खोजेको बताए। नेपालमा हिन्दु राष्ट्र कायम गर्न खोज्ने भारत र एमसीसी ल्याएर अमेरिकी सेना भित्राउन खोज्ने अमेरिका दुवै राष्ट्रले नेपालको सार्वभौमिकतालाई कमजोर पार्न खोजेको बताए।

उनले संघीयताको बिरोध गर्दा नेपालमा राष्ट्रिय जनमोर्चालाई राजनीतिक रुपमा एक्ल्याइएको स्मरण गर्दै अहिले संघीयताको बिरोध गर्नेको संख्या बहुसंख्यक भैसकेको दाबी पनि गरे। नेपालमा संघीयता असफल भैसकेको उनको भनाई थियो।

एउटा सरकार चलाउन नसकेको देशले आठवटा सरकार चलाउन सम्भव नभएको पुष्टि भएसँगै संघीयता असफल भैसकेको र संघीयतावादीलाई संघीयता घाँडो भएको उनले बताए।

अध्यक्ष केसीले पुनर्स्थापित संसद फेरि विघटनको खेल शुरु भएको जिकीर गरे। सरकारले संसदलाई विजनेश दिन नचाहेको उल्लेख गर्दै देशलाई निकास दिन प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प नभएको तर्क गरे। उनले प्रधानमन्त्री ओलीलाई राजीनामा गराएर बामपन्थीहरुको संयुक्त सरकार बनाउनु पर्ने बताए।

कार्यक्रममा पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेल, अर्का उपाध्यक्ष बद्रे आलम, महासचिव जनकराज शर्मालगायत नेताहरुले सम्बोधन गरेका थिए।

तीन दिनसम्म चल्ने सम्मेलनले राष्ट्रिय जनमोर्चाको नयाँ नेतृत्व पनि चयन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .