नेकपा एमालेको माधवकुमार नेपाल पक्षले एक महिनाभित्र गाउँस्तरसम्म समानान्तर कमिटी निर्माण गर्ने भएको छ।
शुक्रबार बस्ने सो समूहको स्थायी कमिटी बैठकलगत्तै प्रदेशका इन्चार्ज तथा केन्द्रीय सदस्यहरु तल्ला कमिटी गठनका लागि जिल्ला जिल्ला पुग्ने तय गरिएको छ।
हालसम्म नेपाल समूहले अर्घाखाँची, गोर्खा, खोटाङ, भोजपुर, संखुवासभामा कमिटी बनाइसकेको छ। त्यसलाई उनीहरुले २०७५ जेठ २ गतेको कमिटी ब्युँताएको बताउने गरेका छन्।
सर्वोच्च अदालतको फैसलाबाट नेकपा विघटन हुनुका साथै एमाले माओवादीसँग एकीकरण हुनुभन्दा अघिल्लो दिन अर्थात् २०७५ जेठ २ गतेको अवस्थामा पुगेको उनीहरुको भनाइ छ। त्यसैले एमालेका सबै समितिहरु त्यहि बिन्दुबाट सक्रिय बनाउनुपर्ने बताउँदै आएका छन्।
तर ओलीले भने त्यसयता बिभिन्न समितिहरुमा ब्यापक मनोनयन तथा जिम्मेवारीमा हेरफेर गरेर पार्टीमा आफूअनुकुलका समीकरण बनाएका छन्।
एमालेलाई २०७५ जेठ २ गतेबाट ब्युँताउनुपर्ने नेपाल पक्षको माग ओलीले अस्वीकार गरेपछि उनीहरुबीच थप दूरी बढेको हो।
आफ्नै देशव्यापी संरचना बनाउने योजनाअन्तर्गत नेपाल पक्षले बिहीबार कास्की जिल्ला कमिटीको घोषणा गर्ने कार्यक्रम रहेको छ। त्यसका लागि बुधबार नै माधवकुमार नेपाल र सुरेन्द्र पाण्डे पोखरा पुगेका छन्।
‘गोर्खामा जिल्ला कमिटीको छुट्टै कार्यालय समेत सञ्चालनमा आइसकेको छ,’ नेपाल समूहका एक नेताले भने, ‘शुक्रबार स्थायी कमिटीको बैठकलगत्तै स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरु जिल्ला जिल्लामा परिचालन गर्ने योजना छ।’
नेपाल पक्षले अर्घाखाँचीमा २०७५ जेठ २ गते अर्थात् पार्टी एकीकरणअघि एमाले जिल्ला कमिटीमा सचिव रहेका रामबहादुर चौहानलाई अध्यक्ष बनाउँदै जिल्ला कमिटीको पुनर्गठन गरेको छ।
गोर्खामा उपाध्यक्ष यादव बस्नेतको नेतृत्वमा समिति गठन गरिएको छ। त्यसैगरी खोटाङमा बबी चाम्लिङ, भोजपुरमा शरण राई र संखुवासभामा हेमराज घिमिरेको नेतृत्वमा उनीहरुले समिति पुनर्गठन गरेका छन्।
‘तेह्रथुमको जिल्ला कमिटीमा एक पदाधिकारीबाहेक सबै हामीतिरै रहेकाले पुनर्गठन गर्न आवश्यक नै परेन,’ नेपालनिकट ती नेताले भने।
माओवादीसँगको एकतापछि खोटाङ जिल्लाको नेतृत्व माओवादीको हातमा पुगेपछि बबी चाम्लिङले सचिवको जिम्मेवारीमा राम दंगाललाई ल्याएका थिए।
दंगाल अहिले ओलीतर्फ लागेपछि नेपालले राईलाई अध्यक्ष बनाउँदै जिल्ला कमिटीको पुनर्गठन गरेका हुन्।
भोजपुरका अध्यक्ष बनेका शरण राई पहिले जिल्ला कमिटीका सचिव थिए भने संखुवासभामा घिमिरे नै अध्यक्ष थिए।
कार्यकर्ता भेलाकै समयमा खटाइएका सात वटै प्रदेशको इन्चार्जलाई त्यही जिम्मेवारीमा पठाइने तयारी पनि सो समूहले गरेको छ।
जसअनुसार, प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, वागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा भीम रावल इन्चार्ज तोकिएको छ।
‘गाउँस्तरसम्म प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिनेछ। त्यसका लागि बिभिन्न दस्तावेजहरु पनि तयार गरिएको छ,’ नेपालनिकट अर्का एक नेताले भने।
गत शनिबार भएको स्थायी कमिटी बैठकले नेता नेपाललाई दस्तावेज तयारीको संयोजन गर्ने जिम्मेवारी पनि दिएको थियो।
महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणको प्रतिउत्तरमा नेताहरुले लेखेका जवाफहरु, चैत ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेलमा प्रस्तुत गरेका दस्तावेज र प्रस्तावहरु त्यसैगरी २०७१ कात्तिकमा पार्टी सञ्चलानको विषयमा नेता नेपालले केन्द्रीय कमिटीमा प्रस्तुत गरेको प्रस्ताव प्रशिक्षण सामग्रीको रुपमा प्रयोग गरिने भएको छ।
‘अहिलेसम्म कमिटीदेखि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तीन महिने कार्ययोजना तयार गरिएको छ तर त्यसअघि नै ती सबै कार्यक्रम सम्पन्न गर्ने लक्ष्य बनाएका छौं,’ उनले भने।
यसैगरी नेपाल पक्षले आफ्नो देशव्यापी संगठन विस्तारको कामलाई प्रभावकारी समन्वय गर्नका लागि केन्द्रीय सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ। त्यसका लागि सो समूहले राजधानीमा भवनको खोजी कार्य तीव्र पारेको छ।
‘केन्द्रीय सम्पर्क कार्यालयका लागि विभिन्न स्थानमा भवनहरु हेर्ने काम भइरहेको छ तर हालसम्म उपयुक्त भवन भेटिएको छैन,’ नेपालका स्वकीय सचिव मोहन गौतमले नेपालखबरसँग भने।
Shares
प्रतिक्रिया