ad ad

राजनीति


लामो वक्तव्य जारी गर्दै सूर्य थापाले गरे माधव नेपाल पक्षका नेतालाई तुच्छ गाली

लामो वक्तव्य जारी गर्दै सूर्य थापाले गरे माधव नेपाल पक्षका नेतालाई तुच्छ गाली

नेपालखबर
चैत १४, २०७७ शनिबार ३:३२,

नेकपा एमालेभित्र दुई पक्षबीच विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेपाल–झलनाथ खनाल पक्षका नेताविरुद्ध निम्नस्तरका शब्द प्रयोग गरेका छन्।

शनिबार बिहानै सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै थापाले नेपाल पक्षका नेताहरूलाई ‘नोकर’, ‘मलामी’, ‘जिउँदो लास’जस्ता शब्दले गाली गरेका हुन्। 

हेर्नुहोस्, थापाको स्टाटसको पूर्ण पाठ  :

पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित हामी एक दर्जनमाथि कारबाहीको घोषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने नियतमा समवेत् स्वरमा स्वर मिलाउन तँछाडमछाड गर्ने भ्रममा बाँच्न अभिशप्त दुःखी आत्माहरूलाई पो आज पार्टी एकता चाहिएको रहेछ ! प्रचण्ड र माधव नेपालका इमान्दार नोकर बनेर पुस ५ गतेयता फागुन २३ गतेसम्म तिनीहरूले वास्तवमा केचाहिँ गर्न बाँकी राखे?

कोही प्रदर्शनी मार्गमा चिच्याए– (सन्की?) केपी शर्मा ओलीलाई बालुवाटारबाट ननिकालेसम्म विश्राम लिन्नौं !!

कोही कार्की बैंक्वेटमा उफ्रिए– केपी शर्मा ओलीलाई साधारण सदस्यबाट हटायौं !

माझण्ड गुटको मलामी बनेका जिउँदा लासहरू कतिले पेरिसडाँडाबाट कथित निर्णय गरेको ऐलान नै गरे– ७ जनालाई पार्टीबाट नै हटायौं !!!

विचराहरू–
तिनले के के गरेका थिए?

१. प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष, संसदीय दलको नेता, पार्टी सदस्य र साधारण सदस्यबाट एकपटक मात्रै होइन, चारपटक निष्कासन गरे।

२. महासचिव विष्णुप्रसाद पौडेललाई दुईपटक निष्कासनको घोषणा गरे।

३. मुख्यमन्त्री शंकर पोखरेललाई लुम्बिनी प्रदेश इन्चार्जबाट एकपटक निष्कासन गरे।

४. मुख्मन्त्री पृथ्वीसुब्बा गुरूङलाई गण्डकी प्रदेश इन्चार्जबाट एकपटक निष्कासन गरे।

५. सुवासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेताबाट एकपटक निष्कासन गरे।

६. विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकबाट एकपटक निष्कासन गरे।

७. शान्ता चौधरीलाई संसदीय दलको सचेतकबाट एकपटक निष्कासन गरे।

८. प्रभु साहलाईलाई केन्द्रीय कमिटी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरे।

९. कर्णबहादुर थापालाई केन्द्रीय कमिटी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरे।

१०. गोकुल बाँस्कोटालाई केन्द्रीय कमिटी सदस्यबाट निलम्बनको प्रस्ताव स्थायी कमिटीद्वारा पारित गरी कथित केन्द्रीय कमिटीमा प्रस्तुत गरे, तर उहाँ बुबाको किरियामा रहनुभएकाले विरोध भएर केन्द्रीय कमिटीबाट फिर्ता लिए।

११. सूर्य थापालाई केन्द्रीय कमिटी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरे र

१२. महेश बस्नेतलाई केन्द्रीय कमिटी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरे।

उल्लिखित कथित कारबाही पार्टी कब्जा गर्न गरिएको थियो भन्ने स्पष्ट नै छ।

यहाँनेर सबैलाई ज्ञात होस् र स्मरण पनि–
(पार्टी अध्यक्षबाट केपी शर्मा ओली र अरू एकदर्जन नेताहरूलाई यसरी पटकपटक निष्कासन र निलम्बनको घोषणा गरी हुर्मत लिने, अपमान गर्ने र तेजोबध गर्ने कार्य श्री माधवजीको पूर्वाग्रह, पक्षपात, व्यक्तिगत रिसइबीको कारण र कुण्ठाग्रस्त मानसिकताको परिणाम हो। माओवादी पृष्ठभूमिका प्रभु साहलाई निलम्बनको घोषणा गर्न पनि प्रचण्डको जोड नभएर श्री नेपालजीको द्वेष नै कारक थियो र छ।)

समयले अब यस्ता कथित निर्णय गर्नेहरू सायद जनकारबाहीमा पर्ने निश्चित भएको छ–

तैपनि तिनमा कुनै पश्चातापबोध छैन, अझ उल्टै पार्टी एकताको रोइलो तिनकै पो छ।

खासमा पार्टी एकता भत्काउने र भाँड्ने को थियो? ऐनामा अनुहार हेर्नुपर्दैन?

अनि, निःसर्त नेकपा (एमाले), सूर्य चिह्न र केन्द्रीय कमिटीले फागुन २८ गते र त्यसयता गरेका निर्णयहरू तथा केपी शर्मा ओलीको मियोमा आबद्ध भएर अघि बढ्न तयार भई आए पो स्वागत छ, अन्यथा किन र्‍याइँर्‍याइँ गर्ने?

कमसेकम माधवकुमार नेपाल र भीमबहादुर रावल पिएचडीलाई ६/६ महिना पार्टी केन्द्रीय कमिटीको सदस्यबाट निलम्बन गरी देशव्यापी महान् शुद्धीकरण अभियान अघि बढाउनुको कुनै अर्को विकल्प छैन !

अनि बल्ल पार्टी अनुशासित, सबल र पार्टीजस्तो हुन्छ !!

नत्र प्रचण्डसँगको अघोषित कार्यगत एकता, हरेक दिनजस्तो भेटघाट र साँठगाँठ किन चलिरहेको छ?

अब गंगा गए गंगादास, जमुना गए जमुनादास नहोओैं कि?

कमसेकम–
१. २०७७ वैशाखयताका गुटगत, फुटगत, प्रचण्डपन्थी, दुष्ट, जनादेशविपरीत, जनविरोधी र राष्ट्रिय हितविपरीतका कार्य/दुष्कार्य गलत गरेका थियौं। त्यसैले, सार्वजनिक क्षमायाचना गर्छौं, पार्टीले हाम्रो सार्वजनिक आलोचना गरेर सुध्रिने मौका प्रदान गरोस् भन्ने राजनीतिक र नैतिक साहस प्रदर्शन गर्नुपर्दैन?

२. अझै अध्यक्ष केपी शर्मा ओलीलाई अर्घेलो देखाउन खोज्ने, केन्द्रीय कमिटीका १०ओैं, ११ओैं र १२ओैं बैठकका निर्णयप्रति अनादर, अपमान र अनुचित टिप्पणी गर्ने, प्रधानमन्त्रीले राजीनामा दिइदिए हाइसञ्चो हुन्थ्योजस्तो गर्ने, निर्लज्जतापूर्वक समानान्तर गतिविधि गर्ने र गुटगत बार्गेनिङ गर्ने कार्यहरू अब किमार्थ मान्य र स्वीकार्य हुन सक्दैनन्।
चेतना भया !!!!!

sugaa

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .