ad ad

राजनीति


राष्ट्रपतिको सर्वदलीय बैठकमा देउवा मौन

राष्ट्रपतिको सर्वदलीय बैठकमा देउवा मौन

नेपालखबर
चैत ३, २०७७ मंगलबार १४:३१,

राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकाबारे अन्य सहभागी नेताहरुले गम्भीर प्रश्नहरु उठाउँदा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने चुप रहे।

राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख तथा पूर्वप्रधानमन्त्रीहरुलाई मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा छलफलका लागि बोलाएकी थिइन्।

सो बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा फेरि पनि विघटन गर्नुपर्ने स्थिति रहेको जिकिर गरेपछि त्यहाँ उपस्थित नेताहरुले त्यसको कडा विरोध गरेका थिए।

यो पनि : सर्वदलीय बैठकः फेरि संसद विघटन गर्नुपर्ने ओलीको प्रस्ताव, एकजना सांसदबाहेक सबैको विरोध

नेकपा –माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र नीधि समेतले त्यसको कडा प्रतिवाद गर्दा कांग्रेस सभापति देउवा भने मौन रहे।

बैठक अवधिभर बस्दा राष्ट्रपतिको बंगलादेश भ्रमणको शुभकामना दिएका देउवाले राजनीतिक विषयमा कुनै टिप्पणी नै नगरेको सहभागी नेताहरुले बताए।

‘अरु नेताहरुले प्रधानमन्त्रीको संसद विघटनसम्बन्धी प्रस्तावको कडा विरोध गर्नुभयो, त्यसैगरी राष्ट्रपतिले यसअघि विघटन गर्नुअघि किन सर्वदलीय बैठक नराखेको भनी जिज्ञासा राख्नुभएको थियो,’ बैठकमा सहभागी एक नेताले नेपालखबरसँग भने, ‘तर, देउवाजी भने राजनीतिक विषयमा कुनै टिप्पणी नै नगरी मौन रहनुभयो।’

प्रतिनिधि सभा पुनर्स्थापना भई नियमित बैठक सुरु भएपछि सर्वदलीय बैठक राखेकी राष्ट्रपतिलाई सहभागी नेताले यसअघि प्रतिनिधि सभा विघटन गर्ने त्यति गम्भीर कदम चाल्नुअघि यस्तै बैठक ‘किन नराख्नुभएको’ भनी प्रश्न गरेका थिए।

यो पनि : सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने- संसद विघटन गरेर ताजा जनादेशमा जानुको विकल्प छैन

कांग्रेस नेता पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरुले सो प्रश्न गरेका हुन्।

‘पहिलो कुरा त यसलाई सर्वदलीय बैठक नै भन्न मिल्दैन, अर्को कुरा अहिले कुनै राष्ट्रिय संकट नभएका बेला यस्तो बैठकको आवश्यकता किन पर्‍यो,’ श्रेष्ठलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले बताए।

कांग्रेस नेता विमलेन्द्र निधिले सरकारले संसदलाई विजनेस नदिएर प्रतिनिधि सभालाई असफल बनाउन खोजेको आरोप लगाएका थिए।

राष्ट्रपति भण्डारीले भने कोभिड महामारीका कारण लामो समय राजनीतिक दलका नेताहरुसँग संवाद हुननसकेको हुँदा भेटघाट तथा सरसल्लाह गर्न खोजेको बताएकी थिइन्।

यो पनि :
राष्ट्रपतिको सर्वदलीय बैठकका यी हुन् सहभागी (सूची)
- शीतलनिवासमा सर्वदलीय बैठक सुरु, तीन पूर्वप्रधानमन्त्री गएनन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .