शुक्रबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजधानीमा आयोजित एक कार्यक्रममा जनयुद्धका क्रममा पनि आफूले कसैमाथि लपेटा नहानेको र कसैको लपेटा पनि नखाएको बताएपछि त्यसले एक खालको तरंग पैदा गरेको छ।
पर्टीभित्रै र पार्टी बाहिर पनि त्यसको राम्रै चर्चा भइरहेको छ। सामाजिक सञ्जालमा समेत यो चर्चाको विषय बनेको छ। सामाजिक सञ्जालमा प्रचण्डमाथि १७ हजार मानिसको मृत्युको जिम्मेवार को भनेर प्रश्न उठिरहेका बेला आफ्नै पार्टीका केन्द्रीय सदस्यले समेत प्रचण्डमाथि व्यंग्य प्रहार गरेका छन्।
यही भाषणको विषयलाई लिएर पूर्व एमाले पक्षका केन्द्रीय सदस्य सूर्य थापा र पूर्व माओवादी पक्षधर केन्द्रीय सदस्य एवं युवा संगठनका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’बीच सामाजिक सञ्जालमै जुहारी चलेको छ।
केन्द्रीय सदस्य सूर्य थापाले शुक्रबारको भाषणलाई लिएर शनिबार सामाजिक सञ्जाल फेसबुकमा प्रचण्ड अभिव्यक्तिको कडा आलोचना गरे। उनले जनयुद्धको नेतृत्व र निर्देशन आफ्नो र मरेकाहरु आफ्नै कारणले मरे भन्ने भन्दै प्रचण्डमाथि व्यंग्य गरेका छन्।
‘आफ्नो ६५ बर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लपेटा खुवाएको छैन। महान् जनयुद्धको आदेश, निर्देश र नेतृत्वचाहिँ मेरै हो! जे जति मारिए, ती सबका सब केवल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो’, उनले फेसबुक स्टाटसमा लेखेका छन्, ‘म त महान जनयुद्धको नेतृत्व गरिरहेको त्यसबेला पनि शान्तिको पक्षधर नै थिएँ भित्रभित्रै १ मने, बुझिदिनेहरूले सही बात बुझ्नुपर्छ। हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एक जना मनैदेखिको शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी संभव हुन्छ? विगतसॅग क्रमभंग गर्दै हामीहरू यहाँसम्म आइपुगेको त बिर्सन मिल्दैन नि! आजको क्रान्तिकारी तरंग र मनोदशा!!!’
थापाको यो स्टाटसले सामाजिक सञ्जालमा तरंग ल्यायो। पार्टीभित्र पनि एक खालको तरंग ल्याएको छ। पूर्व एमाले पक्षधर केही नेता तथा कार्यकर्ता उनको पक्षमा देखिएका छन्। पूर्वमाओवादी पक्षघर भने उनीविरुद्ध खनिएका छन्।
नेता थापाको यो स्टाटस आएलगत्तै पूर्वमाओवादी पक्षधर केन्द्रीय सदस्य एवं युवा संगठनका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आफ्नो व्यक्तिगत विचार भन्दै सामाजिक सञ्जालबाटै सूर्य थापालाई पार्टी छाड्न सुझाब दिएका छन्। उनले थापाले पार्टीको अनुशासन, आत्मानुशासन नमानेको र पार्टीको विधि र प्रक्रियाभन्दा बाहिर गएर नेतृत्वको आलोचना गरेको बताएका छन्। उनले अध्यक्षमाथिको बारम्बार हुँदै आएको आक्रमण आफूहरुलाई सह्य नहुने चेतावनी दिएका छन्।
थापाको स्टाटसमाथि जवाफ दिँदै दीपशिखाले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सूर्यजी, पार्टी केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्ष प्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सह्य हुँदैन। पार्टी अनुशासन, आत्मानुशास नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ। हामी तपाईंले जस्तै विषयलाई बङ्ग्याउन र हिजोको विगत भन्न नजानेर नबोलेको होइन्, पार्टी अनुशासन मानेर नबोलेको हो।’
दीपशिखाको यो स्टाटस लगत्तै थापाले फेरि सामाजिक सञ्जालमार्फत त्यसको जवाफ दिएका छन्। उनले दीपशिखालाई अनुशासन र मर्यादाको पाठ नसिकाउन र माओवादी पक्षघरको दादिागिरी स्वीकार्य नहुने चेतावनी दिएका छन्। आइतबार बिहान उनले फेसबुकमा लेखेका छन्, ‘दीपशिखाले अनुशासन र मर्यादा सिकाउने? कति हाँस्नु? यस्तो दादागिरी स्वीकार्य हुन्छ भन्ठानेको? विचरा!’
केन्द्रीय सदस्य थापा प्रचण्डका कट्टर आलोचकका रुपमा रहेका छन्। पार्टीभित्र आन्तरिक भागवण्डादेखि हरेक कुरामा उनी प्रचण्डको आलोचक हुन्। यसअघि प्रचण्डले पूर्वराजालाइ दिएको धम्कीको विषयमा पनि उनले विपक्षमा प्रतिक्रिया दिएका थिए।
थापाको व्यंग्यको प्रतिक्रिया दिने दीपशिखा प्रचण्ड निकट युवा नेता हुन्।
Shares
प्रतिक्रिया