ad ad

राजनीति


अन्तिम बन्यो नेकपाको बैठक, एमाले र माओवादी केन्द्र भए अलग

अन्तिम बन्यो नेकपाको बैठक, एमाले र माओवादी केन्द्र भए अलग

नेपालखबर
फागुन २४, २०७७ सोमबार १४:७,

सर्वाेच्च अदालतको फैसलाअनुसार अन्ततः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भंग भएको छ।

आज नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले एकीकरणअघिकै दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका रूपमा अलग्गिने निर्णय गरेको हो।

साविक नेकपाको प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बसेको स्थायी कमिटी बैठक यो पार्टीको अन्तिम भएको बताए।

बैठकको निर्णय सुनाउँदै श्रेष्ठले भने, ‘गम्भीर असहमति (फैसलाप्रति) हुँदाहुँदै पनि आफ्नै ढंगले कार्यान्वयनको प्रक्रियामा जाने निर्णय गरिएको छ। नेकपाको बैठक यो अन्तिम हो।’

तर वाम एकता जारी नै राखिने उनले बताएका छन्।

उनको भनाइ जस्ताको तस्तै 
सर्वाेच्चले गरेको फैसला रिट निवेदनको मागदाबीभन्दा बढी गएर राजनीतिक फैसला गर्‍याे। बाहिर गएर फैसला गरिएको छ। एकीकृत पार्टीलाई विभाजन गर्ने गरी आयो। गम्भीर असहमति हुँदाहुँदै पनि आफ्नै ढंगले कार्यान्वयनको प्रक्रियामा जाने निर्णय गरिएकाे छ। 

राजनीतिक रूपमा र कानुनी ढंगले उपचार खोज्ने, संघर्ष गर्ने। २०७५ जेठ ३ गते एकीकरण गरी निर्माण गरिएको नेकपाको उद्देश्यमा गम्भीर रुपमा उभिने निर्णय पनि गरेको छ। पार्टी एकता सही थियो भनेर समीक्षा गरेका छौं।

वामपन्थी एकता जारी राख्छौं। सर्वाेच्च अदालतको फैसलाप्रति न्यायिक निरूपणका लागि जाने। नेकपाको बैठक यही नै अन्तिम हो।

दुई पार्टीको बीचमा एकीकरणको प्रक्रिया अघि बढाउँछौं। निर्वाचन आयोगमा गएर कार्यान्वयनका लागि हिजोको फैसलापछि उहाँले राजीनामा दिनुपर्ने हुन्छ, त्यसबारे आवश्यकताअनुसार फैसला गछौं। ठोस प्रक्रिया अगाडि बढाउनेबारेमा छलफल गछौं। अरु प्रक्रियाको बारेमा आफ्नोआफ्नो ठाउँबाट छलफल गरिन्छ। 

एमाले–माओवादी केन्द्र कसरी जुट्यो, किन फुट्यो?
२०७४ सालको निर्वाचनमा चुनवाी गठनबन्ध गरेका केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रले अन्ततः पार्टी नै एक बनाउने निर्णय गरे।

त्यसपछि २०७५ जेठ ३ मा एकता घोषणा गरी पार्टीको नाम राखे– नेपाल कम्युनिस्ट पार्टी (नकेपा)। जुन नामको पार्टी आफूले पहिले नै गठन गरेको भन्दै ऋषि कट्टेलले विरोध गरे। एकै नामका दुई दल दर्ता गर्न नपाइने प्रावधान भए पनि निर्वाचन आयोगले कोष्ठभित्र केही फरक पार्दै एमाले–माओवादी केन्द्र मिलेर बनेको पार्टीलाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भनेर दर्ता गरिदियो। कट्टेलको पार्टीको नाममा भने कोष्ठभित्र (ने.क.पा.) थियो।

तर यसमा असहमति जनाउँदै कट्टेलले सर्वाेच्च अदालतमा मुद्दा हाले। जसको फैसला सर्वाेच्च अदालतले २ वर्षपछि फागुन २३ गते गर्‍याे– कट्टेलको नेकपा वैधानिक, सत्तारूढ नेकपा अवैधानिक। यही निर्णयका कारण नेकपामा समाहित एमाले र माओवादी केन्द्र अन्ततः अलग हुन बाध्य भएका हुन्।

नेकपाभित्रै पनि प्रचण्ड–नेपाल र ओली समूह यसरी अलग्गिएका थिए
दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड राखेर पार्टी एकीकरण गरिए पनि तल्लो तहमा एकीकरण प्रक्रिया जारी नै थियो। तर त्यो नटुंगिादै दुई अध्यक्षबीच टक्कर सुरु भयो। त्यो विवाद यतिसम्म चर्कियो कि अन्ततः संसदै विघटनसम्म पुग्यो।

आफूलाई कामै गर्न नदिएको आरोप लगाउँदै नेकपाका एक अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि त्यसलाई तुरुन्त कार्यान्वयन गर्दै प्रतिनिधि सभा विघटन र वैशाख १७ र २७ का लागि चुनाव घोषणा गरिन्। तर त्यसविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा गर्‍याे। अन्ततः अदालतले यही फागुन ११ गते विघटनको निर्णय बदर गर्दै संसद् पुनर्स्थापनाको फैसला गर्‍याे। जसको पहिलो बैठकसमेत आइतबार बसिसकेको छ।

सरकारले संसद् विघटन गरेकै दिन असंवैधानिक कदम भन्दै नेकपाबाट प्रचण्ड–नेपाल पक्ष अलग्गिए। त्यसपछि यो पक्ष र ओली समूहले आआफ्नै बैठक राखेर एकअर्कालाई कारबाहीको निर्णय गरे। अनि आफू नै आधिकारिक नेकपा भएको दाबी पेस गर्न निर्वाचन आयोग धाउन थाले। आयोगले कुन पक्षलाई नेकपाको आधिकारिता देला भनेर प्रतीक्षा भइरहेका बेला सर्वाेच्च अदालतले नेकपा नै अवैधानिक भएको फैसला सुनाएकाे हाे। जसका कारण अहिले एमाले र माओवादी केन्द्रका रूपमा अलग हुन बाध्य भए भने प्रचण्डसँग मिसिएको एमालेको माधव नेपाल खेमा पनि आफ्नै पुरानो घरमा फर्किएको हो।

याे पनि : सर्वोच्चको फैसलाअनुसार एमाले र माओवादी केन्द्र नै हुने भइयो : झलनाथ खनाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .