म्यान्मारको सेनाले सञ्चालन गरेको समाचार पेज फेसबुकले बन्द गरेको छ। सामाजिक सञ्जाल फेसबुकले सेनाद्वारा सञ्चालित ‘तत्मादअ ट्रु समाचार सूचना पेज’ आइतबारदेखि बन्द गरिदिएको हो।
सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने नियमहरू उल्लंघन भएकाले म्यानमारी सेनाद्वारा सञ्चालित समाचार पेज बन्द गरिएको फेसबुकले जनाएको छ।
फेसबुकका प्रतिनिधिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बारम्बार हिंसा उक्साएको तथा सामाजिक हानि पुर्याएका कारण हाम्रो विश्वव्यापी नीतिअनुसार तत्मादअ ट्रु समाचार सूचना पेज फेसबुकबाट हटाइएको छ।’
फेसबुकको निर्णयप्रति सैनिक अधिकारीको प्रतिक्रिया लिने प्रयास असफल भएको समाचार संस्था रोयटर्सले जनाएको छ।
म्यान्मारमा फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सैनिकले शासन सत्ता हत्याएपछि विश्वभर नै चर्को विरोध भइरहेको छ। सैनिक कदमको म्यान्मारमा तीव्र विरोध भइरहेको छ। शनिबार भएका प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर दुई सर्वसाधारणको मृत्यु भएको थियो।
आइतबार पनि राजधानी नेइपिडअ, यांगुन, म्यान्डलेलगायत सहरमा हजारौं नागरिकले सैनिक कदमको विरोध गर्दै सडकमा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीले लोकतन्त्रवादी नेतृ आङ सान सुकी, राष्ट्रपतिसहितका उच्च नेतालाई रिहाइ गर्न माग गर्दै आएका छन्। एजेन्सी
प्रतिक्रिया