ad ad

राजनीति


प्रचण्ड-नेपालको सभा: मुख्य जुलुस सुन्धारा र केशरमहलबाट, ३ वटा स्क्रिनको व्यवस्था

प्रचण्ड-नेपालको सभा: मुख्य जुलुस सुन्धारा र केशरमहलबाट, ३ वटा स्क्रिनको व्यवस्था

नेपालखबर
माघ २७, २०७७ मंगलबार १५:४,

पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको नेकपाले बुधबार भृकुटीमण्डपमा गर्न लागेको विरोधसभामा दुई लाख बढी मानिस उपस्थित हुने सो पार्टीले जनाएको छ।

सभामा सहभागीहरुलाई भाषण सुन्न सजिलो होस् भनेर तीनवटा डिजिटल स्क्रिन पनि राखिने भएको छ।

मञ्च व्यवस्थापन संयोजक सूर्य सुवेदीले कार्यक्रममा दुईलाख बढीको उपस्थिति रहने बताए।

‘हामीले हिसाब गर्दा २ लाख बढी सहभागी हुने देखियो,’ सुवेदीले नेपालखबरसँग भने, ‘पुरानो बसपार्क, राष्ट्रिय सभागृह र भद्रकालीमा स्क्रिन राखिएको छ। माइक पनि रत्नपार्क, बागबजार र त्रिपुरेश्वरमा राखिनेछ।’

नेकपाको मंगलबार बसेको सचिवालय बैठकले कार्यक्रमलाई भव्य र सफल बनाउने निर्णय पनि गरेको छ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल पक्षले त्यसको विरोधमा आन्दोलन गर्दै आएको छ। यसअघि माघ ९ गते पनि सो पार्टीले काठमाडौंमा विरोध सभा गरेको थियो।

जुलुसको रुट परिवर्तन
नेकपाले विरोध सभामा आउनेको संख्या बढी हुने भएकोले घोषित जुलुसको रुट पनि परिवर्तन गरेको छ।

अब मूल जुलुस सुन्धारा र केशरमहल गरी दुईठाउँबाट निस्कने प्रतिनिधि सभा विघटन विरुद्ध संघर्ष समितिका सदस्य सुवेदीले बताए।

‘सोचेभन्दा बढी मास हुनेभएपछि जुलुसका रुट परिमार्जन भयो। अब मूल जुलुस सुन्धाराबाट रत्नपार्क हुँदै सभास्थल भृकुटीमण्डप आउनेछ भने अर्काे केशरमहलको जुलुस पनि सीधै सभास्थल जानेछ,’ सुवेदीले भने।

सुन्धाराको जुलुसको नेतृत्व प्रचण्ड–नेपालले गर्नेछन् भने केशरमहलको जुलुसको नेतृत्व संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई लगायतका नेताले गर्नेछन्। काठमाडौंका ११ स्थानबाट जुलुस निस्कने उनले बताए।

उपत्यकाको सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उनले बताए।

सुवेदीका अनुसार मञ्चको व्यवस्थापन मात्र होइन सुरक्षामा पनि उत्तिकै ध्यान दिइएको छ। मञ्च निर्माण सुरु भइसकेको छ। त्यससँगै निर्माणस्थलमा प्रहरी खटिइसकेका छन्।

सभामा अध्यक्षद्वय प्रचण्ड र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नेछन्।

सबै क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी वक्ताहरु चयन गरिएको नेकपा संघर्ष समितिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .