ad ad

राजनीति


गुटको भेलामा मान्छे जम्मा गर्न उद्घाटन गर्नुपर्ने पुलको शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेल

गुटको भेलामा मान्छे जम्मा गर्न उद्घाटन गर्नुपर्ने पुलको शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेल

नेपालखबर
माघ १७, २०७७ शनिबार ५:४७,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनको असर विकास निर्माणका काममा समेत देखिन थालेको छ।

रोल्पामा विकास निर्माणको कामको जस लिन सत्तापक्षले धमाधम निर्माण कार्य भइरहेको पुलको शिलान्यास कार्यक्रम आयोजना गरेको छ।

सदरमुकाम लिवाङस्थित धाङसी खोलामा निर्माणाधीन पुलको प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गर्न लागेका हुन्।

पोखरेलले शनिबार (आज) पुल शिलान्यास गर्ने कार्यक्रम छ। त्यसका लागि प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री वैजनाथ चौधरी शुक्रबारै लिवाङ आइसकेका छन्। सडक पूर्वाधार आयोजना कार्यालय रोल्पा र एसियाटिक/राज जेभीबीच गत असोजमा निर्माण सम्झौता भएर निर्माणकार्य जारी रहेको उक्त कार्यालयका प्रमुख नवीनकुमार श्रेष्ठले जानकारी दिए।

No description available.

लिवाङ र रोल्पा नगरपालिका–९ लाई पक्की सडकसँग जोड्ने उक्त पुलको ७ मंसिरदेखि निर्माणकार्य सुरु भएको थियो। उनका अनुसार २५ प्रतिशत काम सम्पन्न भएर निर्माण पक्षलाई भ्याटसहित ५ करोड ६१ लाख रुपैयाँ भुक्तानीसमेत दिइसकिएको छ।

सामान्यतयाः कुनै पनि विकास कार्यको शिलान्यास गरेपछि निर्माण सुरु गरिन्छ। तर, २५ प्रतिशत निर्माण कार्य सकिएको पुलको शिलान्यास गर्ने बहानामा आफ्नो गुट भेला आयोजना गरेको भन्दै प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आपत्ति जनाएको छ।

नेकपाका रोल्पा इन्चार्ज दीपेन्द्र पुन ‘सिजल’ले गुट भेलाका नाममा बोलाउँदा जनता उपस्थित नहुने भएपछि बन्दै गरेको पुल शिलान्यासको बहानामा ओली गुटको भेला आयोजना गरिएको टिप्पणी गरे।

No description available.

‘उहाँहरुका पक्षमा जनता छैनन्, गुटको कार्यक्रमभन्दा कोही आउँदैनन’, पुनले भने, ‘सरकारी साधन श्रोतको दुरुपयोग गरेर विकासका नाममा झुक्याएर मानिस बोलाउने र आफ्नो गुट विस्तारको प्रयास भएको छ।’

निर्माण सम्पन्न भएर उदघाटन गर्नुपर्ने पुलको तामधामसहित शिलान्यास गर्न लागिएको भन्दै पुनले आपत्ति जनाए। उनले यसअघि मुख्यमन्त्री पोखरेल सहभागी ओली समूहको जिल्ला भेलामा ४३ जना सहभागी भएको भन्दै गुट निर्माणका लागि पुल शिलान्यासको बहाना गरिएको टिप्पणी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .