प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामनाको सन्देश पठाएका छन्।
विप्लवले आफ्ना छोरा डाक्टर प्रकाशलाई स्वास्थ्य लाभको सन्देशसहित प्रचण्डनिवास खुमलटार भेट्न पठाएका हुन्।
विप्लवका छोरा प्रकाशले सोमबार बिहान खुमलटार पुगेर सीता दाहालको स्वास्थ्य लाभको कामना गरेको बताए।
केही समयदेखि प्रचण्ड पत्नी सीता दाहाल अस्वस्थ छन्। सीता दाहाललाई आज सोमबार थप उपचारका लागि भारत लगिएको छ।
‘उहाँको फोटो देखेपछि निकै नराम्रो लाग्यो, म आफैं स्वास्थ्य क्षेत्रमा रहेको मान्छे भएकोले पनि उहाँको स्थिति देखेपछि भेट गरेर स्वास्थ्य लाभको कामना गर्न मन लाग्यो र गएको हुँ,’ प्रकाशले नेपालखबरसँग भने।
उनले सीता दाहाललाई आफू सानै छँदा २०६१ सालमा रोल्पामा भेटेको बताए।
‘उहाँलाई भेट्दा म सानै थिएँ, परिचय गरेपछि उहाँले मलाई चिन्नुभयो, तिमी ठूलो चाहिँ होइन भनेर सोध्नुभयो,’ उनले भने, ‘वुवाको बारेमा पनि सोधपुछ गर्नुभयो।’
प्रतिक्रिया