ad ad

कारोबार


सम्झौताको १८ दिनमा पनि सुरु भएन बंगलादेशबाट मल ल्याउने प्रक्रिया

सम्झौताको १८ दिनमा पनि सुरु भएन बंगलादेशबाट मल ल्याउने प्रक्रिया

नेपालखबर
पुस २०, २०७७ सोमबार ७:४३,

बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन ढिलाइ भएको छ।

यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी)मार्फत रासायनिक मल खरिदको सम्झौता भएको १८ दिन बितिसक्दा समेत प्रक्रिया सुरु हुनसकेको छैन।

सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतीतपत्र) खोलेर बङ्गलादेश पठाइसकेको जनाइएको छ।

नेपालका तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया सकिए पनि बङ्गलादेशबाट ढिलाइ भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी एलसी खोल्ने प्रक्रिया नसकिएका कारण मल ल्याउन अझै केही समय लाग्ने देखिएको बताउँछन्।

उनका अनुसार कम्पनीले सिद्धार्थ बैठकमा एलसी खोलेको ड्राफ्ट बङ्गलादेशलाई पठाइसकेको छ।

‘हामीले पठाएको एलसी बङ्गलादेशका अधिकारीले अध्ययन गर्दै गरेको जानकारी आएको छ, उताबाट हुन्छ भनेर पठाउनासाथ रासायनिक मल खरिदको प्रक्रिया सुरु भइहाल्छ’, उनले भने, ‘हामीले जति सक्दो छिटो मल ल्याउने तयारीअनुसार काम गरेका छौँ तर उताबाट धेरै ढिलाइ हुँदै आएको छ।’

उनका अनुसार सरकारी प्रक्रिया सकिएको दश दिनमा रेल र सडकमार्ग हुँदै मल खरिद सुरु गरिनेछ। बङ्गलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको भण्डारीले जानकारी दिए।

उनका अनुसार कम्पनीबाट रासायनिक मल खरिदको अन्तिम सम्झौतानसार बङ्गलादेशसँग प्रतिमेट्रिक टन १८ डलर कममा सम्झौता भएको छ।

जीटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो।

मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरीदको तयारी गरेको थियो। तयारीस्वरुप पुस २ गते जीटुजी प्रक्रियामार्फत मल खरीदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रष्ट्रिज कर्पोरेशनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो।

पर्याप्त मौज्दात
धान रोप्ने याममा रासायनिक मल अभाव भए पनि हाल पर्याप्त मात्रामा मलको मौज्दात छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनसँग पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको भण्डारीले जानकारी दिनुभयो ।

उनका अनुसार कम्पनीसँग हाल नौ नौ हजार मेट्रिक टन डीएपी र पोटास तथा आठ हजार मेट्रिक टन युरिया मल मौज्दात छ। चालू आवको बोलपत्रमार्फत कर्पोरेशनले खरीद गरेको मलसमेत पर्याप्त मात्रामा छ। सुरुवाती चरणमा कम्पनीको मल बिक्री वितरण हुने तथा मौज्दात सकिँदै गएपछि कर्पोरेशनले खरिद गरेको मलको बिक्री वितरण सुरु हुने उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .