ad ad

राजनीति


तीन मन्त्रीले संसद विघटनको सिफारिस रोक्न खोजे, प्रधानमन्त्रीले हतारमा निर्णय लेख्न लगाए

तीन मन्त्रीले संसद विघटनको सिफारिस रोक्न खोजे, प्रधानमन्त्रीले हतारमा निर्णय लेख्न लगाए

नेपालखबर
पुस ५, २०७७ आइतबार ६:५८,

आइतबार बिहान पौने दस बजे सबै मन्त्रीहरुलाई दस बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएको सूचना आएको थियो। तत्कालै मन्त्रीहरु बैठकमा सहभागीका हुनका लागि बालुवाटार पुगेका थिए। सबैमन्त्री पुगिसकेका थिएनन्।

बैठकको शुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा एजेण्डा रहेको बताए– सवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने र नयाँ जनादेशमा जाने।

प्रधानमन्त्री ओलीले संसद विघटन गरी नयाँ जनादेशमा जान राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव ल्याएपछि मन्त्रिपरिषदमा तीन जना मन्त्रीले रोक्न खोजेका थिए। मन्त्रीहरू घनश्याम भुसाल, वर्षमान पुन र प्रदीप ज्ञवालीले त्यस्तो कदम गलत हुने बताएका थिए।

‘प्रधानमन्त्रीले ताजा जनादेशका लागि चुनावमा जाने भन्दै संसद विघटन गर्न सिफारिस गर्ने प्रस्ताव राख्नु भयो’, आइतबार बिहानको मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीले भने, ‘तीन जना मन्त्रीले त्यसो नगर्न भन्दै गर्दा प्रधानमन्त्रीले मुख्य सचिवलाई निर्णय लेख्न लगाइ हाल्नुभयो।’

प्रधानमन्त्रीले संसद विघटन गरेर नयाँ जनादेशको विषयमा कुरा गर्ने वित्तिकै कृषि मन्त्री घनश्याम भुसालले नयाँ जनादेशमा जाने विषयले पार्टी एकतामा संकट आउने भन्दै त्यसतर्फ जान नहुने बताए।

‘पार्टी र सांसदहरूको ठूलो पंक्ति पार्टी एकताको पक्षमा रहेको छ, त्यसतर्फ जानु हुँदैन’, मन्त्री भुसालले प्रधानमन्त्रीलाई रोक्न खोज्दै भने, ‘हाम्रो पिँढीले गर्न सक्ने सबैभन्दा ठूलो कुरा भनेको अहिलेको यो एकता जोगाउने हो। त्यसैले संसद विघटन गर्नेतर्फ नजाउँ।’

बैठकमा संसद विघटन गर्न सिफारिस गर्ने प्रस्ताव प्रधानमन्त्रीले राखेपछि ऊर्जामन्त्री वर्षमान पुनले आपत्ति जनाए। मन्त्री पुनले संसद विघटनको सोचबाट पछि हट्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

‘आफ्नै पार्टीको झण्डै दुई तिहाई बहुमत भएको संसद विघटन गरेर कसलाई फाइदा पुर्याउने?’, मन्त्री पुनले भने, ‘तपाईं बेठिक गर्दै हुनुहुन्छ। यो एतिहासिक गल्ती हुने छ।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘कुनै पनि कदम चाल्दा त्यसलाई राजनीतिक रुपमा पुष्टी गराउनु पर्ने हुँदा अहिले नयाँ जनादेशको विषय पुष्टी गराउन नसकिने’ बताएका थिए।

यतिन्जेल सम्ममा प्रधानमन्त्री ओलीले मुख्य सचिवलाई संसद विघटन गर्न सिफारिस गर्ने निर्णय लेख्न निर्देशन दिइसकेका थिए। योगेश भट्टराईसहित अन्य मन्त्रीहरुले धारणा राख्न खोजे पनि प्रधानमन्त्री ओली ‘आजका लागि बैठक यति नै भयो’ भनेर स्थगित गरेर हिँडे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .