ad ad

राजनीति


ओलीले प्रचण्डलाई भनेः भदौ २६ को निर्णय मान्छु, तपाईं र म मिलौँ

ओलीले प्रचण्डलाई भनेः भदौ २६ को निर्णय मान्छु, तपाईं र म मिलौँ

सागर न्यौपाने
मंसिर २४, २०७७ बुधबार १५:५४,

प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २६ गते स्थायी समितिले गरेको निर्णय कार्यान्वयन गर्न आफू तयार रहेको बताएका छन्।

बुधबार बालुवाटारमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ओलीले मिलेर अघि बढ्ने प्रस्ताव पनि राखे।

सचिवालयका एक सदस्यका अनुसार ओलीले प्रचण्डलाई वरिष्ठ नेता माधव नेपालको साथ छाड्न आग्रह गरेका थिए।

‘माधवजीसँग मिलेर तपाईं स्थायी समितिबाट बहुमतीय आधारमा अघि बढ्न खोज्दै हुनुहुन्छ। तर, तपाईंलाई माधवजीले धोका दिनुहुन्छ,’ ओलीको भनाइ उधृत गर्दै ती सचिवालय सदस्यले भने, ‘तपाईं र म मिलेर अघि बढौँ। पार्टी एकता हामी दुई जनाले गरेको हो। त्यसलाई निष्कर्षमा पुर्‍याउने जिम्मा पनि तपाईं र मेरै हो।’

स्थायी समितिमा पेस भएको दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल नगर्न पनि उनले आग्रह गरेका छन्।

‘तपाईं स्थायी कमिटीमा बहुमत पनि पुर्‍याउन सक्नुहुन्न। बरु तपाईं र म मिलेर जाऊँ, म भदौ २६ को निर्णय कार्यान्वयन गर्न तयार छु,’ ओलीले प्रचण्डलाई भनेका थिए, ‘स्थायी समितिमा पेस भएका दुवै प्रतिवेदन फिर्ता लिऊँ र साझा प्रस्ताव बनाऔँ।

तर, प्रचण्डले स्थायी समितिमा पेस भइसकेका प्रतिवेदनमाथि छलफल हुनुपर्ने जवाफ दिएका छन्।

‘कमिटीमा पुगिसकेको प्रतिवेदनलाई त्यसै रोक्न मिल्दैन, तपाईंपनि छलफलमा आउनुस्, बैठकबाट एउटा निष्कर्ष निकालौंला,’ प्रचण्डले ओलीलाई भने।

भदौ २६ मा स्थायी समितिको बैठकले ओली बाँकी कार्यकाल प्रधानमन्त्री रहने, पार्टीको काम कार्यकारी अध्यक्ष प्रचण्डले सम्हाल्ने, सरकारका निर्णयबारे ओलीले पार्टीमा सल्लाह गर्नेलगायतका निर्णय गरेको थियो। जसले महिनौँ लम्बिएको नेकपाका विवाद टुंगो लगाएको थियो।

तर, असोजबाटै ओलीले ती निर्णय कार्यान्वयन गर्न अस्वीकार गरेका थिए।उनले मन्त्रीदेखि राजदूत नियुक्तिमा समेत आफूखुसी गरेका थिए। साथै सार्वजनिक रुपमै आफू एक नम्बरको अध्यक्ष भएको दाबी गरेका थिए। त्यसपछि पुन: नेकपाको शक्तिसंघर्षले उग्र रुप लिएको थियो। 

प्रधानमन्त्री ओली यतिबेला प्रचण्ड–नेपाल गठबन्धन टुटाउन प्रयासरत छन्। केही समयअघि उनले नेता नेपालसँग मिल्ने प्रस्ताव राखेका थिए। तर, त्यसमा सफल नभएपछि उनले पुनः प्रचण्डसँग मिल्ने प्रस्ताव अघि सारेका हुन्।

सचिवालयको बैठकमा समेत नेता नेपालले पूर्वएमाले मिलाउने, जबज कार्ड खेल्ने प्रयास नगर्न ओलीलाई चुनौती दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .