ad ad

राजनीति


‘ओलीको प्रस्ताव प्रवृत्तिगत विश्लेषणभन्दा पुराना र व्यक्तिगत प्रसंगमा केन्द्रित’

‘ओलीको प्रस्ताव प्रवृत्तिगत विश्लेषणभन्दा पुराना र व्यक्तिगत प्रसंगमा केन्द्रित’

नेपालखबर
मंसिर १३, २०७७ शनिबार १६:४,

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जवाफमा ल्याएको राजनीतिक प्रस्तावमा पुराना असान्दर्भिक र व्यक्तिगत प्रसंगहरु ल्याएको नेकपाका नेताहरुले बताएका छन्।

पार्टीको कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ल्याएको १९–पृष्ठ लामो प्रतिवेदनमा प्रधानमन्त्री ओलीमाथि पार्टी तथा सरकार सञ्चालन राम्रोसँग नगरेको लगायत बिभिन्न आरोप लगाउँदै नेतृत्व छाड्न आग्रह गरेपछि त्यसको जवाफमा प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा ३८–पृष्ठ लामो प्रतिवेदन पेस गरेका थिए।

सो राजनीतिक प्रस्ताव औपचारिक रुपमा सचिवालयका सदस्य बाहेकका अन्य नेताहरुको हातमा नपुगिसकेको भएपनि सञ्चार माध्यमहरुमार्फत् पढेर उनीहरुले प्रतिक्रिया दिएका हुन्।

कार्यकारी अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालपक्षीय नेताहरुले ओलीको प्रतिवेदनबारे प्रारम्भिक प्रतिक्रिया दिँदै अध्यक्ष ओलीको प्रतिवेदन सकारात्मक नभएको टिप्पणी गरेका हुन्।

उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्री ओलीको प्रतिवेदन रचनात्मक नदेखिएको टिप्पणी गरे।

‘प्रधानमन्त्रीले सचिवलायको बैठकमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव औपचारिक रुपमा त प्राप्त भइसकेको छैन। तर सञ्चारमाध्यमहरुमा आएको पूर्णपाठ पढ्दा त्यो रचनात्मक र सकारात्मक देखिदैन,’ पुनले नेपालखरबसँग भने, ‘यो प्रस्तावले पार्टीभित्रको अन्तरसंघर्षलाई निषेध गर्न खोजेको देखिन्छ।’

प्रचण्डको प्रस्तावमा सरकार तथा पार्टी सञ्चालन गर्दा प्रधानमन्त्री ओलीबाट विभिन्न गल्तीहरु भएको भन्दै उनले त्याग गरेर अहिले पार्टी तथा सरकारमा देखिएको संकटलाई निकास दिनका लागि मार्गप्रशस्त गर्न आग्रह गरिएको छ।

प्रधानमन्त्री ओलीले पनि प्रचण्डको भूमिकाको तीब्र आलोचना गरेका छन्। उनले पनि अहिलेको संकट आफ्नो कारणले नभई प्रचण्डको कारणले आएको दाबी गरेका छन्।

मन्त्री पुनले सो प्रतिवेदनमा प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डमाथि टिप्पणी गर्दा नेकपा एमाले र माओवादीबीच एकीकरण भएपछिका प्रसंग लिनुको साटो तत्कालीन माओवादीको कार्यकालमा भएका विषयहरु कोट्याएको बताए।

‘प्रधानमन्त्रीले जुन विषयहरु उठाउनुभएको छ ती पार्टी एकीकरणपछिका प्रसंग होइनन्। १४ वर्षअघिको विषयहरु उठाइएको छ,’ पुनले भने, ‘त्यसैगरी उठाउँदै जाने हो भने त बयलगाढामा चढेर गणतन्त्रमा पुगिदैन भन्ने विषय पनि आउँछ।’

२०६२–६३ मा दलहरुले आन्दोलन गरिरहँदा ओलीले सो आन्दोलनबाट गणतन्त्र आउनु भनेको वयलगाढा चढी अमेरिका पुग्नु जस्तै हो भनेर आन्दोलनविरोधी अभिव्यक्ति दिएको भनी ओलीको आलोचना गर्ने गरिन्छ। ओलीले भने आफूले त्यसो भने पनि आफ्नो भनाइको मर्म आन्दोलनविरोधी नभएको बताउँछन्।

नेकपाका अर्का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले कार्यकारी अध्यक्ष दाहालको प्रतिवेदनले प्रवृत्तिगत विषयलाई जोड दिएको तर प्रधानमन्त्री ओलीको प्रतिवेदन व्यक्तिगत विषयमा बढि केन्द्रित रहेको टिप्पणी गरे।

‘कार्यकारी अध्यक्षको प्रतिवेदन प्रवृत्तिगत विषयमा केन्द्रित थियो’ माधव नेपालनिकट रहेका ज्ञवालीले नेपालखबरसँग भने, ‘प्रधानमन्त्री ओलीको प्रस्ताव भने नेकपा गठनभन्दा पनि अघिको संविधानसभा तथा चितवनको चुनाव जस्ता विषय ल्याएर बढि व्यक्तिगत टिप्पणी गर्न खोजिएको देखियो।’

उनले अध्यक्षहरुको तहबाट बैठकमा प्रस्तुत हुने प्रस्तावहरुले प्रवृत्तिगत विश्लेषणमा जोड दिनुपर्नेमा व्यक्तिगत तहमा उत्रनु उचित नहुने बताए।

प्रधानमन्त्री ओलीले पेस गरेको प्रतिवेदनमा पहिलो संविधान सभादेखिका विभिन्न विषय तथा प्रसंगहरु समेटिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .