ad ad

राजनीति


प्रचण्डले भने : पार्टी फुटाउने ओलीको कदमलाई रोक्दै आएका छौँ र फेरि पनि रोक्छौँ

प्रचण्डले भने : पार्टी फुटाउने ओलीको कदमलाई रोक्दै आएका छौँ र फेरि पनि रोक्छौँ

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार १२:११,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पार्टीमा फुट ल्याउने गरी नआउने बताएका छन्।

बिहीबार आफूलाई भेट्न खुमलटारस्थित निवास पुगेका केही स्थायी र केन्द्रीय सदस्यसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अहिले पार्टी फुटाउने गरी ओलीले राजनीतिक प्रतिवेदन नल्याउने विश्वासमा आफूहरु रहेको बताएका हुन्। उनले १३ गतेको बैठकमा ओलीले पनि प्रतिवेदन ल्याउने र दुवै प्रतिवेदनलाई तल्लो तहमा छलफलका लागि पठाएपछि त्यसबाट नयाँ पार्टी निर्माणको क्रम सुरु हुने बताएको एक स्थायी समिति सदस्यले बताए।

‘ओलीले यसअघि पनि पटक–पटक पार्टी फुटाउने कोशिस गर्नुभएकै थियो’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती सदस्यले नेपालखबरसँग भने,  ‘कहिले अध्यादेश, कहिले निर्वाचन आयोगमा एमाले पार्टी दर्ता त कहिले जबजका नाममा उहाँले फरक पार्टी बनाउने प्रयास गर्दै आउनुभएकै हो।’

अध्यक्ष प्रचण्डले आफूहरु पार्टी फुटाउने अभियानमा नरहेको बरु ओलीको पार्टी फुटाउका लागि चाल्दै आएका कदमलाई रोक्दै आएको दावी गरे। ‘हामी पार्टी एकढिक्का भएर अगाडि बढोस् भन्नेमा छौँ’,  उनले भने, ‘हामी त पार्टी फुटाउन खोज्ने उहाँ (ओली) का कदमलाई रोक्दै आएका हौँ र फेरि पनि रोक्छौँ’, उनले थपे।

उनले प्रधानमन्त्री ओलीले पार्टी फुटेको अवस्थामा नेपाली जनतामा नैरास्यता आउछ भन्ने कुरालाई राम्रोसँग बुझेका कारण पनि तत्काल पार्टी भने नफुट्ने बताए।

अहिलेको मतभेदलाई हेर्दा दुई अध्यक्षबीचको जस्तो देखिए पनि खासमा यो नयाँ विचार र संश्लेषणको अन्तरसंघर्ष रहेको प्रचण्डको भनाइ थियो।

‘बाहिर मेराे बारेमा  विभिन्न टीकाटिप्पणी गरेको सुनेको छु, तर मेरो र ओलीजीको विवाद होइन यो, यो त पार्टीलाई कम्युनिस्ट बनाउने कि बुर्जुवा अवस्थामा छोड्ने भन्ने कुराको बहस हो’, प्रचण्डको भनाइ उधृत गर्दै ती नेताले भने।

नेकपामा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित बहुमत सदस्यका तर्फबाट प्रचण्डले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्तावमाथि छलफल र प्रधानमन्त्री ओलीले त्यसको जवाफसहित तयार पारेको प्रतिवेदन १३ गते बस्ने सचिवालय बैठकमा पेस हुँदैछ।

अध्यक्ष प्रचण्डले आफूले राजनीतिक प्रतिवेदन तल्लो तहमा पठाएर नेता कार्यकर्तालाई पार्टीभित्रको अन्तरसंघर्ष के विषयमा छ भन्ने देखाउन खोजेको पनि बताए।‘ओलीजीको प्रतिवेदन पनि आएपछि यसैगरी तल्लो कमिटीमा पठाइन्छ र छलफल गराइन्छ’, उनले भने।

मंसिर ३ गते बसेको सचिवालय बैठकपछि ओली र प्रचण्डबीच संवाद भएको छैन। ओलीले प्रचण्डको प्रस्तावको जवाफ दिनका लागि दश दिनको समय मागेपछि कुनै पनि विषयमा छलफल नभएको ती नेताले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .