अमेरिकाले नेपालसहित दक्षिण एशियाका पाँच मुलुकसँग हिन्द प्रसान्त (इन्डो प्यासिफिक) रणनीति अन्तर्गत रक्षा सम्बन्ध विस्तार गर्ने योजना अघि सारेको छ।
अमेरिकी रक्षा मन्त्रालयद्वारा हालै सार्वजनिक एक प्रतिवेदनअनुसार नेपालसँग ५ क्षेत्रमा सैन्य विस्तार गर्न चाहेको उल्लेख छ।
इन्डो प्यासेफिक रणनीतिअन्तर्गत नेपालसँग सम्बन्ध विस्तार गर्न चाहेका क्षेत्रहरुमा प्राकृतिक प्रकोप, शान्ति स्थापना प्रयास, रक्षा व्यवसायिकता, स्थल सेना क्षमता अभिवृद्धि तथा प्रतिआतंकवाद रहेका छन्।
‘सन् २०१८ जुनमा अमेरिकी सेना प्यासिफिक नेतृत्वले नेपाली पक्षसँग गरेको वार्ताले साझेदारी बढ्दै गएको देखाउँछ’, प्रतिवेदनमा भनिएको छ। गत पुसमा अमेरिकाका इन्डो प्यासेफिक कमाण्डका कमाण्डर तथा अमेरिकाका उप सहायक रक्षामन्त्री एड्माइरल डेभिड्सनले नेपाल भ्रमण गरेका थिए। नेपालसँग सैनिक सम्वाद गर्ने उनी सबैभन्दा उच्च स्तरका सैनिक अधिकारी हुन्। प्रतिवेदनमा सो विषय समेत उल्लेख छ।
‘दक्षिण एशियाभित्र हाम्रो मुख्य रक्षा साझेदार भारत एवं श्रीलंका, माल्दिभ्स, बंगलादेश र नेपालसँग साझेदारी विस्तार गर्दै लगिरहेका छौं,’ प्रतिवदेनमा भनिएको छ। अमेरिकी रक्षा मन्त्रालयले तयार पारेको प्रतिवेदन ‘तयारी, साझेदारी र क्षेत्रीय सञ्जालको प्रवद्र्धन’ को रुपमा व्याख्या गरिएको छ।
चीनको बढ्दो राजनीतिक, आर्थिक, सैनिक शक्तिलाई नियन्त्रण गर्न अमेरिकाले इन्डो प्यासिफिक रणनीति अघि सारेको हो। पछिल्लो समय प्यासिफिक कमाण्डको नाम परिवर्तन गरी यसलाई इन्डो प्यासेफिक कमाण्ड बनाइएको हो। यसले प्रशान्त हिन्द महासागर क्षेत्रलाई हेर्ने गर्छ।
गत पुसमा भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री माइक पोम्पओले नेपालले इन्डो प्यासिफिक क्षेत्रको शान्ति, विकास र समृद्धिमा केन्द्रीय भूमिका निर्वाह गर्न सक्ने बताएका थिए। अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा इन्डो प्यासिफिक क्षेत्रका लागि नेपाल केन्द्रीय भूमिकामा रहेको उल्लेख गरेको थियो। अमेरिका भ्रमणमा गएका मन्त्री ज्ञवाली नेपाल नफर्किंदै इन्डो प्यासिफिकबारे काठमाडाैंमा बहस चुलिएको थियो। अमेरिका भ्रमणबाट फर्किएका परराष्ट्रमन्त्री ज्ञावलीले आफूले इन्डो प्यासिफिक रणनीतिमा समावेश हुन सहमति नगरेको बताएका थिए।
नेपाली सेनाले पहिलेदेखि अमेरिकी सेनासँग इन्डो प्यासेफिक रणनीति अन्तर्गत रहेर प्राकृतिक विपत्ति, विपत् व्यवस्थापनसहितका क्षेत्रमा काम गर्दै आएको छ। वि.सं. २०७२ वैशाख १२ काे विनाशकारी भूकम्पपछि अमेरिकी सेनाको प्यासिफिक कमान्ड उद्धारमा परिचालन भएको थियो। सो विषय समेत प्रतिवेदनमा उल्लेख गरिएको छ।
चीनले आर्थिक, राजनीतिक, सैनिक, सांस्कृतिक क्षेत्रमा आफ्नो पकड बलियो बनाउन बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआइ) अघि सारेको छ। यो पूर्वाधार र आर्थिक विषय समेट्ने कनेक्टिभिटीको रणनीतिक कार्यक्रम हो। अमेरिकाको इन्डो–प्यासिफिक रणनीति सैन्य क्षेत्रको साझेदारी केन्द्रित अर्को त्यस्तै कार्यक्रम हो। अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको यो कार्यक्रमको नाममा उल्लिखित ‘रणनीति’ शब्दको नकारात्मक अर्थका कारण यसबारे बढी टिकाटिप्पणी हुने गरेका छन्। अमेरिकी राजदूत र्यान्डी डब्लु बेरीले बेलाबेलामा यसबारे प्रस्ट्याउने गरेका छन्।
तीब्र विकास भइरहेका मुलुकको सूचीमा नेपाल
विश्वको कुल गार्हस्थ उत्पादनमा इन्डो प्यासेफिक क्षेत्रको योगदान दुई तिहाइ रहेको उल्लेख गर्दै प्रतिवेदनमा नेपालसहित ६ देशलाई विश्वका तीव्र रुपमा आर्थिक विकास गर्दैै गरेको देशको सूचिमा राखिएको छ। नेपाल बाहेक यो सूचिमा भारत, कम्बोडिया, लाओस, बर्मा, फिलिपिन्स छन्।
सो प्रतिवेदनमा नेपाल र श्रीलंकालाई सन् २०१९ मा अमेरिका रक्षा मन्त्रालयको साझेदार देशको सूचिमा थप गरिएको प्रतिवेदनमा उल्लेख छ। अमेरिकी रक्षा मन्त्रालयले हाल ८६ देशसँग ७९ सैन्य साझेदारी गर्छ। यी मध्ये १२ सैन्य साझेदारी इन्डो प्यासिफिक क्षेत्रमा छन्। इन्डो प्यासेफिक कमाण्डमा अहिले २ हजारभन्दा बढी युद्धक विमान, २ सय पानीजहाज तथा पनडुब्बी र ३ लाख ७० हजारभन्दा बढी सैनिक तैनाथ छन्।
प्रतिक्रिया