ad ad

राजनीति


चुच्चे नक्सा जारी भएकै वर्ष दार्चुलाले गुमायो लिम्पियाधुरासम्म नेपालको हक खोजी गर्ने नेता

चुच्चे नक्सा जारी भएकै वर्ष दार्चुलाले गुमायो लिम्पियाधुरासम्म नेपालको हक खोजी गर्ने नेता

गोकुल जोशी
कात्तिक १३, २०७७ बिहिबार ४:४६,

यो वर्ष जेठ ७ गते सरकारले भारतीय अतिक्रमणमा परेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गर्‍यो।

वर्षौदेखि भारतीय कब्जामा रहेको दार्चुला जिल्लामा पर्ने सो भूमिलाई सरकारले नक्सामा समेटेपछि सो जिल्लामा मात्र नभई देशभर नै त्यसलाई राष्ट्रिय गौरवको रुपमा लिइएको छ।

सो क्षेत्र नक्सामा समेटिने मात्र नभई तथ्य र प्रमाणका आधारमा अतिक्रमित भूमि फिर्ता पाउनेमा जिल्लावासी आशावादी छन्।

अतिक्रमित भूमि नक्सामा समावेश भएको ऐतिहासिक खुसियाली साटिरहेकै बेला सोही अभियानमा दशकौंदेखि निरन्तर खटिएका योद्धालाई भने दार्चुला जिल्लाले गुमाएको छ।

कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि नेपालको हक खोज्ने दार्चुलाका नेता वीरबहादुर ठगुन्नाको बुधबार निधन भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दार्चुलाका नेता ठगुन्नाको बिहीवार (आज) बिहान १० बजे पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

तीन वर्षदेखि क्यान्सर रोगबाट ग्रस्त ठगुन्नाको उपचारको क्रममा काठमाडौँमा निधन भएको हो।

अतिक्रमित भूमि सहितको नक्सा सार्वजनिक भएपश्चात् ती क्षेत्रका बासिन्दाहरुसँग खुशी साट्न नपाउँदै अस्ताए ठगुन्ना।

भारतद्वारा अतिक्रमित भूमिमा नेपालको हक खोज्ने लडाईंमा उनको योगदान महत्वपूर्ण रहेको दार्चुलावासी बताउँछन्।

उनले साे विषयलाई निरन्तर उठाएका थिए।

ठगुन्नाले वि.सं. २०४८ सालमा अतिक्रमित नेपाली भूमिको स्थलगत भ्रमण गरे। त्यसपछि तत्कालीन नेकपा एमालेका महासचिव स्वर्गीय मदन भण्डारीलाई नेता ठगुन्नाले अतिक्रमित भूमिबारे प्रतिवेदन बुझाएका थिए।

स्थानीय नेताहरुका अनुसार मदन भण्डारीको सुझाव र परामर्शमा नेता ठगुन्नाले कालापानी अतिक्रमणविरुद्ध आन्दोलन उठाएका थिए। दार्चुलामा रहेर उनले अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे तथ्य तथा विवरणको स्थलगत अध्ययन अनुसन्धान गरेर केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराउने काम गरे।

पत्रपत्रिकामा कालापानीसम्बन्धी विभिन्न लेख, रचनाहरु प्रकाशित गरेर सीमा समस्या र समाधानका उपायहरुबारे आमसमुदायकाे पनि ध्यान ताने।

बुधबार उनको निधन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उनलाई अतिक्रमित भूमिको खोजि गर्ने नेताको रुपमा स्मरण गरेका छन्।

दार्चुला जिल्लाले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा माथिको नेपालको हक खोजी गर्ने तथा तथ्य, विवरण स्थलगत रूपमा अध्ययन अनुसन्धान गरी नेतृत्वसमक्ष रिपोर्टिङ गर्ने ‘खास’ नेता गुमाउनु परेको थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

२०५१ सालमा तत्कालीन सांसद स्व. प्रेमसिंह धामीले संसदमा आवाज उठाएपछि कालापानीमा भारतले अतिक्रमण गरेको विषय राष्ट्रिय मुद्दा बनेको मानिन्छ।

धामीलाई पनि जिल्लाबाट कालापानीको स्थलगत भ्रमणका आधारमा त्यहाँको यथार्थ विवरण जानकारी गराउने स्थानीय नेता थिए ठगुन्ना।

उनीसँग लामो सङ्गत गरेका पत्रकार बिक्रम गिरीका अनुसार ठगुन्नाले पहिलो पटक २०४९ भदौ २९ गते कालापानीको स्थलगत भ्रमण गरेका हुन्। उनले त्यहाँको स्थलगत अध्ययनबाट प्राप्त जानकारी प्रेमसिंह धामीलाई दिन्थे र त्यसको समेत आधारमा उनले साे विषय संसदमा उठाएपछि कालापानी अतिक्रमणको विषय राष्ट्रिय मुद्दा बनेको थियो।

यस्तो छ राजनीतिक यात्रा
वि.सं. २०१० साल फागुन ३ गते दार्चुलाको नौगाड गाउँपालिका–२ सुन्डमुन्डमा जन्मिएका नेता ठगुन्नाले वि.सं. २०३५ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका हुन्। वि.सं. २०३७ देखि नेकपा मालेमा आबद्ध रहेका उनी २०४७ देखि नेकपा इकाई कमिटी बझाङको बुंगल क्षेत्र सचिव रहेका थिए। २०४७ सालमा तत्कालीन नेकपा एमालेको जिल्ला सचिव भएका थिए।

उनले तीन कार्यकाल दार्चुला जिल्लामा नेकपा एमाले सचिव भई पार्टीको अगुवाइ गरेका थिए। त्रिभुवन विश्वविद्यालयबाट भूगोल विषयमा स्नातक सम्मको औपचारिक शिक्षा लिएका नेता ठगुन्नाले निजामति सेवामा दुई वर्ष सेवा गरेका थिए।

महादेव माध्यमिक विद्यालय अठपाली बझाङका संस्थापक प्रधानाध्यापक समेत रहेका नेता ठगुन्नाले शिक्षक पेशालाई त्यागेर जिल्लामा कम्युनिष्ट आन्दोलनमा लागेको थिए।

उनी तत्कालीन नेकपा–एमाले दार्चुलाका संस्थापक समेत थिए। सरकारी जागिर त्यागेर कम्युनिष्ट राजनीतिमा होमिएका उनी २०४८ सालमा दार्चुला जिल्लाबाट निर्वाचनमा प्रतिस्पर्धा गरे। राप्रपाका नेता अगवर बहादुर सिंहसंग उनी पराजित भए।

वि.सं. २०४९ सालमा जिल्ला विकास समिति (जिविस) सदस्यमा रहेका उनी २०५४ सालमा जिविस उपसभापतिमा निर्वाचित भएका थिए।

वि.सं. २०५१ सालमा सुकुम्बासी आयोगकाे जिल्ला अध्यक्ष बनेका ठगुन्ना २०५६ सालमा जिल्लाबाट सांसद पदमा उम्मेदवार बनेका थिए। तर नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडूसंग पराजित भएका थिए। उनी वि.सं. २०७१ सालमा समाज कल्याण परिषदको कोषाध्यक्ष बनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .