ad ad

राजनीति


कांग्रेस र जसपा सांसद : जसले प्रदेश सभालाई रणभूमि बनाए (भिडियाे)

कांग्रेस र जसपा सांसद : जसले प्रदेश सभालाई रणभूमि बनाए (भिडियाे)

प्रकाश न्यौपाने
असोज १९, २०७७ सोमबार १३:५,

संसद जनप्रतिनिधिको थलो हो, जहाँ जनगुनासो उठाइन्छ, सरकारलाई सचेत गराइन्छ। आवश्यक नीति निर्माण गरिन्छ। त्यही संसद रणभूमिमा परिणत भए के होला?

तर प्रदेश ५ को प्रदेश सभा भने रणभूमि बनेको छ। असोज १६ गते प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई बनाउने र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ताव पेस गरेको थियो। नामको विषयमा विवाद नभए पनि राजधानीका विषयमा असन्तुष्टि जनाउँदै त्यसयता रुपन्देहीमा निरन्तर आन्दोलन छ।

सोमबार १ बजे प्रदेश सभाको बैठक सुरु हुनेवित्तिकै विशेष समय लिएर कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले प्रदेशको राजधानी अस्थायी राजधानी रहेको बुटवललाई नै कायम गर्नुपर्ने माग गरे। उनले प्रदेश सरकारले हठातमा निर्णय गरेर बहुसंख्यक जनताको मर्मविपरीत दाङ राजधानी प्रस्ताव गरिएको आरोप लगाए। कनौडिया बोलेपछि कांग्रेस सांसदले नाराबाजी गरे। जनता समाजवादीका केही सांसद पनि नाराबाजीमा उत्रिए र रोष्ट्रम घेराउ गरे।

नाराबाजीपछि सभामुख पूर्णबहादुर घर्तीले २ बजेसम्म बैठक स्थगित गरे। त्यसपछि २ बजे बस्ने भनिएको बैठक ३ बजे बल्ल बस्यो। यो बीचमा मुख्यमन्त्री शंकर पोखरेलले प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता कनौडिया, सचेतक निर्मला क्षेत्री लगायतसँग संसद अवरोध नगर्न आग्रह गरे। तर सहमति भएन र बैठक सुरु भयो।

सभामुख घर्तीले बैठक सुरु गर्नेवित्तिकै कांग्रेस सांसद र जसपाका केही सांसदले रोष्ट्रम घेराउ गरी विरोध गरे। तर विरोधकाबीच पनि सभामुख घर्तीले आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नाम र राजधानीबारे छलफल गर्न संसदमा प्रस्ताव पेस गर्न अनुमति दिए। धकेलाधकेलबीच रोष्ट्रममा पुगेर मन्त्री केसीले प्रस्ताव पेस गर्न सुरु गरे।

तर आक्रोसित कांग्रेस सांसद वसिउद्दिन खान, अष्टापुजा पाठक, बैजनाथ कलवार र जनता समाजवादी पार्टीका सचेतक सन्तोषकुमार पाण्डेयले कुर्सीटेबल तोडफोड गरे।

सुरुमा खानले कुर्सी तोडफोड गरेका हुन्। त्यसपछि अन्य सांसदले पनि तोडफोड सुरु गरे। यस्तै, कांग्रेस सचेतक निर्मला क्षेत्री, पुष्पा थरुनी, रमा अर्यालले माइक तोडफोड गरे। विरोधका बावजुद मन्त्री केसीले प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गरे। सांसदहरुले संसदीय मर्याद पालन गर, पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ता रिहाई गर, दुईतिहाईको दम्भ नदेखाउ जस्ता नारा लगाउँदै कुर्सी, टेबल र माइक तोडफोड गरेका थिए।

तोडफोड र रोष्ट्रम घेराउ भए पनि सभामुख घर्तीले संसद बैठक सञ्चालन गरे र प्रस्तावमाथि भनाई राख्न सांसदहरुलाई समय दिए। प्रस्तावमाथि भनाई राख्दै नेकपाका प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले सरकारको प्रस्ताव सही नभएको भन्दै जनभावनाको कदर गरी बुटवललाई नै स्थायी राजधानी तोक्न माग गरे। सभामुखले दिएको ५ मिनेटको समय सकिएपछि पनि उनको माइक काटिएपछि श्रेष्ठले त्यसको पनि विरोध गर्दै झण्डै बैठकको अन्त्यसम्म हात उठाएरै विरोध जनाइरहे।

नेकपाका सांसद विष्णु पन्थीले प्रदेशको स्थायी राजधानी कपिलवस्तु उपयुक्त हुने भन्दै सरकारको प्रस्ताव सच्याउनु पर्ने माग गरे। उनले सबै हिसावले कपिलवस्तु राजधानीका लागि उपयुक्त भएको दावी पेस गरे।

नेकपाकै सांसद हरि रिजालले प्रदेश सरकारले विशेष सोचकासाथ राजधानी र लुम्बिनी प्रदेश नाम प्रस्ताव गरेको भन्दै यसलाई संसदबाट पास गर्नुपर्ने धारणा राखे।

राष्ट्रिय जनमोर्चाकी तारा जिसीले यस्तै हुन्छ भनेर नै जनमोर्चाले संघीयता खारेजीको माग गरेको जनाइन्। उनले स्थायी राजधानीको विषयमा रुपन्देहीमा देखिएको विरोध टेलर मात्र भएको र संघीयताको देशभरको फिल्म देख्न बाँकी रहेको बताइन्। उनले लुम्बिनी नाम उपयुक्त भएपनि राजधानीका लागि अधिकार सम्पन्न आयाेग बनाएर सुझाव लिनुपर्ने बताइन्।

जसपाका विजयबहादुर यादवले दाङ राजधानी राख्ने प्रस्ताव स्वागतयोग्य भएको बताए।

सोमबार ७ जना सांसदले प्रस्तावमाथिको छलफलमा भाग लिएका थिए।

Kurshi_1.jpg

छलफलमा भाग लिएका सांसदले मिश्रित प्रतिक्रिया दिएका छन्। छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री केसीले प्रदेशको नाम र राजधानी सरकारले तोकेअनुसारै हुने बताए। उनले हरेक दृष्टिकोण र बैज्ञानिक ढंगबाट राजधानी सही ठाउँमा तोकिएको दावी गरे। संसदमा कांग्रेस र जसपाका सांसदले गरेको तोडफोड निन्दनीय रहेको उनले जनाए।

बैठक भोलि मंगलबार दिउँसो १२ बजे बस्ने गरी स्थगित भएको छ।

संसद बैठक अघि बिहान सर्वपक्षीय बैठक बसे पनि सहमति भएन। मुख्यमन्त्री पोखरेलले कांग्रेस, जसपा र जनमोर्चाका सांसदहरुलाई प्रस्तावित राजधानीमा समर्थन गर्न आग्रह गरेका थिए। तर कांग्रेस सांसदहरुले सहयोग गर्न नसक्ने जनाए।

त्यसपछि लगत्तै नेकपा संसदीय दलको बैठक बसेको थियो। बैठकमा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पोखरेलले सांसदहरुलाई निर्देशन दिँदै सरकारले प्रस्ताव गरेको राजधानी र नामका पक्षमा मतदान गर्न ह्विप जारी गरेका थिए।

उता संसदमा नाराबाजी र तोडफोडका बीच पनि बैठक चलिरहेको थियो भने बाहिर नेपालगञ्ज रोडमा का‌ंग्रेस, नेकपा लगायत विभिन्न संघसंस्थाले विरोध गरिरहेका थिए। संसद भवन वरिपरी, बुटवल र आसपासको क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको थियो।

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .