ad ad

राजनीति


‘भाग्यमानी’ युवराजको आठौं उच्च नियुक्ति, वासिङ्टन अन्तिम गन्तव्य?

‘भाग्यमानी’ युवराजको आठौं उच्च नियुक्ति, वासिङ्टन अन्तिम गन्तव्य?

नेपालखबर
असोज १५, २०७७ बिहिबार ७:६,

सरकारले डा. युवराज खतिवडालाई मन्त्रिसरहको सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको दुई हप्तापछि उनैलाई अमेरिकाको राजदूत सिफारिस गरेको छ।

भदौ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको थियो।

उनी अर्थमन्त्री हुन पाउने कार्यकाल भदौ २० गते सकियाे। त्यसकाे १० दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनै खतिवडालाई मन्त्री सरहकै सुविधा पाउनेगरी विशेष आर्थिक सल्लाहकार नियुक्त गरे।

केहि वर्षयता ओलीका अत्यन्तै विश्वासपात्र रहेका खतिवडालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको राजदूत नियुक्त गर्न सिफारिस गरेको छ।

नेपालमा खतिवडा एक जना त्यस्ता ‘भाग्यमानी’ व्यक्ति हुन्, जसले बिभिन्न सरकारका पालामा राज्यका महत्वपूर्ण निकायमा पटक पटक नियुक्ति पाउँदै आए। अमेरिकाको राजदूत खतिवडाको आठौं महत्वपूर्ण नियुक्ति हो।

२०५९ साल असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम भनी बर्खास्त गरी बनाएको लोकेन्द्रबहादुर चन्दको सरकारले डा. खतिवडालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो।

खतिवडासँग लामो संगतमा रहेका एक नेताका अनुसार उनको त्यतिबेला राजदरबारसँग पनि राम्रो सम्बन्ध रहेको थियो।

सरकारसँगै आयोगमा फेरबदल आएपछि उनी संयुक्त राष्ट्र संघीय निकायहरुमा काम गर्न थाले।

देशमा गणतन्त्र आएपछि २०६६ सालमा तत्कालीन नेकपा एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री बने। उनकाे सरकारले खतिवडालाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनायाे।

यूएनडीपीको कोलम्बोस्थित क्षेत्रीय केन्द्रमा काम गरिरहेका खतिवडालाई बोलाएर नेपालले आयोगको उपाध्यक्ष बनाएका थिए।

त्यसपछि राष्ट्र बैंकको गभर्नर पद खालि भएपछि सोहि सरकारले नै उनलाई फेरि गभर्नर बनायो। केन्द्रीय बैंकको गभर्नरको रुपमा उनले पुरै कार्यकाल नेतृत्व गरे।

Yubraj KPOli

हालका प्रधानमन्त्री केपी शर्मा ओली २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री भएपछि उनले पनि आफ्ना जिल्लावासी खतिवडालाई दोहोर्‍याएर योजना आयोगको उपाध्यक्ष बनाए।

२०७४ फागुनमा ओली दाेस्राे पटक प्रधानमन्त्री भएपछि उनलाई शक्तिशाली बहुमत सरकारको अर्थमन्त्री नै नियुक्त गरे।

अहिलेको संविधानले सांसद नभएको व्यक्ति मन्त्री बनाउन नपाउने र बनाउनै पर्ने अवस्था भएमा त्यस्तो व्यक्ति मन्त्री भएको ६ महिनाभित्र सांसद बन्नुपर्ने प्रावधान भएकोले ओलीले उनलाई राष्ट्रिय सभा सदस्यको रुपमा संसद प्रवेश गराए।

राष्ट्रिय सभाको सुरुमा गोला प्रथा गर्दा खतिवडालाई दुई वर्षे कार्यकाल परेपछि उनको गत फागुन महिनामा कार्यकाल सकिएको थियो।

त्यसपछि पनि ओलीले थप ६ महिना उनैलाई अर्थमन्त्री बनाए।

खतिवडालाई नै राष्ट्रिय सभामा पुनः नियुक्त गर्ने ओलीको जोडमा नेकपाका अन्य नेताहरुले साथ नदिएपछि उनको सो प्रयास सफल हुन सकेन।

त्यसपछि मन्त्रिसरहको सुविधा दिनेगरी विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका ओलीले त्यसको दुई हप्तापछि बिहीबार फेरि उनै खतिवडालाई अमेरिकाको राजदूत मा सिफारिस गरेका हुन्। 

सरकारको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गरेसँगै खतिवडाले चार वर्ष वासिङ्टनमा कुटनीतिक भूमिकामा बिताउने छन्।

आठौं महत्वपूर्ण नियुक्तिसँगै ६४ वर्षीय खतिवडाको राजनीतिक नियुक्ति क्रमको वासिङ्टन संभवतः अन्तिम गन्तव्य हो।  

याे पनि: 
खतिवडा अमेरिका, रेग्मी बेलायतको राजदूतमा सिफारिस

तीन शक्तिराष्ट्रमा पूर्वमन्त्री राजदूत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .