अमेरिका, जापान, अस्ट्रेलिया र भारत सहभागी चौपक्षीय सुरक्षा संवाद अर्थात् क्वाडका विदेशमन्त्रीस्तरीय बैठक अर्को महिना जापानमा गर्ने तयारी भइरहेको छ।
क्वाडका चारै देश इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो सक्रियतालाई रोक्न चाहन्छन्। अमेरिकाको नेतृत्वमा इन्डो प्यासिफिक क्षेत्रमा चीनलाई नियन्त्रण गर्न यो सुरक्षा ढाँचा निर्माण गरिएको हो।
तीन देशका विदेशमन्त्रीसँग नवनियुक्त जापानी प्रधानमन्त्री योसिहिदे सुगाको भेटको तयारी पनि भइरहेको जनाइएको छ।
सुगाले बुधबार मात्र कार्यभार सम्हालेका हुन्।
जापानी विदेशमन्त्री तोसिमित्सु मोतेगी र उनका समकक्षीहरु अमेरिकाका माइक पम्पेओ, अस्ट्रेलियाका मरिस पेन र भारतका एस जयशंकरबीच सो वार्ता हुनेछ। क्वाडको यो दोस्रो विदेशमन्त्री स्तरीय बैठक हुनेछ। यसअघि सेप्टेम्बर २०१९ मा न्युयोर्कमा क्वाडका विदेशमन्त्रीबीच पहिलो बैठक भएको थियो।
सो बैठकमा चीनलाई रोक्ने संयुक्त उपायको खोजी गरिने अपेक्षा गरिएको छ। पछिल्लो समय क्वाडका चारमध्ये तीन मुलुकसँग चीनको सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको छ। अमेरिका र चीनबीच व्यापार युद्ध जारी छ। भारतसँग सीमामा तनाव छ।
अस्ट्रेलियासँगको कूटनीतिक सम्बन्ध चिसिँदै जाँदा वाक्युद्ध भने चर्किंदै गएको छ। एजेन्सी
प्रतिक्रिया