ad ad

राजनीति


प्रचण्डले भनेः स्कुल विभाग प्रमुख बन्नुस्, झलनाथले जवाफ दिएः तयार छु

प्रचण्डले भनेः स्कुल विभाग प्रमुख बन्नुस्, झलनाथले जवाफ दिएः तयार छु

मणि दाहाल
साउन ७, २०७६ मंगलबार १६:११,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्कुल विभाग प्रमुख हुन सचिवालय सदस्यहरू नरायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीच पेचिलो बनेको प्रतिस्पर्धाका बीच झलनाथ खनालले बाजी मार्ने भएका छन्।

स्कुल विभागमा आएर अड्किएको पार्टी एकताको गतिरोध फुकाउन पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई प्रमुख बनाउन लागिएको हो। स्कुल विभाग प्रमुखमा सहमती नहुँदा विभागको जिम्मेवारी बाँडफाँट गर्न मंगलबार बस्ने भनिएको सचिवालय बैठक बिहीबारका लागि सारिएको थियो।

श्रेष्ठ र पोखरेलले स्कुल विभाग प्रमुखको दावी नछाडेपछि विकल्पका रुपमा खनाललाई अगाडि सारिएको हो। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खनाललाई मंगलबार दिउँसो यसबारे जानकारी दिएर उनको सहमती पनि लिएका छन्।

‘अध्यक्ष प्रचण्डले मंगलबार दिउँसो झलनाथ खनाललाई बोलाएर गतिरोध अन्त्य गर्न स्कुल विभाग प्रमुखको जिम्मेवारी लिनुस भनेर प्रस्ताव राख्नुभएको हो’, नेकपाका एक जना सचिवालय सदस्यले नेपालखबरसँग भने, ‘खनालले म तयार नै छु भनेर जवाफ दिनुभएको छ।’

स्कुल विभाग प्रमुख खनाल बन्ने भएपछि उनी प्रमुख हुने भनिएको नीति प्रतिष्ठानको प्रमुख पोखरेल हुन सक्ने ती सचिवालय सदस्यले बताए।

नेकपामा अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड तथा बरिष्ठ नेता माधव नेपालपछि खनाल चौथो बरियातामा रहेका छन्। पूर्व प्रधानमन्त्री नेपालले विदेश विभाग प्रमुखको जिम्मेवारी लिने सहमती भैसकेको अवस्थामा खनाल दोस्रो पूर्व प्रधानमन्त्री हुनेछन्, नेकपाको विभागीय प्रमुख बन्ने।

पार्टीको शक्तिशाली संगठन विभागको प्रमुख वामदेव गौतम बन्ने निश्चित भैसकेको छ। पूर्व माओवादीको भागमा परेका अर्थ र प्रचार विभाग प्रमुख को हुने भन्ने टुंगो अझै लागेको छैन। एमाले र माओवादीले नेकपामा क्रमशः १८ र १४ विभागको प्रमुख हुने गरी जिम्मेवारी बाँडफाँट गरेका छन्।

नेकपा एमालेका पूर्व अध्यक्ष समेत रहेका खनाल पार्टीमा वैचारिक नेताका रुपमा चिनिन्छन्। छैठौं महाधिवेशनपछि वैचारिक रुपमा पार्टीलाई सशक्त बनाउन स्कुल विभाग गठन गर्नु पर्ने जोड खनालले नै दिएका थिए।

नेकपाका स्थायी समितिका एक जना सदस्यका अनुसार स्कुल विभागलाई लिएर उत्पन्न गतिरोध अन्त्य गर्नेबारे सोमबार दुई अध्यक्षबीच दुई विकल्पमाथि छलफल भएको थियो।

‘पहिलो विकल्प, खनाललाई प्रमुख बनाउने थियो, त्यसमा सहमती नबने दुई अध्यक्षमा नै त्यो जिम्मेवारी राख्ने भन्ने थियो’, स्थायी समिति सदस्यले भने, ‘श्रेष्ठ र पोखरेल दुवैका लागि खनाल स्वीकार्य हुने देखिन्छ।’

एमाले र माओवादी एकता भएर नेकपा बनेपछि जनताको जनवाद नयाँ कार्यनीति तय गरिएको थियो। तर पोखरेलले चाहिँ अबको कार्यनीति पनि एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद नै हुनुपर्ने अडान राख्दै आएका थिए, जुन अडानमा पूर्व माओवादीलाई पटक्कै मन परेको थिएन।

प्रचण्ड निवासमा खुमलाटारमा पूर्व माओवादी नेताहरुको बैठकले स्कुल विभाग पोखरेलका लागि छाड्न नसकिने भन्दै पूर्व एमालेले संगठन र विदेशजस्तो महत्वपूर्ण विभाग पाएकाले स्कुल विभाग आफूले पाउनु पर्ने तर्क गरेको थियो।

देशव्यापी रुपमा कार्यकर्ताहरुसँग प्रत्यक्ष सम्पर्क हुने र वैचारिक विषयमा प्रशिक्षण चलाउने जिम्मेवारी भएकाले आफ्नो प्रभाव विस्तार गर्न शीर्ष नेताहरु नै स्कुल विभागको प्रमुख बन्न उत्सुक हुन्छन्।

स्कुल विभागको प्रमुख बन्ने विषयमा श्रेष्ठ र पोखरेलबीच विवाद देखिएपछि स्थायी समिति सदस्य घनश्याम भुसालले ‘पार्टीले न्याय गर्ने हो भने आफूले सो विभाग पाउनु पर्ने’ दावी गरेका थिए।

नेपालखबरसँग कुरा गर्दै भुसालले स्कुल विभाग प्रमुख बन्न चाहनेहरूले सो विभाग कसरी चलाउने भन्ने विषयमा प्रस्ताव प्रस्तुत गर्नुपर्ने तर्क गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .