सरकारले सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेकाे छ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभाको रिक्त एकपदमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे एक मन्त्रीले जानकारी दिए।
२०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न २०७६ फागुन १४ गते बसेको नेकपाको सचिवालय बैठकले निर्णय गरेको थियो।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीबाट साे निर्णय नहुँदा पार्टीभित्र विवाद भएको थियो।
गत भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको यसअघिको निर्णय कार्यान्वयन गर्ने र गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने प्रतिबद्धता जनाएका थिए।
आइतबार पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भएको छलफलमा पनि प्रधानमन्त्री ओलीले गौतमलाई सोमबार बस्ने मन्त्रीपरिषद् बैठकबाट राष्ट्रिय सभाका लागि सिफारिस गर्ने तयारीबारे जानकारी गराएका थिए।
प्रतिक्रिया