ad ad

राजनीति


दार्चुलामा सशस्त्र प्रहरी थप : खलंगामा गण र छाङरुमा गुल्म बनाइयो

दार्चुलामा सशस्त्र प्रहरी थप : खलंगामा गण र छाङरुमा गुल्म बनाइयो

उजिर कार्की
साउन २९, २०७७ बिहिबार १०:१९,

सरकारले दार्चुलामा सशस्त्र प्रहरीको संख्या बढाएको छ। खलंगामा रहेको गुल्मलाई गण र छाङरुमा रहेको बोर्डर आउट पोस्ट (बीओपी) लाई गुल्म बनाउने निर्णय भएसँगै सोही अनुसार जनशक्ति थपिएको हो।

खलंगामा रहेको गुल्मलाई गण र छाङरुमा गुल्म बनाउने गरी ओएनएम पास भइसकेपछि थप जनशक्ति पठाइसकिएको सशस्त्र प्रहरी श्रोतले जानकारी दियो।

खलंगामा गण स्थापना भएसँगै त्यहाँ सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र बमलाई पठाइएको छ। छाङरु गुल्मका जिम्मा डीएसपी धिरेन्द्र शाहलाई दिइएको छ।

यी गण र गुल्मका लागि जनशक्ति समेत समायोजन भइसकेको छ।

यसअघि छाङरुमा प्रहरी निरीक्षकको कमाण्डमा टोली बसिरहेको छ। तर अब दार्चुलाकै अरु चार ठाउँमा बीओपी थप्ने तयारी सरकारले गरेको छ। दार्चुलाका सुनसेरा, कौवा, दत्तु र तिंकरमा बीओपी थपिने प्रस्ताव गरिएको छ। यसका लागि बस्ने ठाउँ हेरिरहेको र बस्ने ठाउँको टुंगो लाग्नासाथ बीओपी स्थापना गर्ने सशस्त्रको तयारी छ।

गणमा ६ सय २१ जना र गुल्ममा १ सय ६० जनाको दरबन्दी हुन्छ।

सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले यसअघिको तयारी अनुसार नै गुल्म र गण स्तरोन्नती भइसकेको पुष्टि गरे।

छाङरुमा बस्ने गुल्मले त्यसक्षेत्रका बीओपीको कमाण्ड गर्नेछ।

यसअघि भारतीय सीमा क्षेत्रमा चारवटा बीओपी स्थापना भइसकेका छन्। भारतीय सीमानामा पर्ने लेकमको लाली, मालिकार्जुनको जोलजीवी र व्यासको दुम्लिङमा बोर्डर आउट पोस्ट स्थापना गरिएको छ।

दुम्लिङ, जोलजीवी र लालीमा प्रहरी नायब निरीक्षक (सई)को कमाण्डमा सशस्त्रको टोली छ। छाङरुमा भने प्रहरी निरीक्षकको कमाण्डमा त्यसअघि नै टोली पठाइएको थियो।

दार्चुलाकै कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका क्षेत्रमा भारतले नेपाली भूमि मिचेको छ। मिचिएको आफ्नो भूमि समेटेर सरकारले नक्सा जारी गर्दै निशान छापमा नै समावेश गरिसकेको छ।

त्यस क्षेत्रमा आवतजावत गर्न नेपाली सेनाले सडक निर्माण गरिरहेको छ भने, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि उपस्थिति बढाइएको छ।

छाङरुमा गुल्मका लागि आफ्नै भवन निर्माण गर्ने प्रक्रिया समेत सुरु भइसकेको छ। भवन निर्माणका लागि ११ करोड बजेट विनियोजन भएर टेन्डरको प्रक्रियामा छ।

सञ्चार सेवा विस्तारका लागि समेत प्रक्रिया अगाडि बढिसकेको छ। दार्चुलामा भारतसँग सीमा जोडिएको १२५ किलोमिटर र चीनसँग सीमा जोडिएको २० किलोमिटर क्षेत्र पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .