नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले देश पुनःनिर्माण गर्न इन्जिनियरहरुको काँधमा थप जिम्मेवारी आएको बताएका छन्।
नेपाल इन्जिनियर्स एशोसिएशनको ५७औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले मुलुकमा लामो संघर्षपछि राजनीतिक पूर्वाधार तयार भएको र अव विकास निर्माणका पूर्वाधारमा केन्द्रित हुनुपर्ने बताए। मुलुकको स्रोत साधन परिचालन गरेर सबै विकास निर्माणमा लाग्नुपर्ने उनको भनाइ थियो।
नेता खनालले विकास निर्माणमा इञ्जिनीयरको भूमिका महत्वपूर्ण हुने बताए। कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकार देश निर्माण तथा मुुलुक समृद्धिको यात्रामा अघि बढेको बताए। सरकारको यस अभियानमा इन्जिनियरलगायत प्राविधिकको भूमिका महत्वपूर्ण हुने बताए।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान साकार बनाउन इन्जिनियरको भूमिका महत्वपूर्ण हुने बताए।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाली इन्जिनियर योग्य र सक्षम भएको र उनीहरुलाई आयोजनाका सबै प्रक्रियाको जिम्मेवारी दिनुपर्नेमा जोड दिए। राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टले मुलुकमा अव सुशासन र तीव्र विकासको खाँचो रहेको औँल्याए। आयोगले त्यसका लागि २५ वर्षे दीर्घकालीन सोच र १५औँ आवधिक योजनामा गरेका भौतिक पूर्वाधार योजनाका बारेमा उनले जानकारी गराए।
एशोसियशनका अध्यक्ष त्रिरत्न बज्राचार्यले संस्थाका गतिविधि र मागका बारेमा जानकारी गराए। उनले इन्जिनियर पूर्वाधार विकास नहुने र पूर्वाधार विकासबिना मुलुकको विकास नहुने बताए। कार्यक्रममा इन्जिनियरका विविध क्षेत्रमा उत्कृष्टता हासिल गर्ने इन्जिनियर विन्दुनाथ लोहनी, गुरुप्रसाद शर्मा, विकास श्रेष्ठ, मिङ्मा दोर्जे शेर्पा, चन्द्रलक्ष्मी हाडा र दिपेन्द्र गाौतमलाई सम्मान गरिएको थियो। रासस
Shares
प्रतिक्रिया