ad ad

राजनीति


माथिल्लो कर्णाली परियाेजना नेपालीले नै बनाउन सक्छन्: पौडेल

माथिल्लो कर्णाली परियाेजना नेपालीले नै बनाउन सक्छन्: पौडेल

नेपालखबर
साउन १८, २०७७ आइतबार १६:२१,

राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा सांसद दुर्गा पौडेलले अपर कर्णाली परियोजना नेपालीले नै बनाउनुपर्ने बताएकी छन्। उनले माथिल्लो कर्णाली जस्तो सहज र महत्वपूर्ण परियोजना विदेशीको हातमा सुम्पन नहुनेमा जोड दिइन्।

राष्ट्रिय जनमोर्चासहित १३ पार्टी तथा संघसंस्थाको आयोजनामा आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अपर कर्णाली स्वदेशी क्षमताभित्रको योजना बताइन्।

अपर कर्णाली जलविद्युत परियोजनामा जिएमआरको म्याद एक वर्षअघि नै समाप्त भएको प्रसंगबारे सांसद पौडेलले भनिन्, ‘अपर कर्णालीका लागि विदेशीको मुख ताक्नुपर्ने अवस्था नै थिएन। यो हाम्रो क्षमताभित्रको कुरा हो, त्यसका लागि विदेशीका सामु हात फैलाउनुपर्ने आवश्यकता हिजो पनि थिएन र आज पनि छैन।’
उनले सरकारले नागरिक सेयर आह्वान गरेमा लगानीको समस्या नरहने बताइन्।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले आफूहरूले अपर कर्णाली परियोजनाप्रतिको असहमति विरोधका लागि विरोध मात्रै नभएको बताए।
‘कुनै पनि परियोजना सम्पन्न गर्दा राष्ट्रहितलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ’ प्रवक्ता पुरीले भने ‘माफिया र भ्रष्टलाई पोस्नका लागि कुनै योजना अगाडि सारिनु हुन्न।’

माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानका अध्यक्ष भरत शाहीको अध्यक्षतामा भएको कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव परि थापा, नेपाल कम्युनिस्ट पार्टीका महासचिव लोकनारायण सुवेदी, राष्ट्रिय जागरण परिषदका संयोजक गुणराज लोहनी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङलगायतले अपर कर्णाली विदेशीको हातमा दिन नहुने बताएका थिए।

कार्यक्रममा जलश्रोतविद तथा विज्ञहरू दीपक ज्ञवाली र रतन भण्डारीले जीएमआरको खराब रेकर्ड, विद्युत निर्यातको व्यर्थको सपनाबारे देशलाई सजग गराउनुपर्ने आवश्यकतामा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .