ad ad

राजनीति


आगामी रणनीतिबारे प्रचण्ड-नेपाल अन्यौलमा, ओली पार्टी फुटाउन पनि तयार

आगामी रणनीतिबारे प्रचण्ड-नेपाल अन्यौलमा, ओली पार्टी फुटाउन पनि तयार

नेपालखबर
असार ३०, २०७७ मंगलबार १५:५८,

केपी शर्मा ओलीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुवै पद नछाडे उनलाई कसरी हटाउने भन्ने विषयमा नेकपाको असन्तुष्ट पक्ष अन्यौलमा देखिएको छ।

असन्तुष्ट पक्षका नेतृत्व गरिरहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ओली सहमतिमा नआए कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्न सकिरहेका छैनन्। अर्कोतिर ओली भने पार्टी फुट्ने अवस्थासम्मका लागि तम्तयार देखिएका छन्।

प्रचण्ड र नेपाल पक्षले संवादबाट सहमति नजुटेपछि पार्टीको कुनै कमिटीमा उनी विरुद्ध प्रस्ताव लाने वा संसदीय मोर्चाबाट उनलाई हटाउने भन्ने विषयमा निर्णय लिन सकेका छैनन्।

‘अहिले देखिएको विवादको अन्त्य छलफल र सहमतिबाटै गर्ने हो,’ नेपाल निकट एक स्थायी कमिटी सदस्यले नेपालखबरसँग भने, ‘सहमति नभएको अवस्थामा कसरी जाने भनेर विकल्पमा छलफल सुरु गरेको छैन। तर अहिले देखिएको समस्यालाई चाँडै समाधान गरिनुपर्छ। लामो समय लैजानु हुँदैन भन्ने मात्रै हो।’

पार्टीका सबै कमिटीमा बहुमतमा रहेका प्रचण्ड र नेपाल पक्षले ओली पार्टी र सरकारको नेतृत्व गर्न असफल भएको भन्दै दुवै पदबाट राजीनामा मागेका छन्। तर सो समूहका नेताहरुले कम्तीमा एक जिम्मेवारीबाट ओली हट्नैपर्ने बटमलाइन रहेको बताउँदै आएका छन्।

तर, प्रधानमन्त्री ओली चाहिँ आफ्नो अडान र आगामी कदमबारे प्रस्ट रहेको उनीनिकट नेताहरु बताउँछन्।

‘प्रधानमन्त्रीले कुनै पद छाड्नु हुन्न। अहिले उहाँले प्रचण्डसँग सहमतिका लागि गर्ने भनेको मंसिर ५ को सम्झौताको थप व्याख्या र आवश्यकताअनुसार प्रष्ट पार्ने कुरा हो,’ ओली निकट एक नेताले भने, ‘त्यो कुरा उहाँले प्रचण्डलाई भनिसक्नु भएको छ।’

प्रचण्ड र नेपाल पक्ष पार्टी विभाजनका तहसम्म नपुग्ने ओली पक्षको बुझाइ छ। विभाजनको परिस्थिति आए पनि ओलीले त्यसका लागि मनस्थिति बनाएको ओली निकट ती नेताको भनाइ छ।

पार्टीभित्रको विवाद चर्किंदै जाँदा असार २० गतेको बैठकमा ओली इतर नेताहरुले एक साताभित्र केन्द्रीय कमिटीको बैठक बोलाउने गरी प्रस्ताव ल्याउने तयारी गरेका थिए। तर, दोस्रो पुस्ताका स्थायी कमिटीका ११ सदस्यहरुले यस्तो प्रस्ताव तत्काल ल्याउँदा पार्टी विभाजन हुनसक्ने भन्दै रोकेका थिए। त्यसपछि दुवै पक्ष सहमतिका लागि छलफलमा फर्किएका थिए। तर छलफलमा कुनै प्रगति हुन सकेको छैन। पछिल्लो समयमा पार्टी फुटको सम्भावना टरेको बताइए पनि समाधानको उपाय भने निस्कन सकेको छैन।

ओली र प्रचण्डबीच पटक पटक छलफल भएपनि सहमति जुट्न सकेको छैन। प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने अडान प्रष्टसँग दोहो¥याउँदै आएको ओली निकट नेताहरु बताउँछन्। गत साता ओली र प्रचण्डबीचको बैठक भनाभनमै टुङिगएको थियो। सो तिक्तापूर्ण बैठकपछि प्रचण्ड चितवन गएका थिए। त्यसको एक सातापछि मंगलबार मात्रै दुई अध्यक्षबीच कुराकानी भएको हो। सो छलफलमा पनि कुनै ठोस प्रगति नभएको स्रोतहरुले बताएका छन्।

अध्यक्षको विषयमा पार्टीले कमिटीहरुले निर्णय गर्न सक्ने भएपनि प्रधानमन्त्रीको विषयमा संसदीय दलबाट निर्णय गर्नुपर्ने हुन्छ।

पार्टीले निर्णय गरेर राजीनामा माग गर्दा प्रधानमन्त्री ओलीले त्यसलाई अस्वीकार गरे परिस्थिति झनै गम्भीर हुने बुझाइ दाहाल र नेपाल पक्षको छ।

‘त्यस्तो अवस्थामा पार्टीको साधारण सदस्यबाटै निकाल्नु पर्ने हुन्छ। त्यसले पार्टी विभाजनका लागि प्रधानमन्त्री ओलीलाई कारण दिनेछ,’ नेपाल निकट एक नेताले भने, ‘त्यस्तो हुँदा संसदीय दलको बैठक बोलाउन लगाएर त्यसमा बहुमत सिद्ध गर्न भन्नु पर्ने हुन्छ। तर त्यसले सम्बन्धलाई राम्रो गर्ने छैन। त्यसैले समाधान गर्ने विधि के हो भन्ने विषयमा निश्चित हुन सकेको छैन।’

पछिल्लो पटक बाढी पहिरोको कारण देखाउँदै एक साताका लागि स्थायी कमिटीको बैठक चौथो पटक स्थगित गरिएको थियो।

जसको उद्देश्य दुवै अध्यक्षबीच संवादका लागि थप समय दिने भन्ने थियो। तर यो अवधि दुई अध्यक्षबीच झण्डै संवादहीनताको अवस्थामा बित्यो।

‘नेताहरुबीच जारी छलफलबाटै विन–विनको प्रस्ताव ल्याउने देखेको छु। तर अहिलेसम्मको अवस्था भनेको केपी शर्मा ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्ने पक्षमा हुनुहुन्न,’ पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपालखबरसँग भने, ‘पहिले छलफलमा बस्ने अवस्था समेत थिएन। अहिले वार्तामा बस्न थाल्नु भएको छ। त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ। विवाद मिलाउने भनेको दुवै अध्यक्षबीचको सहमतिले हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .