ad ad

राजनीति


यसरी हुँदैछ नेकपाको विवाद समाधान

यसरी हुँदैछ नेकपाको विवाद समाधान

सागर न्यौपाने
असार १७, २०७७ बुधबार १२:१८,

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका बेला भएका सहमति कार्यान्वयन गरेर सत्तारुढ नेकपामा जारी विवाद समाधानको तयारी भएको छ।

२०७५ जेठ २ गते तत्कालीन एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकतापछि आलोपालो पार्टी र सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए।

जसअनुसार ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका थिए। त्यसआधारमा उनले पाँच वर्षे कार्यकालको आधा समय सरकारको नेतृत्व गरिसकेका छन्।

अब बाँकी समय प्रचण्डलाई सरकारको नेतृत्व दिएर गतिरोध फुकाउने तयारीमा प्रधानमन्त्री ओली रहेको नेकपाका एक स्थायी समिति सदस्यले दाबी गरे।

‘पार्टी फुट्दैन, ओली–प्रचण्डबीच पार्टी एकता गर्दा भएका सहमति कार्यान्वयन गरेर निकास निस्कन्छ,’ ओली र प्रचण्ड दुवैसँग संवादमा रहेका ती नेताले भने।

नेकपाका महासचिव विष्णु पौडेलले पनि सहमतिकै आधारमा जारी गतिरोधको अन्त्य गरिने र पार्टी थप एकताबद्ध हुने दाबी गरे।

‘नेकपामा सहमतिकै आधारमा पार्टी अघि बढ्छ, त्यसको विधि सार्वजनिक गर्दिनँ,’ नेपालखबरसँग पौडेलले भने, ‘सहमतिमा समस्या समाधान हुन्छ। कसैले विग्रह ल्याउने, पार्टी फुटाउने अपेक्षा नगरे हुन्छ, विग्रह ल्याउने चाहना कसैले गरेको छ भने त्यो पूरा हुँदैन।’

महासचिव पौडेलले गतिरोध अन्त्यका लागि दुई अध्यक्षबीच भएका सहमति कार्यान्वयन गराउने संकेत गरे।

‘दुई अध्यक्षबीच पनि सहमति कार्यान्वयन हुन्छ, स्थायी, केन्द्रीय कमिटी सहित सबै सांसदहरु सहमत हुन्छन्। सिङ्गो पार्टी नै सहमत हुन्छ,’ पौडेलले थपे।

एक नेता एक जिम्मेवारी
स्थायी समिति सदस्य युवराज ज्ञवालीले भने ‘एक नेता एक जिम्मेवारी’ लागू गरेर अहिलेको विवाद सल्टाइने तयारी भइरहेको बताए।

‘एक नेता एक जिम्मेवारी लागू गरिन्छ। अब यही बीचमा सहमति खोज्ने हो,’ उनले भने, ‘प्रचण्डजीले आलोपालो सरकार चलाउने कि, अध्यक्ष फेरबदल गर्ने कि, तलदेखि माथिसम्म कुन ढाँचामा जाने भन्ने तय हुन्छ।’

वरिष्ठ नेता माधवकुमार नेपालनिकट ज्ञवालीले व्यक्ति व्यवस्थापन भन्दा विधि तय गरेर प्रणालीगत रुपमा सहमति खोजिने बताए।

‘प्रचण्ड र केपीको मात्रै कुरा होइन नि यो त? सिस्टम करेक्सन गर्ने हो। कसलाई कहाँ राख्नुपर्ने सोही सिस्टमले राख्छ,’ उनले थपे।

जारी विवादकै कारण पार्टी नफुट्ने बरु थप सुधार हुने उनले दाबी गरे।

‘पार्टी फुट्दैन यो पार्टी फुटाएर कसले के पाउँछ? तर, करेक्सन हुन्छ र सच्चिन्छ। पार्टीमा विधान मिचिएको छ। त्यो सुधार हुन्छ,’ उनले भने।

एक सातादेखि जारी स्थायी समितिको बैठकमा नेताहरुले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन ओलीलाई दबाब दिएपछि उनी संकटमा छन्।

बुधबार सुरु भएको बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष प्रचण्डले एमाले र माओवादी केन्द्रबीच एकता गर्दा गरिएको आधा–आधा सरकारको नेतृत्व गर्ने सहमति छोडेर गल्ती गरेको महसुस हुन थालेको बताएका थिए।

आधा–आधा सरकारको नेतृत्व गर्दा अस्थिरता हुनसक्ने भन्दै २०७६ मंसिर ४ गते प्रधानमन्त्री ओलीलाई पाँचै वर्ष सरकार चलाउन दिने प्रचण्डले सहमति गरेका थिए।

सोही सहमतिपछि पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी प्रचण्डले पाएका थिए। तर, पछिल्लो समय पार्टी सञ्चालनको अवसर नपाएपछि उनी असन्तुष्ट छन्।

७ बुँदे एजेन्डा तय गरेर सुरु भएको स्थायी समितिको बैठक अहिले ओलीको राजीनामामा केन्द्रित भएको छ। मंगलबार बोलेका १७ जना स्थायी समिति सदस्यले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन सुझाव दिएका थिए।

अधिकांश नेताबाट राजीनामा माग भएपछि संकटमा परेका ओलीले बुधबार बिहान केही मन्त्री, सांसद तथा केही स्थायी समितिका सदस्यसँग बालुवाटारमा छलफल गरेर सहयोग गर्न आग्रह गरे।

परामर्शका लागि बालुवाटार पुगेका नेताहरुले पनि प्रचण्डसँग संवाद गरेर जारी गतिरोधको अन्त्य गर्न सुझाव दिएका थिए।

पर्यटनमन्त्री समेत रहेका स्थायी समिति सदस्य योगेश भट्टराईले पनि सहमति कार्यान्वयन गरेर जारी गतिरोध हल गर्न सुझाव दिएको बताएका छन्।

बुधबार बसेको स्थायी समिति बैठकमा मध्यमार्गी धारणा राखेका उनले ओली र प्रचण्ड मिलेर जानुपर्ने बताए।

‘विमानलाई पाइलटले सफल उडान गर्न सकेन भने उसको लाइसेन्स खारेज गर्नुपर्छ। तर हाम्रा २ अध्यक्षले राम्रैसँग हाँक्नुभएको छ। लाइसेन्स खारेज गर्नै पर्दैन,’ भट्टराईले बैठकमा भने, ‘एकले अर्काेको राजीनामाको कुरा गर्नुभन्दा पनि दुवै अध्यक्ष र मुख्य नेता मिलेर पार्टीको समस्या समाधान गर्नुपर्छ, हामी पछाडि फर्किन सक्ने स्थिति छैन।’

अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि प्रचण्डसँगको यसअघिको आलोपालो सहमति कार्यान्वयन गर्ने मुडमा रहेको उनी निकट एक नेताले बताए।

स्थायी समिति सदस्य सत्यनारायण मण्डलले ओली र प्रचण्ड मिल्नुको विकल्प नभएको बताए।

‘ओली–प्रचण्ड मिल्नुको विकल्प छैन, यसअघि भएका सहमति कार्यान्वयन गरेर जानुपर्छ’, मण्डलले भने।

बुधबार पनि मागियो प्रधानमन्त्रीको राजीनामा
बुधबारको स्थायी समिति बैठकमा ५ जना बोलेका थिए।

मात्रिका यादवले सरकार र पार्टी नेतृत्व छोडेर मार्ग प्रशस्त गर्न ओलीलाई सुझाव दिए भने लीलामणि पोखरेलले प्रधानमन्त्री ओलीको सरकार ढाल्न भारत सक्रिय रहेको भन्ने भनाइको प्रमाण माग गरेका थिए।

‘तपाईंसँग प्रमाण छ भने बैठकमा राख्नुस् न,’ पोखरेलले बैठकमा भने, ‘यदि सो कुरा प्रमाणित गर्नुभएन भने अध्यक्ष र प्रधानमन्त्री कुर्सीमा बसेर त्यसो बोल्न कसरी सुहाउला?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .