ad ad

राजनीति


बालुवाटारमा ओली–दाहाल छलफल: संगठन विभाग प्रमुख टुंग्याउन कसरत

बालुवाटारमा ओली–दाहाल छलफल: संगठन विभाग प्रमुख टुंग्याउन कसरत

मणि दाहाल
असार ३०, २०७६ सोमबार १३:३८,

संगठन विभाग प्रमुखसहित पार्टी एकीकरणका बाँकी विषय सुल्झाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच सोमबार छलफल भएको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको हो। 

बैठकमा जिल्ला इन्चार्ज, विशेष प्रदेश कमिटीका पदाधिकारी, जिल्ला समिति, केन्द्रका आयोग तथा विभागहरु गठनको विषयलाई अन्तिम रुप दिनेबारेमा छलफल भएको छ। नेकपाका महासचिव विष्णु पौडेलले केही दिनभित्रै सचिवालय बैठक बसेर एकीकरणलाई अन्तिम रुप दिन गृह कार्य भइरहेको बताए। 

‘एकीकरणका बाँकी कामलाई अन्तिम रुप दिनका लागि सघन रुपमा गृहकार्य भइरहेको छ। यसमा हामी अन्तिम चरणमा रहेका छौं,’ महासचिव पौडेलले नेपालखबरसँग भने ‘एक दुई दिनभित्रै सचिवालयको बैठक बसेर पार्टी एकीकरणको विषयलाई अन्तिम रुपमा दिन्छौं।’

दुवै अध्यक्षहरुबीच संगठनात्मक एकीकरणलाई अन्तिम रुप दिने विषयमा केही दिनदेखि निरन्तर छलफल भइरहेको छ। तर सो विषयमा सहमति जुट्न सकिरहेको छैन। पार्टी सञ्चालनमा महत्वपूर्ण भूमिका रहने विभाग, आयोग गठन हुन सकेका छैनन्। 

केही अघि अध्यक्षद्वय ओली र दाहालबीच जिल्ला इन्चार्ज तोक्दा पुरानै जिल्ला इन्चार्जलाई जिम्मेवारी दिने सहमति भएको छ।

त्यसमा पनि पार्टीभित्र सह इन्चार्ज कति जना बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन। यसअघिको बैठकमा महासचिव पौडेलले एकभन्दा बढी जिल्ला सह इन्चार्ज बनाउने विषयमा प्रस्ताव गरेका थिए। त्यस विषयमा सहमति बन्न सकेको छैन।

‘ठूलो जिल्लामा एक भन्दा बढी सह इन्चार्जको जिम्मेवारी दिने विषयमा सहमति बन्न सक्छ तर धेरै सह इन्चार्जका हुँदा ल्याउन सक्ने द्वन्द्वलाई समेत छलफल भएको छ,’ नेकपा स्रोतले भन्यो।
शुरुमा एक निर्वाचन क्षेत्रमा एक जना सह इन्चार्ज हुने गरी जिम्मेवारी दिने विषय आएको थियो। नेकपामा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ।

जिम्मेवारी बाँडफाँट हुँदा सबैलाई भूमिका जिम्मेवारी दिनुपर्ने हुन्छ। केन्द्रमा बस्ने नेताहरुलाई भूगोलमा खटाउनका लागि पनि बढी सह इन्चार्ज तोक्नु पर्ने आवश्यकता रहेको यो प्रस्ताव गर्ने पक्षले तर्क गर्दै आएका छन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण हुँदा तीन महिनाभित्र एकीकरण सक्ने योजना थियो। पार्टी एकीकरण भएको १५ महिना भइसक्दा पनि संगठनात्मक एकीकरण टुंगो लाग्न नसकेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .