ad ad

राजनीति


नाकाबन्दीकाे पीडामा नेपाललाई सघाउने बंगलादेशी शासक एर्साद रहेनन्

नाकाबन्दीकाे पीडामा नेपाललाई सघाउने बंगलादेशी शासक एर्साद रहेनन्

मणि दाहाल
असार २९, २०७६ आइतबार १३:५१,

 नेपालसँग राम्रो सम्बन्ध रहेका बंगालदेशका पूर्व सैनिक शासक हुसैन मोहम्मद एर्सादको निधन भएको छ। बंगलादेशी सञ्चार माध्यमहरुले एर्सादको ८९ वर्षको उमेरमा निधन भएको बताएका छन्। भारतले २०४६ मा नेपालविरुद्ध नाकाबन्दी लगाएको समयमा एर्सादले नेपाललाई सहयोग गरेका थिए।

बंगलादेशका लागि नेपालका तत्कालीन राजदूत मोहनप्रसाद लोहनीले भारतीय नाकाबन्दीका कारणा नेपाल आफ्ठ्यारोमा परेको भन्दै एर्सादले आवश्यक सहयोग गरेको स्मरण गरे।

‘भारतको छिमेकी भए पनि नेपालजस्तै भारतसँग बंगलादेशका गुनासो रहँदै आएको छ। एर्सादले भारत र छिमेकी देशबीचका सम्बन्धबारेमा राम्रोसँग बुझ्नु भएको थियो’ लोहनीले नेपालखबरसँग भने, ‘नब्बेको नाकाबन्दीको समयमा एर्सादले नेपालले चाहेको जति सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।’

भारतले वाणिज्य तथा पारवहन सन्धि नवीकरण नगरी नेपालमाथि नाकाबन्दी गरेको थियो। ‘बंगलादेशले जति सहयोग गरेको भए पनि हामीले सबै नेपाल ल्याउन सकेनौं’ लोहनीले भने, ‘प्रधानमन्त्री मरिचमान सिंहले राति साढे १० बजे फोन गर्नु भएको थियो। त्यस लगत्तै मैले एर्सादका सचिवलाई फोन गरेँ। १० मिनेटमै नेपाललाई अहिले अठ्फ्यारोमा परेको भन्दै आवश्यक भए जति सहयोग गर्न एर्सादबाट निर्देशन भएको जानकारी आएको थियो।’

त्यो बेला नेपालले बंगलादेशसँग पेट्रोल, डिजेल, मट्टितेल र चीनी मागेको थियो। ट्याङ्कर नभएकाले नेपालले हवाई जहाजबाट एक पटक मट्टितेल ल्यायो। महँगो परेको भन्दै अन्य कुरा ल्याएन।

एर्सादका जन्म सन् १९३० फ्रेबुअरी १ मा तत्कालीन ब्रिटिस शासन अन्तर्गतको कुच बिहारमा भएको थियो। सन् १९५० मा सेनामा भर्ना भएको उनी सन् १९८२ मा निर्वाचित सरकारलाई अपदस्थ गरेर सैनिक शासक बनेका थिए। सन् १९८८ सम्म बंगलादेश धर्म निरपेक्षा मुलुक थियो। उनले मुस्लिम राष्ट्र घोषणा गरिदिएका थिए। अहिले पनि बंगलादेश मुस्लिम मुलुक हो।

विद्यार्थी आन्दोलन चर्किदै गएपछि एर्सादलाई सेनाले साथ दिएन। विद्यार्थी आन्दोलनले १९९१ मा उनलाई अपदस्थ गर्यो।

बंगलादेशका बेगाम खालिदा जियाका बंगलादेश नेश्नलिस्ट पार्टी(बिएनपी) र हालकी प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल निकट विद्यार्थीको गठनबन्धन बनाएर एर्सादलाई घुँडा टेकाएका थिए। ‘पहिले दुवै पक्षबीच निकै मारामार हुन्थ्यो। दुवै मिलेरपछि बंगलादेशमा परिवर्तन भयो,’ लोहनीले भने। सत्याच्युत हुने वित्तिकै एर्साद जेल परेका थिए।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को स्थापना गर्न एर्सादका महत्वपूर्ण भूमिका मानिन्छ। पहिलो सार्क शिखर सम्मेलन पनि एर्सादकै अध्यक्षतामा ढाकामा भएको थियो। बंगलादेशकै एर्सादअघि राष्ट्रपति रहेका जिया उर रहमानले सार्कको अवधारणालाई अघि बढाएका थिए।

सैनिक शासक भए पनि उनीहरुसँग भेट्नेहरु एर्सादलाई भद्र व्यक्तिको रुपमा लिन्छन्।

पूर्व परराष्ट्र सचिव मदन भट्टराई नेपालको दरवार मात्रै नभएर जनतास्तरसँग उनको सम्बन्ध रहेको बताउँछन्। ‘एर्साद काठमाडौंमा आइरहनु हुन्थ्यो। राजदरवारसँग उहाँको राम्रो सम्बन्ध रहेको थियो’ भट्टराईले नेपालखबरसँग भने, ‘ढाकामा नेपाली दुतावास नजिकै उहाँका निवास थियो। नियमित जस्तै भेट हुन्थ्यो। भद्र नेताको रुपमा रहनु भएको थियो। नेपालीहरुसँग राम्रो सम्बन्ध रहेको थियो।’

भट्टराई तत्कालिन अवस्थामा बंगलादेशस्थित नेपाली दुतावासमा कार्यरत थिए।

पूर्व राजदूत लोहनीले एर्सादकै समयमा नेपाली विद्यार्थीलाई बंगलादेशमा छात्रवृत्तिकै व्यवस्था भएको बताउँछन्। एर्साद नेतृत्वको जातीय पार्टीले सन् २०१९ को निर्वाचनमा २२ सिट जितेको छ। परम्परागत मानिने सो पार्टीका एर्सद मृत्युपर्यन्त अध्यक्ष थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .