ad ad

राजनीति


कांग्रेसद्वारा १२० स्थानबाट सरकारलाई विशेष ज्ञापनपत्र

कांग्रेसद्वारा १२० स्थानबाट सरकारलाई विशेष ज्ञापनपत्र

नेपालखबर
असार २, २०७७ मंगलबार १५:३५,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण महामारी विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, भ्रष्टाचार र गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध आज स्वदेश र विदेशका १२० स्थानबाट प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बुझाएको छ।

प्रतिकुल परिस्थितिमा पनि कांग्रेसले कोरोना विरुद्धको संघर्षमा समस्त नेपाली जनताको असन्तुष्टि, सुझाव र आग्रहलाई सरकार एवं प्रधानमन्त्री समक्ष प्रस्तुत गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसले सामाजिक दुरी कायम गर्दै संघीय संसद्, संसदीय दलको तर्फबाट प्रधानमन्त्री समक्ष, कांग्रेस प्रदेशसभा संसदीय दलको तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुमा प्रदेश सरकारको मुख्यमन्त्री समक्ष र संघीय सरकारसँग सम्बन्धित विषयवस्तुमा प्रदेश सरकारका मुख्यमन्त्रीमार्फत् प्रधानमन्त्री समक्ष विशेष ज्ञापन पत्र बुझाएको हो। यसैगरी कांग्रेसका ७७ वटै जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीसमक्ष, विदेशस्थित नेपाली जनसम्पर्क समितिको तर्फबाट नेपाली दूतावासमार्फत् प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको मुख्यसचिव पौडेलले बताए।

कोरोनाका कारण विकराल बन्दै गएको परिस्थिति बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै बुझाइएको विशेष ज्ञापनपत्रमार्फत आरडिटी परीक्षण तत्काल रोकेर पीसीआर परीक्षणको दायरा व्यापक बढाइनुपर्ने, स्वास्थ सामग्रीको अपर्याप्तस्थिति तत्काल अन्त्य गरेर अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्थापन गरिनुपर्ने माग गरिएको छ।

यसैगरी क्वारेन्टिनमा मृत्युदेखि बलात्कारसम्मको घटनालाई गम्भीरतापूर्वक लिएर दोषीलाई कारवाही गर्दै तत्काल देशव्यापी रूपमा क्वारेन्टिनहरुलाई मापदण्डयुक्त बनाइनुपर्ने, श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका व्यक्ति र एकल महिलाका लागि विशेष राहत प्रबन्ध गरिनुपर्ने कांग्रेसले माग गरेको छ।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने क्रममा निर्धारित अत्यन्तै महंगो हवाई भाडा फिर्ता लिइ खर्च हाल्न नसक्ने स्थितिमा पुगेका श्रमिकलाई निःशुल्क उद्धार गर्नुपर्ने, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारका दोषीलाई कारवाही र यस बीचमा भएको भनिएको दश अर्ब रकमको हिसाब सार्वजनिक गरिनुपर्ने ज्ञापन पत्रमा माग गरिएको छ।

लकडाउनका कारण बन्द विद्यार्थीको पठनपाठन सुचारु गर्न राष्ट्रिय विमर्श साथ उनीहरुको शैक्षिक भविष्य सुरक्षाका लागि विशेष कार्य योजना यथाशिघ्र निर्माण गरिनुपर्ने, खेतीको मौसमलाई ध्यानमा राखेर कृषि उत्पादनका सम्बन्धमा मल, बीउदेखि आवश्यक प्रोत्साहन सम्मको, समन्वयमा सम्बन्धित निकायहरुले तीब्र रुपले कार्य गर्नुपर्ने, साना–ठूला व्यवसायीले भोग्नु परेको आर्थिक चुनौती सामना गर्न आवश्यक राहत योजना निर्माण गर्दै लकडाउन खुलेपछि मात्रै कर तिर्ने सहुलियतपूर्ण व्यवस्थापन गरिनुपर्ने र औद्योगिक उत्पादनमा सरिक श्रमिकदेखि श्रमजीवी पत्रकारसम्मको रोजगार सुरक्षा गर्दै, मिडिया हाउससम्मलाई राहत योजना ल्याइनुपर्ने कांग्रेसको माग छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .