कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार वटा पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ।
निर्देशक समितिको आज सम्पन्न बैठकले पीसीआर मेसिन सञ्चालनमा रहेको जनकपुर, वीरगञ्ज र राजविराजको ल्याबमा एउटा–एउटा र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब सेटअप गर्ने गरी चारवटा पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको हो।
समितिले परीक्षण तथा उपचारको लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ।
यसै गरि समितिले प्रदेशमा कोरोना परीक्षणलाई तीब्रता दिन थप ५० हजार भिटिएम खरिद गर्ने निर्णय गरेको छ। यसको साथै परीक्षणमा प्रयोग हुने रिएजेन्ट लगायतका सामग्री समेत खरिद गर्न समितिले समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ।
निर्देशक समितिले तेस्रो मुलुकबाट आउने नागरिकलाई प्रदेश प्रवेश विन्दुमा नेपाली सेनाले होल्डिङ एरिया बनाई व्यवस्थापन गर्ने र काठमाडौं देखी तोकिएको क्वारेन्टिनसम्म जाँदाको खाना, खाजा आदी खर्च प्रदेश सरकारले तीर्ने निर्णय गरेको छ।
प्रदेश सरकारले स्वदेश आउन चाहने नागरिकहरुको समन्वय र सहयोग गर्ने जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई दिएको छ।
लकडाउनको कार्यान्वयन तथा व्यवस्थापनका लागि स्थानीय तह, स्थानीय प्रशासन र निजी क्षेत्रका संघ संस्थाहरुको सहकार्य आवश्यक रणनीति लागु गर्ने निर्णय समेत गरिएको।
यस अघि आजै बिहान सम्पन्न पीसीएमसीको बैठकले दिएको सुझावको आधारमा निर्देशन समितिले यस्तो निर्णयहरु गरेका छन्।
प्रतिक्रिया