राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले संविधान संशोधन प्रस्ताव दर्ता गराउन खोजेकोमा संसद सचिवालयले अस्वीकार गरेको छ।
राजपा नेपालका नेताहरुले संविधानका विभिन्न ९ बुँदामा संशोधन दर्ता गर्न चाहेकोमा संसद सचिवालयले सभामुखसँग परामर्श नगरी सो प्रस्ताव दर्ता गर्न नसकिने बताएकाे हाे।
राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, अनिल झा लगायतका नेता संविधान संशोधन प्रस्ताव दर्ता गर्न शुक्रबार संसद सचिवालय सिंहदरबार पुगेका थिए।
राजपा नेपालका महासचिव केशव झाका अनुसार उनीहरुले भाषा, नागरिकता लगायत ९ वटा प्रावधानमा संविधान संशोधन दर्ता गर्न चाहेका हुन्।
तर, संसद सचिवालयका महासचिव भरत गौतमले सो प्रस्ताव तत्काल दर्ता गर्न नसकिने बताएका थिए।
‘उहाँले हामीलाई पर्सी (आइतबार) आउनुस्, हामी सभामुखसँग परामर्श गर्छौं भन्नुभयो। संशोधन दर्ता गर्ने–नगर्ने विषयमा महासचिवले सभामुखसँग परामर्श गर्नुपर्ने विषय होइन,’ झाले नेपालखबरसँग भने।
संविधान संशोधन विधेयक सरकारले मात्र ल्याउने र नीजि विधेयकमार्फत् संविधान संशोधन गर्न नमिल्ने हुँदा त्यो अस्वीकार गरिएको संसद सचिवालय स्रोतले बतायो।
प्रतिक्रिया