स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पहिलेको भन्दा अलि फरक नीति अवलम्बन गरेको बताएका छन्। सोमबार चीन सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण समारोहमा बोल्दै मन्त्री ढकालले पहिला कोरोना नेपालमै प्रवेश गर्न नदिने नीति अख्तियार गरेको भए पनि अहिले विस्तार हुन नदिने नीति अबलम्बन गरिएको बताए। उनले भने, ‘पहिले प्रवेश गर्न नदिने नीतिमा थियौँ, अहिले हामी यसको विस्तार सीमित गराउने अभियानमा लागेका छौँ।’
मन्त्री ढकालले मावनीय क्षति विना नै कोरोना रोकथाम र नियन्त्रणका लागि प्रयास भैरहेको उल्लेख गरे। स्वास्थ्य सामग्री र अनुभव दुवैको अभावका बीचमा पनि राम्रो प्रयास भैरहेको भन्दै मन्त्री ढकालले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको प्रशंशा गरे। उनले कोरोना नियन्त्रणका लागि चीनले अवलम्बन गरेका नीति र बाटोलाइ विश्वका जुनजुन राष्ट्रले अनुशरण गरे उनीहरूले जोखिम निन्त्रयणका लागि महत्वपूर्ण शिक्षा प्राप्त गरेको बताए। उनले चीनका तर्फबाट विभिन्न मोडलमा भैरहेको चिकित्सकीय छलफल र अन्तरक्रियाले पनि नेपालमा कोरोना रोकथामका लागि महत्वपूर्ण काम गरेको बताए।
मन्त्री ढकालले अभावको समयमा चीनले अत्यावश्यकीय स्वास्थ्य सामग्री अझै उन्नतस्तरमा पठाएर धेरै राम्रो सहयोग गरेको बताए। उनले नेपाल र चीनको मित्रता महत्वपूर्ण रहेको भन्दै हिजोका दिनमा चीनमा दुःख पर्दा नेपालले पनि सहयोग गरेको भन्दै एकअर्कालाइ सहयोग गरेर अघि बढिएको बताए
सो अवसरमा नेपालका लागि चिनयाँ राजदूत हौ यान छीले कोरोना भाइरसँग लड्न नेपाललाइ सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरिन्। उनले केही महिना पहिला चीनलाई संकट पर्दा नेपालले सहयोग गरेको उल्लेख गर्दै चीन संकटमा सदैव नेपालको साथमा रहने प्रतिबद्धता जनाइन्।
चीनले नेपाललाई दिएका स्वाथ्य सामग्रीमा ४० हजार पीसीआर टेस्ट कीट, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख, पिपइ सेट १० हजार थान रहेका छन्। यसअघि पनि चीनको विभिन्न प्रान्तीय सरकार र विभिन्न संस्थाले पनि स्वास्थ्य समाग्री हस्तान्तरण गरेका थिए।
Shares
प्रतिक्रिया