ad ad

राजनीति


चीनबाट आउने कोरोना परीक्षण किट हवाई मार्गबाटै ल्याउने तयारी

चीनबाट आउने कोरोना परीक्षण किट हवाई मार्गबाटै ल्याउने तयारी

देवराज सुवेदी
चैत १५, २०७६ शनिबार १५:१४,

तातोपानी नाका हुँदै आउने भनिएको कोरोना परीक्षण किट हवाई मार्गबाटै काठमाडौँ ल्याइने भएको छ। स्थलमार्गबाट आउँदा ढिला र अन्य समस्या हुने भएपछि तातोपानी नभई हवाइमार्गबाटै सीधै काठमाडौं आउने तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ।

नाका भने केही दिनभित्रै पुनःसञ्चालन हुने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए। कोरोना परीक्षणका लागि चीन सरकारले सहयोग गर्ने घोषणा गरेपछि सरकारले बन्द तातोपानी र रसुवा नाका सञ्चालन गरेर अति आवश्यक सामग्री ल्याउने निर्णय गरेको थियो।

भोटेकोशीमा अन्तरराष्ट्रिय मापदण्डको ‘हेल्थ डेस्क’
कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिइरहेकाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा अन्तरराष्ट्रिय मापदण्डको ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइने भएको छ। जनप्रतिनिधिको आज बसेको बैठकले विश्व स्वास्थ्य संगठनको मापदण्डनुरुप स्वास्थ्य कक्ष स्थापना गर्ने निर्णय गरेको हो। बैठकले औषधि तथा अत्यावश्यक सामग्री यथाशीघ्र आयात गर्ने पनि निर्णय गरेको छ।

गाउँपालिकामा कोही कसैलाई कोरोना भाइरससँग मिल्दो लक्षण देखिएमा झिर्पुमा स्थापित केन्द्रमा राखिने र संक्रमण बढेमा धुलिखेल अस्पताल पठाइने पालिकाले निर्णय गरेको छ।

‘गाउँ कार्यपालिका र व्यवसायीसँग छलफल गरी थप सुरक्षा सावधानीको व्यवस्था मिलाउँदै छौँ,’ गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भने, ‘डब्लुएचओको मापदण्डअनुसार हेल्थ डेस्क सञ्चालन गरी नाका सञ्चालन गर्ने हाम्रो प्रयत्न छ।’

सुरक्षा सावधानी अपनाएर नाकाको काम हुने उनले बताए।

कोषमा सांसद तामाङबाट एक महिनाको तलब
संघीय सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले आफ्नो जन्मदिनका अवसरमा नेपाल सरकारले स्थापना गरेको कोरोना सुरक्षा आकस्मिक कोषमा एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालबाट उनले यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधिसभामाका सदस्य तामाङले विपद्का समयमा सबै एक भएर उभिन अनुरोध गरेका छन्। सबै जनतालाई सुरक्षित रहन र घर घरमा बसेर सहयोग गर्नसमेत उनले आग्रह गरेका छन्।

आइसोलेशनमा उपचाररतको स्वाब संकलन
कोभिड–१९ को लक्षणसँग मिल्ने सुख्खा रुघाखोकी र ज्वरो देखिएपछि आइसोलेशन वार्डमा उपचाररत तीन जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ।

बाह्रबीसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रके वार्डमा उपचाररत उनीहरुको आज स्वाबको नमूना संकलन गरी परीक्षणका लागि राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .