ad ad

राजनीति


स्वास्थ्य मन्त्रालय भन्छः कोरोना संक्रमित अझै थपिने सम्भावना छ

स्वास्थ्य मन्त्रालय भन्छः कोरोना संक्रमित अझै थपिने सम्भावना छ

नेपालखबर
चैत १२, २०७६ बुधबार १४:७,

थप एक जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो रोकथामका लागि थप रणनीति अपनाउने भएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा परीक्षण क्रममा विदेशबाट आएका नेपाली युवामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिले अपनाइएको रणनीतिलाई थप मजबुत बनाउने बताएका हुन्।

खाडी मुलुकबाट आएका धादिङका एक युवकमा आज बुधबार र यसअघि फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षीया युवतीमा सोमबार कोभिड-१९ पोजिटिभ देखिएको हो। उनीहरू दुवैको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।

यसअघि चीनबाट आएका एक नेपालीमा यो संक्रमण देखिए पनि उपचारपछि उनी निको भइसकेका छन्।

‘हिजोसम्म एउटा मात्र केस थियो। उहाँलाई हामीले निको बनाएर पठाएका थियौं तर अहिले लगातार थप दुईवटा केस देखिन थालेपछि अब हामीले केही रणनीति बनाउनुपर्ने हुन्छ,’ प्रवक्ता देवकोटाले भने।

उनका अनुसार पहिलो रणनीतिमा अहिले बाहिरबाट मानिसलाई अत्यन्त व्यवस्थित गरेर होम क्वारेन्टिइनमा राख्ने र त्यसबाट अरूलाई सार्न नदिने तथा क्वारेन्टिइनमा बसेकालाई केही समस्या परेमा तिनको उपचार सरकारले गर्नेछ।

प्रवक्ता देवकोटाले विदेशबाट आएका सबैको परीक्षण गर्न जरुरी नभएको भन्दै सबै आआफ्ना घरमा बसे भने संक्रमण फैलिन नपाउने बताए।

‘विदेशबाट आएका सबै न संक्रमित हुनुहुन्छ न त नमुना परीक्षण जरुरी छ। उनीहरू आफ्नै घरमा एक्लै बसुन् भनेर लकडाउन गरिएको हो,’ उनले भने, ‘विदेशबाट आएकाको लक्षण देखियो भने आइसोलेसनमा राखेर परीक्षण गर्ने हो।’

उनले अझै पनि कोभिड-१९ पोजिटिभ देखिन सक्ने बताए। ‘कोभिड–१९ पाजिटिभ देखिन सक्छ भनेर नै हामी तयारी अवस्थामा बस्न लकडाउन गरिएको हो। देखिएकालाई सरकारले उपचार गर्ने र बाँकी घरघरमा बस्ने हो,’ उनले भने।

कोभिड-१९ पोजिटिभ बढ्दै गए भने अस्पतालमा तयारीलाई तीव्रता दिइने बताउँदै डा देवकोटाले अस्पतालमा सघन उपचार कक्ष थप गरेर संक्रमितको उपचार गरिने जानकारी दिए।

उनका अनुसार अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा थप १० सघन उपचार कक्ष निर्माण सुरु गरिएको छ।

यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एउटा भवनमा र बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पताललाई पनि छुट्टै कोरोनाका बिरामी राख्न अस्पताल बनाउन थालिएकाले अहिले देखिएका समस्या समाधान गर्न सकिने उनको दाबी छ।

एनका अनुसार अहिलेको शुक्रराज अस्पतालमा एक हप्तामा ४ हजार जनाको नमुना परीक्षण गर्न सक्ने क्षमता छ। सरकारले खरिपाटीमा एक हजार शय्या निर्माण गर्ने निर्णयको कार्यान्वयन हुँदै छ।

निजी अस्पताल पनि छुट्टै भवन दिन सक्ने बनाउन मन्त्रालयले चिठी पठाएकाले बिरामी राख्न समस्या नहुने उनकाे भनाइ छ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोरोना भाइरस रोकथाम गर्न केही चुनौतीसमेत रहेको बताए। 

कतिपय अस्पतालले बिरामीको नमूना नै परीक्षण नगरी रिफर गर्ने गरेकाले केही चुनौती थपिएको उनको धारणा छ।

‘यदि सम्भावित संक्रमित हो भने आइसोलेसनमा राख्नुपर्छ,’ उनले भने, ‘तर अस्पतालले आइसोलेसनमा नराखेर रिफर गर्ने गरेका छन्। त्यस्तो गर्न मिल्दैन। अस्पतालको आफ्नै आइसोलेसन वार्डमा बिरामी राख्नुपर्छ।’

मन्त्रालयको तथ्यांकअनुसा अहिलेसम्म नेपालमा ६८७ जनाको कोभिड-१९ परीक्षण भएकामा ६८४ मा नेगेटिभ तथा तीन जनामा पोजिटिभ देखिएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .