ad ad

राजनीति


यी हुन् राप्रपाले खुला प्रतिस्पर्धाबाट छानेका ४० मुनिका २० केन्द्रीय सदस्य

रवीन्द्र मिश्रको अवधारणामा सांसद, डाक्टर, इन्जिनियरदेखि मिस नेपालसम्म छानिए
यी हुन् राप्रपाले खुला प्रतिस्पर्धाबाट छानेका ४० मुनिका २० केन्द्रीय सदस्य

गीता चिमोरिया
असोज २, २०८१ बुधबार २०:४८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले खुला प्रतिस्पर्धाबाट ४० वर्षमुनिका २० जना केन्द्रीय सदस्य छनौट गरेको छ। केन्द्रीय सदस्यहरूलाई आज पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमाणपत्र प्रदान गरेका छन्।

यसरी खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यको छनोट नेपालमा राजनीतिक दलले अपनाएको संभवतः एउटा नयाँ अवधारणा हो। र, राप्रपाले खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य छान्ने आफू पहिलो दल भएको दाबी गरेको छ।

विभिन्न प्रक्रिया पूरा गरेर २० जना युवालाई केन्द्रीय सदस्य छनौट गर्न ९ महिना लागेको संघीय सांसद समेत रहेका राप्रपाका वरिष्ठ नेता (उपाध्यक्ष) ध्रुवबहादुर प्रधानले जानकारी दिए। छनौट समितिका संयोजक प्रधानका अनुसार छानिएका २० केन्द्रीय सदस्यमध्ये करिब ५० प्रतिशत सक्रिय राजनीतिभन्दा बाहिरका छन्।

राप्रपाले जब आवेदन माग गर्‍यो 
राप्रपा भन्नेबित्तिकै अधिकांशले पुरानो विचार र बुढाहरूको पार्टीका रुपमा चिन्दछन्। २०७८ को महाधिवेशनबाट राप्रपाले नेतृत्व परिवर्तन गर्‍यो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपा रुपान्तरणको खाँचो महसुस हुँदै गर्दा पार्टीले राष्ट्रिय राजनीतिमा फरक ढंगले अगाडि बढ्न ‘नवीन राप्रपा कार्ययोजना’ ल्यायो। रवीन्द्र मिश्रको पहलमा यो कार्यक्रम अघि सारिएको हो।

पार्टीलाई फरक ढंगले अगाडि लैजानका लागि नवीन राप्रपा कार्यक्रम अन्तरगत के–के गर्ने भनेर व्यापक छलफल भयो। पार्टीको केन्द्रीय समितिका सदस्यलाई वडा तहसम्म खटाएर राप्रपाले भूगोल केन्द्रित कार्ययोजना सम्पन्न गर्‍यो।

२०८० मंसिरमा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको केन्द्रीय कार्यसमितिमा ४० वर्षमुनिका २० जना थप्ने र भइरहेका केन्द्रीय सदस्य मध्येबाट ४० वर्षमुनिकालाई केन्द्रीय कार्यसम्पादन समितिमा पनि लैजाने भन्ने निर्णय गर्‍यो। कार्यसम्पादन समितिको निर्णयलाई केन्द्रले अनुमोदन गरेपछि राप्रपाले केन्द्रीय सदस्यका लागि आवेदन माग गर्‍यो।

पार्टीको नीति, विचार र सिद्धान्तसँग सहमत हुने पार्टीभित्रैका र बाहिरकाले पनि आवेदन दिन पाउने भनिएको थियो। जसमा ४ सय ८६ जनाले आवेदन दिएका थिए। संघीय सांसद ध्रुवबहादुर प्रधानको संयोजकत्वमा गठित छनौट समितिले आवेदन आएकामध्येबाट विभिन्न चरण पार गर्दै २० जनालाई केन्द्रीय सदस्यमा छनौट गरेको हो। छनौट भएका २० केन्द्रीय सदस्यमा १० महिला र १० जना पुरुष छन्। हाल राप्रपामा ३०५ जना केन्द्रीय सदस्य छन्।

यी हुन् ४० वर्ष मुनिका २० केन्द्रीय सदस्य :

पुरुषतर्फ   
१) अशोक सिंह सम्राट (मार्मा, दार्चुला, सुदूरपश्चिम प्रदेश) 
२) लोकेन्द्र कुँवर (कैलाली, सुदूरपश्चिम प्रदेश) 
३) विनोद श्रेष्ठ (काठमाडौँ, बागमती प्रदेश) 
४) अरुण गिरी (कास्की, गण्डकी प्रदेश) 
५) ई. गोपीकृष्ण चौँलागाईं (सिन्धुपाल्चोक, बागमती प्रदेश) 
६) शिवकुमार चौधरी (दाङ, लुम्बिनी प्रदेश) 
७) रविकिरण हमाल (सुर्खेत, कर्णाली प्रदेश)
८) नवतीतकुमार मिश्र (नवलपरासी पश्चिम) 
९) समीर शर्मा (काठमाडौँ, बागमती प्रदेश)
१०) डा. डेभिड थापा (कोसी, हाल यूके)

महिलातर्फ 
१) बिना लामा (धादिङ, बागमती प्रदेश)
२) वीना जैसवाल (पर्सा, मधेस प्रदेश)
३) लक्ष्मी (नानी) थापा (सिन्धुपाल्चोक, बागमती प्रदेश)
४) नाजिया खातुन मियाँ (सुनसरी, कोसी प्रदेश)
५) सजिना कार्की (ललितपुर, बागमती प्रदेश)
६) अनिशा नेपाली (सल्यान, कर्णाली प्रदेश)
७) रेजिना श्रेष्ठ (तनहुँ, गण्डकी प्रदेश)
८) दीपा श्रेष्ठ (काभ्रे, बागमती प्रदेश) 
९) आश्मा कुमारी के.सी. (काठमाडौँ, बागमती प्रदेश) 
१०) तारा जैसी (हुम्ला, कर्णाली प्रदेश)

तीनजना संघीय सांसद 
छनौट भएका केन्द्रीय सदस्यमा तीन जना संघीय सांसद छन्। धादिङबाट प्रतिनिधि सभा सदस्य विना लामा, सल्यानबाट प्रतिनिधित्व गर्ने अनिशा नेपाली र पर्साबाट प्रतिनिधित्व गर्ने वीना जैसवाल केन्द्रीय सदस्य छनौट भएका हुन्। २०७९ को निर्वाचनमा तीनैजना समानुपातिक प्रणालीबाट सांसद भएका थिए।

गाउँपालिका उपाध्यक्ष हुँदै संघीय सांसद भएकी लामा  
औपचारिक रुपमा २०७३ सालबाट राप्रपाको सक्रिय राजनीति सुरु गरेकी धादिङ रुबीभ्यालीकी विना लामा पार्टीका कार्यक्रम तथा अन्य गतिविधिहरूमा भने निकै पहिलेदेखि नै सहभागी हुने गर्थिन्। उनकै भनाइमा लामा जन्मजातै राप्रपा हुन्।

परिवारमा उनका बुवाआमा मात्रै होइन हजुरबुवा देखि नै राप्रपामा आबद्ध हुन्। अघिल्लो पुस्ताले भने कुनै पद नलिइकन राप्रपाको असल कार्यकर्ता र मतदाताको रुपमा काम गरेको लामा बताउँछिन्। विनाका मावलपट्टिका हजुरबुवा भने प्रधानपञ्च थिए।

लामा २०७४ को निर्वाचनमा धादिङको रुबीभ्याली गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन्। संघीयतापछि पहिलोपटक भएको स्थानीय तहको निर्वाचनमा रुबीभ्यालीमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै राप्रपाले जितेको थियो। अध्यक्षमा राप्रपाका चेरुङ तामाङ विजयी भएका थिए।

पाँच वर्ष उपाध्यक्षको भूमिका निर्वाह गरेपछि लामा २०७९ मा संघीय सांसद भइन्। प्रतिनिधि सभामा राप्रपाबाट समानुपातिक सांसद लामा हाल सचेतकको भूमीमा छिन्। उनी संसदको पूर्वाधार विकास समिति सदस्य समेत हुन्।

उपमेयरमा पराजित जैसवाल 
राप्रपाबाट प्रतिनिधि सभा सदस्य पर्साकी वीना जैसवालले २०७४ सालबाट राजनीति सुरु गरेकी हुन्। उनी २०७४ को स्थानीय निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको उपमेयरको उम्मेदवार थिइन्। सो निर्वाचनमा जैसवाल ६ हजार मत प्राप्त गर्दै चौथो बनिन्। त्यतिबेला जित हात पार्न नसके पनि उनले २०७९ को निर्वाचनमा राप्रपाबाट मधेसी महिला क्लस्टरमा संघीय सांसद हुने अवसर प्राप्त गरिन्।

एमबीएसम्मको पढाइ पूरा गरेकी जैसवालले सांसद हुनुअघि पर्सामै एक वर्षजति क्याम्पस व्यवस्थापनको काम गरेकी थिइन् भने केही समय अध्यापन समेत गरिन्। वीरगञ्ज महानगर २४ की बासिन्दा जैसवाल हाल ३४ वर्षकी भइन्।

दुईपटक गाउँपालिका अध्यक्ष लडेकी अनिशा
२०७३ सालदेखि राप्रपामा आबद्ध भएर राजनीति सुरु गरेकी अनिशा नेपाली सल्यानबाट संघीय सांसद हुन्। उनी २०७९ को निर्वाचनमा समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्य भएकी हुन्। हाल उनी संसदको कृषि समितिमा सदस्य छिन्।

सामाजिक काममा सक्रिय अनिशा पेसाले नर्स हुन्। २०७१ सालमा नर्सिङको पढाइ पूरा गरेकी उनले सांसद हुनुअघि विभिन्न अस्पतालमा काम समेत गरेकी थिइन्।

सल्यानको दार्मा गाउँपालिकाकी अनिशाले २०७४ र २०७९ मा गरी दुईपटक गाउँपालिका अध्यक्षमा चुनाव लडेकी थिइन्। दार्मामा आफू नै राप्रपाको पहिलो सदस्य भएको नेपालीले बताइन्।

डाक्टर, इन्जिनियरदेखि वकिलसम्म 
राप्रपाले आवेदन मागेर छनौट गरेका केन्द्रीय सदस्यमा डाक्टर, इन्जिनियरदेखि वकिलसम्म छन्। सिन्धुपाल्चोककी लक्ष्मी (नानी) थापा अधिवक्ता हुन्। मनोविद् समेत रहेकी उनी अभिनयमा पनि सक्रिय छिन्।

सिन्धुपाल्चोककै गोपीकृष्ण चौँलागाईं पेसाले इन्जिनियर हुन्। इन्जिनियरिङमा भारतबाट एमटेक गरेका उनको परिवार पनि राप्रपाको राजनीतिमा छ। ललितपुरकी सजिना कार्की र काभ्रेकी दीपा श्रेष्ठ पनि इन्जिनियर हुन्। केन्द्रीय सदस्य छनौट भएका डा. डेभिड थापा अन्नपूर्ण न्युरो अस्पतालका डाक्टर हुन्। उनी हाल एमडी गर्न बेलायतमा छन्।

कैलाली १ नम्बर क्षेत्रमा राप्रपाबाट २०७९ को संघीय निर्वाचनमा चुनाव लडेका लोकेन्द्र कुँवर पनि केन्द्रीय सदस्यमा छनौट भएका छन्। युथ फोर्समा रहेका दार्चुलाका अशोक सिंह सम्राट पनि अहिले राप्रपाको केन्द्रीय सदस्य छनौट भए। राप्रपामै आबद्ध पोखराका अरुण गिरी र दाङका शिवकुमार चौधरी पनि खुल्ला प्रतिस्पर्धाबाट राप्रपाको केन्द्रीय सदस्य छनौट भएका छन्।

र, मिस नेपाल पनि 
मिस नेपाल २०२४ आश्मा कुमारी के.सी. पनि राप्रपाकोे केन्द्रीय सदस्य छनौट भएकी छन्। प्रमाणपत्र वितरण कार्यक्रममा भने उनी सहभागी भएकी थिइनन्। मिस नेपाल भएकै बेला राजनीतिक रुपमा आबद्ध हुँदा अप्ठ्यारो हुने भएकाले एक वर्षे अनुबन्ध सकिएपछि सक्रिय रुपमा काम गर्न सक्ने पार्टीले बताएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .