राष्ट्रिय सभाअन्तर्गत दुई समितिमा नयाँ सभापति चयन भएका छन्।
विधायन व्यवस्थापन समिति सभापतिमा तुलसा कुमारी दाहाल निर्वाचित भएकी छन्। यस समितिको सभापतिका लागि जयन्ती देवी राई र तुलसा कुमारी दाहालको उम्मेदवारी परेको थियो।
राई एकीकृत समाजवादी र दाहाल एमालेबाट राष्ट्रिय सभा सदस्य हुन्।
सभापतिका लागि दुईजनाको उमेद्वारी परेपछि निर्वाचनबाट सभापतिको टुंगो लगाइएको हो। आज भएको निर्वाचनमा दाहालले ८ मत प्राप्त गरिन् भने राईले ७ मत पाइन्।
यसअघि समिति सभापति रहेकी राई एक मत कम प्राप्त गर्दा पराजित भइन्।
विधायन व्यवस्थापन समितिमा रहेका १५ सांसदमध्ये माओवादीका ५, नेपाली कांग्रेसका ४, एमालेका ३, एकीकृत समाजवादीका २ र जसपा नेपालका १ छन् ।
यसैगरी राष्ट्रिय सभाकै सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएका छन्।
शर्मा निर्विरोध निर्वाचित भएका हुन् । उनी माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य हुन् ।
दुवै समितिका सभापतिहरूलाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आजै शपथ गराएका छन् ।
Shares
प्रतिक्रिया