प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग मिसन–२०८४ एकल बहुमत ल्याउने बलियो आधार रहेको दाबी गरेका छन्।
शनिबार एमालेले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग अहिले मिसन २०८४ मा एकल बहुमत ल्याउने आधार भएकाले त्यसलाई सफल पार्नका लागि सम्पूर्ण शक्ति परिचालन गर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए।
‘अहिले हाम्रो अगाडि मिसन–२०८४ लाई सफल पार्ने, मिसन २०८४ मा एकल बहुमत मज्जाले ल्याउन सक्ने आधारहरू छन्। बलिया आधारहरू छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यतिबेलै हामीले आफ्नो सारा सामर्थ्र्य लगाउनु पर्दछ। र, मिसन२०८४ लाई सफल पार्नुपर्छ। मिसन २०८४ सफल भएन भने पनि ५ वर्षमा अर्को आउँछ भन्दा ५ वर्ष भित्र के के हुन्छ? के परिवर्तन हुन्छ, को को कहाँ के हुन्छ, कसो हुन्छ?’
माओवादी केन्द्रको भने आगामी निर्वाचनमा ४÷५ लाख ल्याएर राष्ट्रिय पार्टीसम्ममा अडिएला कि भन्ने ओलीको जिकिर थियो।
‘मैले एउटा देखेको थिए–स्थापित एउटा पेपरमा हिजो मात्रै होला। माओवादीको १९ लाख भोट भोट कहाँ गयो भन्ने? गम्भिर प्रश्न, विश्लेषण थियो। एउटा चुनावमा ३१ लाख भोट आउँछ। अर्को चुनावमा पुग्दाखेरी १८ लाख जति आउँछ। अर्को चुनावमा पुग्दाखेरी १३ लाख आउँछ। अर्को चुनावमा पुग्दाखेरी ११ लाख आउँछ। अब अर्को चुनावमा पुग्दाखेरी ४÷५ लाख आउँला कि। राष्ट्रिय पार्टीसम्ममा अडिएला कि। अवस्था त्यो छ,’ ओलीले भने।
Shares
प्रतिक्रिया