ad ad

राजनीति


माओवादी र एकीकृत समाजवादीका सांसद भन्छन् : विपक्षीलाई हतोत्साही गर्न उपसभामुख हटाउन खोजियो

माओवादी र एकीकृत समाजवादीका सांसद भन्छन् : विपक्षीलाई हतोत्साही गर्न उपसभामुख हटाउन खोजियो

नेपालखबर
भदौ २५, २०८१ मंगलबार २०:२२, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले विपक्षी राजनीतिक दलहरूलाई हतोत्साही गर्नका लागि उपसभामुखलाई हटाउन लागेको बताएका छन्।

मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक चौधरीले यस्तो बताएका हुन्। उनले उपसभामुखलाई हटाउने कुरा निन्दनीय भएको बताए।

उनले भने,  ‘यि भन्दा ठूला ठूला अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको छवि बिगार्ने घटनाहरू घटेको छ। जुन घटनामा नेकपा एमालेका प्रमुख व्यक्ति र नेपाली कांग्रेसका मान्छेहरू पनि जोडिएका छन्। यो विषयमा ध्यान छैन। आज उपसभामुखलाई हटाउने कुरा निन्दनीय कुरा हो। आफुले गरेको अपराधलाई ढाकछोप गर्नका लागि यो प्रस्ताव अगाडी सारेको हो।’

उनले अन्तर्राष्ट्रियस्तरमा नेपालको छबि बिगार्ने व्यक्तिहरू कांग्रेस र एमालेभित्रै रहेका भन्दै उनीहरूलाई छानबिन गरी कारबाही गर्न माग गरे।

उनले सत्ता पक्षलाई सहयोग नगरेकै कारण उपसभामुखलाई हटाउन खोज्नु गलत भएको तर्क गरे।

सांसद चौधरीले उपसभामुखले गल्ती गरेको कुरा प्रमाणित नभएको पनि जिकिर गरे।

उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिगार्ने कार्य गरेका व्यक्तिहरूको बारेमा छानबिन गर्नुपर्छ। कारबाहीको दायरालाई अगाडि बढाउनुपर्छ। तर एउटा सामान्य केशलाई लिएर, अरु राजनीतिक दललाई हतोत्साहि गर्ने उद्देश्यले हामीलाई सहयोग गरेन भन्ने कारणले उपसभामुखलाई हटाउने कुरा गलत हो।’

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संवैधानिक परिषद्मा सत्ता पक्षको बहुमत पुर्‍याउनका लागि उपसभामुखलाई हटाउन खोजिएको बताए।

उनले सरकारको स्वेच्छाचारी कदमलाई संवैधानिक परिषद्ले स्वीकार्ने परिस्थिति बनाउनका लागि सत्तारुढ दल लागिपरेका बताए। उनले उपसभामुखको कदमको छानबिन गर्न सकिने धारणा राखे।

यस्तै, माओवादीका सांसद माधव सापकोटाले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाए कानूनी उपचार खोज्ने बताए। उनले महाअभियोग लगाए सत्तारुढ दलहरूले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिए।

उनले उपसभामुखमाथि लगाइएको आरोपको धरातल बलियो नभएको दाबी गरे।

उनले उपसभामुखलाई हटाएर अन्य संस्थाका प्रमुखहरूमा पनि आतंक सिर्जना गर्न खोजिएको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .