ad ad

राजनीति


एमाले र माओवादीसँग एकता नचाहने यस्तो बन्यो माधव नेपालको ‘कोर टिम’

एमालेप्रति नरम नेता हार्दा पदाधिकारीमा एकताविरोधीको वर्चस्व
एमाले र माओवादीसँग एकता नचाहने यस्तो बन्यो माधव नेपालको ‘कोर टिम’

सागर न्यौपाने
भदौ १६, २०८१ आइतबार २१:४, काठमाडौँ

नेकपा एमालेसँग विद्रोह गरेर पार्टी गठन भएको ठ्याक्कै तीन वर्ष पुगेकै दिन (भदौ ९–१०) नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको पूर्ण बैठक बस्यो।

पार्टी गठन भएपछिको पहिलो महाधिवेशन (असार १६–१९)ले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाललाई सर्वसम्मत चयन गर्‍यो। पदाधिकारी र पोलिटब्युरो भने चयन भएको थिएन।

त्यही भएर महाधिवेशन सकिएको दुई महिनापछि बसेको केन्द्रीय समिति बैठकको मुख्य एजेन्डा नै पदाधिकारी र पोलिटब्युरो चयन थियो। सुरुमा सर्वसम्मत छान्ने प्रयास पनि भयो। 

तर, १७ सदस्यीय पदाधिकारी र १ सय १ सदस्यीय पोलिटब्युरोमा सहमति जुटेन। पदाधिकारीमा आकांक्षी धेरै भएपछि मतदानको प्रक्रिया सुरु गरियो।

एकीकृत समाजवादी गठन गर्दा महत्त्वपूर्ण भूमिका खेलेका, चर्चित केही नेताले पदाधिकारीमा बढुवा हुनेगरी उम्मेदवारी मनोनयन गराए। भदौ ११ गते अबेर चुनाव भयो। 

३ सय ४४ जना केन्द्रीय सदस्यले मत दिने भएकाले चुनावी परिणामबारे अनुमान लगाउन कठिन नै थियो। 

सचिवबाट महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी रामकुमारी झाँक्री पराजित भइन्। उनलाई उपाध्यक्षमै दोहोरिएकी जयन्तीदेवी राईले फराकिलो मतन्तरले हराइन्। 

यस्तै, उपमहासचिवबाट उपाध्यक्षमा उम्मेदवारी दिएका डा. विजय पौडेल पनि हारे। खुल्ला उपाध्यक्ष जित्नेहरूमा डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला छन्।

यस्तै, मधेसी उपाध्यक्षमा धर्मनाथप्रसाद साह विजयी भए। उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, गरिमा शाह र राजेन्द्र राईले जित्दा सचिवमा गणेश विक, बलदेव चौधरी, श्रीनाथ बराल, सावित्रा भुसाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे र चन्द्रबहादुर शाही पदाधिकारी बन्न सफल भए।  

वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे सर्वसम्मत निर्वाचित भए। 

यो चुनावसँगै एमाले वा माओवादीसँग एकता गर्नुपर्ने आवाज एकीकृत समाजवादीमा कमजोर भएको छ। किनकि, एकताको विरोध गर्ने नेताहरू निर्वाचित भएका छन्।

पाण्डे, तुलाधर, खतिवडा र चौधरी एमालेप्रति निकै आक्रामक छन्। त्यही भएर उनीहरूले आरामदायी चुनाव जितेको नेताहरू बताउँछन्। 

एमाले र माओवादी दुईवटै पार्टीसँग एकता गर्नुपर्छ भन्ने मत पदाधिकारी चुनावले खण्डित भएको उपाध्यक्ष जगन्नाथ खतिवडा बताउँछन्।

‘एमालेसँग मिल्छु भन्ने र माओवादीसँग मिल्छु भन्ने दुवै धार अब पार्टीमा बाँकी रहेन,’ खतिवडाले भने, ‘पदाधिकारीहरूको अनुहार हेर्दा अब हाम्रो पार्टी बलियो भएर हिँड्छ भन्ने देखिन्छ।’

चुनावमा जितहार स्वाभाविक भएको उनले प्रतिक्रिया दिए।

‘चुनावको नियम र पार्टीको नियम फरकफरक हुन्छ। चुनावमा नयाँ पुस्ताले उछिट्याउँछ, पुरानो पुस्तालाई गाह्रो पारिहाल्छ,’ उनले थपे। 

चुनावमा चिट वितरण गरेर छानी–छानी हराइएको आरोप पनि लागेको छ। जसकारण एकीकृत समाजवादीका केही नेता असन्तुष्ट छन्। रुष्ट केही नेताहरूले पार्टी छोड्ने धम्की दिइरहेका छन्। 

अध्यक्ष नेपाल र महासचिव भूसालले सहयोग नगरेकैले हार्न पुगेको केही नेताले टिप्पणी गरेका छन्। 

योजनाबद्ध हराएको आरोप
एकीकृत समाजवादीमै रहेर एमालेसँग एकता गर्नुपर्ने धारणा राख्ने नेतालाई योजनाबद्ध तरिकाले हराएको एक केन्द्रीय सदस्यले बताए।

‘प्रक्रियामा लैजानुको मुख्य कारण नै हराउनको लागि हो,’ ती केन्द्रीय सदस्यले दाबी गरे, ‘एमालेसँग मिल्नुपर्छ भन्नेहरू बढी निसानामा परे। तर, त्यही आरोप लाग्ला भनेर बीचमा रहेका पनि केहीलाई योजनामै हराइएको छ। माओवादी वा एमाले कुनैसँग पनि नमिली छुट्टै बलियो पार्टी बनाउनुपर्छ भनेर आवाज उठाउने केही केन्द्रीय सदस्यमै परेनन्।’

उपाध्यक्षमा झाँक्री र केशवलाल श्रेष्ठ, उपमहासचिवमा विरोध खतिवडालगायत पराजित केही नेताले एमालेप्रति नरम धारणा राख्न थालेका थिए। पार्टी संगठन बलियो र प्रभावकारी बनाउन नसकेको भन्दै एमालेसँग एकताको वकालत गर्ने नेताहरू एकीकृत समाजवादीमा बढ्न थालेका छन्। 

यसअघि मुकुन्द न्यौपाने, चुडामणि जंगलीलगायत सय बढी नेता एमाले फर्किसकेका छन्। एमालेमै फर्कन खोजेको हुनाले उनीहरू निसानामा परेको नेताहरूको आरोप छ।

तर, उपाध्यक्ष डा गंगालाल तुलाधरले त्यसलाई अस्वीकार गरे।

‘एमालेसँग एकताको वकालत या माओवादीसँग एकताको वकालत गर्ने नेताहरूले पदाधिकारी चुनाव हार्नु भनेको संयोग मात्र परेको हो,’ उपाध्यक्ष तुलाधरले नेपालखबरसँग भने, ‘अहिले पार्टी एकतालाई प्राथमिकता दिनुभन्दा पनि हामीले पार्टी र मोर्चालाई अगाडि बढाउने हो।’

उपाध्यक्ष तुलाधरले एमालेभन्दा ठूलो पार्टी बनाउन सबै प्रयास गरिने ठोकुवा गरे। 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटकपटक गरेको हेपाइले नराम्रो लागेको उनले बताए।  

‘हामीलाई खिसिट्युरी गर्ने पार्टीभन्दा कुनैकुनै अवस्थामा हामी ठूलो पार्टी बन्न सक्छौँ भन्ने हाम्रो आत्मविश्वास छ र त्यही आत्मविश्वासका साथ हामी काम गरिरहेका छौँ,’ तुलाधरले थपे, ‘एकीकृत समाजवादीको नामै लिन नचाहने एमालेका केही नेतृत्वमा रहेका साथीहरू छन्, उनीहरू एकीकृत समाजवादीलाई शक्तिको रूपमा होइन, समाप्त भएको देख्न चाहन्छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .