ad ad

राजनीति


राजदूत सिफारिस समावेशी नभएको भन्दै तीनवटा उजुरी, मंगलबार समितिमा खोलिने

राजदूत सिफारिस समावेशी नभएको भन्दै तीनवटा उजुरी, मंगलबार समितिमा खोलिने

नेपालखबर
भदौ १०, २०८१ सोमबार १८:३९, काठमाडौँ

प्रस्तावित राजदूतहरूको सुनुवाइ भोलि (मंगलबार) बाट सुरु हुने भएको छ। मंगलबार बिहान ११ बजेका लागि संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ।

बैठकको कार्यसूची अनुसार, भोलिको बैठकमा विभिन्न देशका लागि नेपाली राजदूत पदमा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली समितिका सदस्यहरू वितरण गरिनेछ।

संसदीय सुनुवाइ समितिको साउन २९ गते बसेको बैठकले प्रस्तावित राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेको थियो। समितिले १० दिनको समय दिएर प्रस्तावित राजदूतहरू विरुद्ध उजुरी आह्वान गरेकोमा ९ वटा उजुरी परेको छ।

समितिका अनुसार प्राप्त भएका ९ उजुरीमध्ये तीनवटा उजुरी राजदूत सिफारिस समावेशी नभएको भन्ने विषयमा परेको छ।

बाँकी ६ उजुरीमध्ये ३ वटा उजुरी मलेसियामा राजदूत सिफारिस भएका डाक्टर नेत्र प्रसाद तिम्सीनाका बारेमा परेको छ भने भारतका लागि राजदूत सिफारिस डा.शंकर शर्मा, दक्षिण अफ्रिकाका लागि सिफारिस भएका प्राध्यापक कपिलमान श्रेष्ठ र इजरायलका लागि राजदूत सिफारिस धनप्रसाद पण्डितका बारेमा उजुरी रहेको समिति स्रोतले जनाएको छ।

भारतमा राजदूतका लागि निरन्तरता पाएका डाक्टर शर्माको सिफारिस राजदूत नियुक्ति सम्बन्धी निर्देशिका विपरित र श्रेष्ठको सिफारिस संविधानकै विपरित भएको भन्दै आलोचना भइरहेको छ। 

समितिमा डाक्टर शर्मा र श्रेष्ठका बारेमा यही विषय उठाएर उजुरी परेको जनाइएको छ। डाक्टर तिम्सीना र पण्डितमाथी परेको उजुरीको विषय भने खुलेको छैन।

कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा बस्ने संघीय संसद, संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गरिनेछ।

यस्तै, प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गर्ने मंगलबारको कार्यसूची छ। 

साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले १८ देशका लागि राजदूत सिफारिस गरेको थियो। 

सरकारले राजदूत नियुक्तिका लागि गरेको सिफारिसमा अस्ट्रेलियाको राजदूतमा सिफारिस कान्ता रिजालको नाम काटेर १७ जनाको नाम मात्रै संसदीय सुनुवाइ समितिमा पुगेको छ। 

भारतका लागि शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गर्दै चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, बेलायतका लागि पूर्वसचिव चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेको नाम  सिफारिस गरेको छ।

यसैगरी, मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिना, साउदी अरबमा नरेशविक्रम ढकाल, इजरायलमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिकामा कपिल श्रेष्ठ, जर्मनीमा डा. शैल रूपाखेती, स्पेनमा सनिल नेपाल, श्रीलंकामा रामकृष्ण भट्टराई, पोर्चुगलमा परराष्ट्र सहसचिव प्रकाशमणि पौडेल र पाकिस्तानमा सहसचिव रिता धिताल, डेनमार्कमा सुम्निमा तुलाधर र रुसमा जंगब चौहान राजदूत सिफारिस भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .