ad ad

राजनीति


जनार्दनको प्रस्तावमाथि प्रदेश बैठकमा पनि छलफल हुने, आलोचनात्मक मत कमजोर पार्ने प्रचण्डको प्रयास

जनार्दनको प्रस्तावमाथि प्रदेश बैठकमा पनि छलफल हुने, आलोचनात्मक मत कमजोर पार्ने प्रचण्डको प्रयास

सागर न्यौपाने
भदौ ४, २०८१ मंगलबार २३:४८, काठमाडौँ

नेकपा माओवादी केन्द्रको प्रदेश परामर्श समितिको बैठकमा पनि उपमहासचिव जनार्दन शर्माले स्थायी समितिमा पेस गरेको प्रस्तावमा छलफल हुने भएको छ।

शर्माको प्रस्ताव छलफलका लागि पेस हुने भएपछि उनी पक्षधर प्रदेश कमिटी र केन्द्रीय कमिटीका सदस्यहरुले बैठकमा उक्त दस्तावेजको पक्षमा लिखित र मौखिक धारणा राख्ने एक नेताले जानकारी दिए।

‘उहाँहरुले जनार्दन सरकै लाइन अनुसार कुरा उठाउनुहुन्छ,’ शर्मानिकट ती नेताले नेपालखबरसँग भने।

शर्माको प्रस्तावकै कारण माओवादीले प्रदेश प्रदेशमा नेताको मुड बुझ्न खोजेको छ।

बुधबारदेखि बागमती प्रदेश परामर्श समितिको बैठक हुँदै छ। 

साउन २६ गते शर्माले १२ पृष्ठको पार्टी निर्माणबारे प्रस्ताव स्थायी समितिमा पेस गरेका थिए । 

उनको प्रस्तावलाई केन्द्रीय समिति बैठकमा पेस गर्ने साउन ३१ मा सकिएको स्थायी समितिले निर्णय गरेको थियो ।

तर, शर्मानिकट केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी प्रदेश परामर्श बैठकमै छलफल गर्न तयार भएका छन्।

‘केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने भनिए पनि प्रदेश बैठकमै जनार्दन सरले उठाउनुभएको विषय उठ्छ,’ उनीनिकट एक नेताले भने,‘नेताहरूले जवाफ दिनुपर्ने भएपछि व्यापक रुपले छलफल हुन्छ।’

शर्माको प्रस्तावले माओवादीभित्र खैलाबैला मच्चिएको बेला प्रदेशमा समेत त्यसका विषय उठ्ने भएपछि परामर्श समिति बैठकअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यालय (पदाधिकारी) बैठक बोलाएका छन्।

परामर्श बैठकमा फरक धारणा प्रस्तुत नहोस् भनेर कार्यालयले एउटा विधि बनाउन खोजेको एक पदाधिकारीको भनाइ छ। 

केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी परामर्श बैठकमा सहभागी हुन पाउनेछन्। 

माओवादी केन्द्र बागमती प्रदेश समिति अध्यक्ष सरल सहयात्रीका अनुसार शीर्ष तहसहितका नेताले पहिला छलफल गरेपछि मात्र कुन विषय उठाउन दिने निर्णय हुनेछ।
‘बुधबार बिहान ८ बजे केन्द्रीय कार्यालयको बैठक बस्ने भन्नेछ,’  सरलले नेपालखबरसँग भने, ‘त्यसपछि कस्तो मोडालिटीमा जाने तय गर्ने होला।’

२ दिनसम्म चल्ने बैठक भए पनि सबैलाई बोल्न दिने सम्भावना न्यून छ। अहिलेसम्म एकजना केन्द्रीय सदस्यले ५ मिनेट बोल्न पाउने गरी छलफल भइरहेको छ। बैठकमा प्रदेश कमिटी, केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसमेत १२५ भन्दा बढी हुन्छन्। 

‘पहिलो बैठक भएकोले कसरी प्रस्तुत हुने भन्ने पनि छ, सायद अध्यक्ष प्रचण्डले पहिला विषय राखेर अनि प्रदेशका केन्द्रीय सदस्य र पदाधिकारीलाई बोल्न दिने पनि हुन सक्छ।’

सबैलाई बोल्न दिँदा उपमहासचिव शर्माकै पक्षमा माहोल बढ्न सक्ने आकलन गरेर पहिला कार्यालय (पदाधिकारी) बैठक राखिएको स्रोतले जनाएको छ। 

केन्द्रको आयोजना भएकोले केन्द्रले नै एउटा मोडल बनाउन लागेको बताइएको छ।

‘जनार्दन कमरेडले उठाएको विषय भए पनि त्यो पार्टीमा उठिराखेको विषय हो, बागमती अध्यक्ष सरलले थपे, ‘उहाँ (जनार्दन) ले उठाएको विषय प्रदेशका पदाधिकारी र केन्द्रीय सदस्यले पनि उठाउँछन्। तर, त्यो विषयप्रति कुनै नकारात्मक धारणा छैन।’

शर्माले पार्टीका सबै संगठनमा निर्वाचनको माध्यमबाट नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव राखेका छन् । 

उनले अध्यक्ष प्रचण्डलाई तेस्रो तहलाई दिन सुझाव दिएका छन्। प्रचण्डलाई सत्ताको नेतृत्व गर्न उनले सुझाएका छन्।

यसले माओवादीभित्र ठूलो तरंग उत्पन्न गरेको छ। 

स्थायी समिति बैठक सकिएको एक हप्तापछि बस्न लागेको परामर्श बैठकमा माओवादीको आगामी कार्यक्रम र कार्यदिशालाई प्रस्ट पार्न नेताहरूले दबाब दिने तयारी गरेका छन्।

त्यस्तै पार्टी निर्माण र सांगठनिक संरचनाको कुरा उठाउन चाहेका छन्।

पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष प्रचण्डसँगै उपमहासचिव शर्मा सहभागी हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .