ad ad

राजनीति


माओवादीभित्रको विवादको असर : धकेलियो ४ पार्टीको एकता

माओवादीभित्रको विवादको असर : धकेलियो ४ पार्टीको एकता

सागर न्यौपाने
भदौ २, २०८१ आइतबार २१:३१, काठमाडौँ

नेकपा माओवादी केन्द्रभित्रको विवाद चार कम्युनिस्ट घटकबीचको एकता पछाडि धकेलिएको वार्तामा रहेका नेताहरूले बताएका छन्। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टीबीच दसैँअगाडि नै एकता गर्नेगरी छलफल चलेको थियो।

त्यसका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेसपाका अध्यक्ष महिन्द्र राय यादवबीच तीनचार चरणमा छलफल भइसकेको थियो।

यी चारवटै दल समाजवादी मोर्चामा छन्। मोर्चामा रहेको मध्ये महिन्द्र राय यादवको दल माओवादी केन्द्रसँग एकताको अन्तिम प्रयासमा छ। 

चारैजना शीर्ष नेताहरू एकता गर्न तयार भए पनि सैद्धान्तिक र वैचारिक विषय टुंगो लगाउन दोस्रो र तेस्रो तहका नेतालाई खटाइएको छ। 

तर, साउन २६ गते माओवादी केन्द्रको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डसँग गम्भीर असहमति जनाउँदै १२ पृष्ठको प्रस्ताव पेस गरेपछि आन्तरिक विवाद छताछुल्ल हुन पुग्यो।

सोही कारण एकता तत्कालका लागि रोकिएको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशील सीले बताए।

‘माओवादी केन्द्रभित्रको अन्तर्विरोधका कारण टुंगो लाग्न सकेको छैन,’ सुशीलले नेपालखबरसँग भने, ‘हाम्रो समस्या होइन, उहाँहरूकै (माओवादीभित्रको विवाद) कारण रोकिएको छ। माओवादीभित्रको अन्तरविरोध नभएको भए एकता टुंगो लगाउनेगरी छलफल अगाडि बढ्थ्यो।’ 

शीर्ष नेताहरूबीच तीनचार चरण छलफल भए पनि निर्णयको चरणमा नपुगेको उनको भनाइ छ।

तर, माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीच समझदारी बनिसकेको छ। प्रचण्ड र शर्माले शनिबार (भदौ १) मा एउटै मञ्चबाट विवाद साम्य भएको सन्देश दिने कोसिस गरेका थिए।

‘तर, अब एकताको कोर्स पछि धकेलियो, दसैँतिहार अगाडि हुँदैन,’ सुशील सीले भने, ‘उहाँहरूभित्रको अन्तर्विरोध हल हुन समय लाग्नसक्छ। टुंगो नलाग्न पनि सक्छ।’ 

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र विप्लवबीच भदौ १ गते एकीकृत समाजवादीको कार्यालयमा केही घण्टा छलफल भएको छ। विप्लवदेखि सीपी मैनाली लगायतका नेताहरूसँग माधव नेपालले एकताकै विषयमा छलफल चलाइराखेको सुशील सीले जानकारी दिए।

‘प्रचण्डजीले नयाँ ढंगले जाऊँ, पार्टी एकता गरौँ, हामी मोर्चामा पनि छौँ भनेर भन्नुभएको छ, उहाँहरूले कुरा उठाइसकेपछि हामीले छलफल गर्‍यौँ। छलफलको विषय एकतामै केन्द्रित भएको साँचो हो तर कुनै प्रक्रिया अघि बढेको छैन,’ उनले भने।

माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच कम्तीमा दुईतीनपटक छलफल भइसकेको छ। भेटमा दुवै नेताले पार्टी एकता गरेर मोर्चालाई दह्रो बनाउनुपर्ने निष्कर्ष निकालेका छन्। 

‘प्रचण्ड कमरेडसँग केही चरण कुरा भयो। मोर्चाको सँगैसँगै पार्टी एकताको प्रसङ्ग पनि उठ्यो,’ नेपालनिकट एक नेताले नेपालखबरसँग भने, ‘पार्टी एकता गर्दा कसरी जाने भनेर सम्भावना केलाउने काम भएको हो।’

तर, एकीकृत समाजवादीलाई पनि एकतामा ल्याउन समय लाग्ने नेताहरू बताउँछन्।

‘विप्लवजी, हामी र माओवादीबीचको एकता तत्काल हुनसक्छ तर, माधवजी लगायत दल पनि समेट्न केही समय लागेको हो,’ नेसपाका केन्द्रीय सहअध्यक्ष गंगानारायण श्रेष्ठले भने।

विवाद मिलिसक्यो, दोस्रो चरणमा प्रवेश गरिसक्यौंँ : माओवादी 
माओवादीभित्रको देखा परेको विवाद साम्य भएकोले अब नयाँ ढंगबाट अघि बढ्ने नेताहरू बताउँछन्।

‘पार्टीभित्रको विवाद करिबकरिब म्यानेज भयो भन्ने पनि हो,’ माओवादीका एक पदाधिकारीले भने, ‘छलफल राम्रै भयो। पदाधिकारी र स्थायी समिति बैठकको अन्तिम अन्तिममा आउँदा प्रभाकरजीले नै मैले यो पार्टी बलियो होस् भनेर गरेको हो। मेरो उद्देश्य अध्यक्ष नै बलियो बनाउने हो भनिसकेपछि अब हामीले त्यसलाई अरु ढंगले बुझ्नु हुँदैन।’

माओवादीले भदौको २ गतेदेखि प्रदेश स्तरको परामर्श बैठक राखेको छ। जहाँ उपमहासचिवको प्रस्तावमाथि पनि छलफल हुनेछ। पार्टीभित्र देखा परेको समस्या हलहुनेतिर जाने ती नेताले दाबी गरे। 

अबको ध्यान विभिन्न घटक मिलाएर सदन र सडकको उपस्थिति बलियो बनाउन हुने उनले बताए।

‘चारै दलका नेताहरू एकता आवश्यक हो र जरुरी छ भन्नेमा भन्नेमा पुग्नुभएको छ,’ उनले भने, ‘एकताको लागि मानसिक रूपमा तयार हुनु पहिलो कदम हो। एकताको लागि आफ्नोआफ्नो पार्टीबाट निर्णय गराउने चरणमा पुगेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .