ad ad

राजनीति


मधेसका मुख्यमन्त्रीको कदम पार्टी नीतिविपरीत, कांग्रेस–एमालेले अहंकार देखाए : सीके राउत (अन्तर्वार्ता)

मधेसका मुख्यमन्त्रीको कदम पार्टी नीतिविपरीत, कांग्रेस–एमालेले अहंकार देखाए : सीके राउत (अन्तर्वार्ता)

सागर न्यौपाने
साउन २५, २०८१ शुक्रबार २०:३३, काठमाडौँ

सत्तारुढ दल जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले वर्तमान गठबन्धनका प्रमुख दुई दलमा संख्याको अहंकार बढ्दै गएको टिप्पणी गरेका छन्। शुक्रबार अपरान्ह नेपालखबरसँग कुराकानी गर्दै अध्यक्ष राउतले दुई ठूला दललाई सच्चिएर अघि बढ्न समेत सुझाव दिए। 

मधेस प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकार बने पनि त्यहाँ ठूला दलकै कारणले काम गर्न असहज बन्दै गएको उनले खुलाए। ‘उहाँहरू (कांग्रेस–एमाले) ले दबाब दिने, नेगोसियट गर्ने, आफूले रोजेकै मन्त्रालय लिने, थप्न लगाउने खालको दबाबपूर्ण अवस्था मधेसमा छ,’ कुराकानीका क्रममा राउतले भने। 

मधेस २० सदस्यीय मन्त्रिमण्डल बनाएको भन्दै तीब्र आलोचना भइरहेका बेला राउत भने कांग्रेस–एमाले जस्ता ठूला दलकै कारण मन्त्रिमण्डलको आकार बढेको बताउँछन्।

पार्टी नेतृत्वलाई नै थाहा नदिई निर्देशनविपरीत क्रियाकलाप गरेको भन्दै शुक्रबार उनले आफ्नै दलबाट मुख्यमन्त्री बनेका सतीशकुमार सिंहलाई स्पष्टीकरण सोधेको पनि बताए। 

आफूहरू ‘नौलो गणतन्त्र’को अभियानमा लागेको उल्लेख गर्दै राउतले यसरी जम्बो मन्त्रिमण्डल बनाउनु पार्टीकै नीतिविपरीत भएको बताए। राउतसँग गरिएको कुराकानीः

तपाईंहरू कांग्रेस–एमालेकै गठबन्धनमा हुनुहुन्छ। मधेसमा क्याबिनेट ठूलो बनाएको भनेर आफ्नै मुख्यमन्त्रीलाई स्पष्टीकरण पनि सोध्नुभएछ। खास के समस्या भएको हो?
सुरुदेखि नै ठूला पार्टीहरूले सरकार चलाउन गाह्रो पारेको अवस्था छ। हाम्रो सिट संख्या थोरै भएको कारणले पनि समस्या भएको छ। उहाँहरूले दबाब दिने, नेगोसियट गर्ने, आफूले रोजकै मन्त्रालय लिने, थप्न लगाउने खालको दबाबपूर्ण अवस्था मधेसमा छ। त्यसलाई चलाउन अलिकति हामीलाई गाह्रै भएको हो। 

अर्को समस्या सचिव पनि संघीयताको विषयलाई लिएर फेर्न सकिएको छैन। त्यसकारण त्यहाँ काम गर्न सहज भएको छैन।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरी संसदमा साना दलको उपस्थिति रोक्ने प्रयास भइरहेको देखिन्छ। यसमा के छ तपाईंको धारणा?
हामी यसलाई मान्दैनौँ। सुरुदेखि नै भनेको हो, यो विविधतायुक्त देश हो। यसमा कसैलाई प्रतिबन्ध लाग्नुहुँदैन। सबै आफ्नो प्रतिनिधि सभामा गएर आवाज राख्न सक्ने वातावरण हुनुपर्छ। स्थिरताका नाममा शाही प्रवृत्ति दोहोर्‍याउने मनोदशा देखिएको छ। हामी यसको प्रतिकार गर्छौँ।

अनि मधेसका मुख्यमन्त्रीलाई स्पष्टीकरण किन सोध्नुभएको हो? 
पार्टीसँग पनि अलिक समन्वयको अभाव देखियो। मन्त्रालय बाँडफाँट गर्दा पनि हामीलाई जानकारी थिए। अहिले राज्यमन्त्री थप्दा पनि जानकारी भएन। जुन विषयमा चरम असन्तुष्टि छ। हामी नौलो गणतन्त्रको आन्दोलनमा भाग लिएर मन्त्री नै नहुने र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्थाका लागि लड्दै छौँ। त्यो अवस्थामा यति ठूलो मन्त्रिमण्डल आवश्यक होइन भनेका हौँ।

कांग्रेस–एमालेले दबाब जारी राखिरहे विद्रोह (विथ ड्र) हुनसक्छ भन्न खोज्नुभएको हो?
आउँछ आउँछ, त्यो अवस्था आउन सक्छ। त्यसमा हामी डराउँदैनौँ। दबाब दिएर हामीमार्फत नराम्रो काम गरेको खण्डमा हामी सरकारबाट बाहिरिन्छौँ। 

तयार अवस्थामा हुनुहुन्छ?
दबाब आए सरकार छाड्न तयार अवस्थामा छौँ। 

तत्काल केही बैठक बस्ने कुरा छ? 
तत्काल केही छैन। तर, आगामी दिनमा काम गर्न रोक्ने, दबाब दिने लगायतका क्रियाकलाप भयो भने बाहिर निस्कन्छौँ।

यस्तो विषयमा प्रधानमन्त्री वा कांग्रेस सभापतिसँग केही कुरा गर्नुभएको छ?
यहाँ कस्तो छ भने गठबन्धनको बैठक कहिल्यै पनि हुँदैन। एकाकी ढंगबाट सरकार चलिरहेको छ। छलफल नै भएको छैन।

अलिक उकुसमुकुसको अवस्था बन्दै गएको हो?
संख्याको अहंकार नै देखिएको अवस्था छ। यसको गतिविधि, संशोधनको एजेन्डा, प्रस्ताव सबै त्यस्तै प्रकारको देखिएको छ। यो सकेसम्म सच्चिएको राम्रो हुन्छ जस्तो लाग्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .