ad ad

राजनीति


ओलीको थाइल्यान्ड भ्रमण द्विपक्षीय हुने, एजेन्डामा गृहकार्य तीव्र

१८ वर्षअघि गिरिजाप्रसाद कोइराला गएका थिए भ्रमणमा
ओलीको थाइल्यान्ड भ्रमण द्विपक्षीय हुने, एजेन्डामा गृहकार्य तीव्र

रामकुमार डिसी
साउन २२, २०८१ मंगलबार १९:५२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्डमा हुने भ्रमण द्विपक्षीय हुने भएको छ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन सहभागिता जनाउन ओली बैंकक जाँदै छन्। 

प्रधानमन्त्री ओलीको भ्रमणलाई औपचारिक बनाउन दुवै पक्ष (नेपाल र थाइल्यान्ड) सहमत भएका हुन्। आगामी सेप्टेम्बर ४ मा बिमस्टेक शिखर सम्मेलन हुँदै छ। बिमस्टेकको सदस्य राष्ट्रका रूपमा नेपालले शिखर सम्मेलनमा सहभागिता जनाउँदै आएको छ। 

प्रधानमन्त्री ओलीको भ्रमणलाई द्वीपक्षीय बनाउन नेपालले पहल थालेको थियो। नेपालको पहलमा थाइल्यान्ड सकारात्मक भएपछि दुवै देशले एकैपटक भ्रमणको घोषणा गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले नेपालखबरलाई जानकारी दियो।

‘भ्रमण द्विपक्षीय हुने पक्कापक्का भएको छ,’ स्रोतले भन्यो, ‘दुवै पक्ष (नेपाल र थाइल्यान्ड) मिलेर घोषणा गर्ने तयारी हुँदै छ।’

प्रधानमन्त्री ओलीको भ्रमण शिखर सम्मैलनकै दौरान हुने भए पनि त्यो सम्मेलनअघि वा पछि भन्नेचाहिँ मन्त्रालय स्रोतले खुलाउन चाहेन।

त्यस्तै भ्रमणलाई 'औपचारिक' बनाउने वा 'राजकीय' भन्ने विषय पनि अझै टुंगो लागिसकेको छैन। उच्चस्तरीय भ्रमण औपचारिक वा राजकीय हुने गर्दछन्।

दुवै देशले भ्रमणको एजेन्डाबारे पनि गृहकार्य तीव्र पारेका छन्। ‘एजेन्डा डेभलप हुँदै छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘कुन–कुन विषयमा छलफल गर्ने, एजेन्डा के राख्ने भन्ने विषयमा चाहिँ छलफल हुँदै छ।’

परराष्ट्र मन्त्री आरजु राणा देउवाले भ्रमणका एजेन्डा टुंगो लगाउन सोमबार थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नलाई मन्त्रालयमा बोलाएर छलफल गरेकी थिइन्। योसँगै ओलीको यस कार्यकालको पहिलो विदेश भ्रमण थाइल्यान्डबाट हुने निश्चित भएको छ।

नेपालबाट थाइल्यान्डमा १८ वर्षपछि सरकार प्रमुखको तहबाट द्विपक्षीय भ्रमण हुन लागेको हो। सन् २००६ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भ्रमण भएको थियो।

नेपालमा राजतन्त्र हुँदा भने थाइल्यान्डमा बाक्लो गरी भ्रमण हुने गरेका थिए। तर, सन् २००६ को दोस्रो जनआन्दोलनपछि नेपालबाट राजतन्त्र विस्थापित भएपछि दुई देशबीच हुने उच्चस्तरका भ्रमण पातलिँदै गएका थिए। थाइल्यान्डमा भने अहिले पनि राजतन्त्र कायम छ।

गणतन्त्र स्थापनायता थाइल्यान्डबाट दुईवटा मात्रै उच्च स्तरीय भ्रमण भएका छन्। सन् २०१७ मा थाइल्यान्डकी राजकुमारी महाचक्री सिरिन्धोर्न र सन् २०१८ मा अर्की राजकुमारी चुलभोर्न नेपाल भ्रमणमा आएकी थिइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .